आज गुरु पुर्णिमाः गुरुप्रति श्रद्धाभाव प्रकट गरि मनाइँदै

दियो पोस्ट  

काठमाडौँ, असार ३१ । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै आज गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृतमा भनिएको छः

“गुरु व्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर ।
गुरु साक्षत् परम् व्रह्मा तस्मै श्री गुरुवे नमः।।”
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।

प्रस्तुत श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै गुरु भनेको व्रह्मा, विष्णुका साथै परम् व्रह्मा पनि हो भन्ने कुरालाई स्पष्ट गरेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।

यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको उनले जानकारी गराए ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

यसबाट पनि अन्धकाररूपी अज्ञानताबाट प्रकाशरूपी उज्यालोका लागि मार्ग निर्देश गर्ने व्यक्ति नै गुरु भन्ने बुझाउँछ ।

वर्तमानमा विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्थामा अध्यापनरत शिक्षकलाई गुरु पूर्णिमाको दिन उक्त शैक्षिक संस्थाका विद्यार्थीहरूले भव्य कार्यक्रम आयोजना गरी गुरुका रूपमा सम्मान गर्ने प्रचलन रहिआएको छ ।