
काठमाडौँ, ४ साउन । निजी विद्यालयहरुमा अनौठो लुटधन्दा छ । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा भन्दापनि भौतिक संरचनामा तडकभडक गर्ने र रवाफकै भरमा चर्को शुल्क अशुली गर्ने अनौठो धन्दाले निजी विद्यालयलाई गाँजेको छ ।
देशको राजधानी काठमाडौंमा शिक्षा एउटा ठूलो व्यापार जस्तै भएको छ । सरकारी विद्यालयहरु कमजोर भइदिँदा निजि विद्यालयले फाइदा लुटिरहेका छन् । तर नीजि विद्यालयको तुलनामा केही सामुदायिक विद्यालय पनि अब्बल छन् ।
पछिल्लो समय नीजि बिद्यालयको तुलनामा राजधानीका केही सामुदायिक बिद्यालयहरु उत्कृष्ठ बिद्यालयको रुपमा गनिन थालेका छन् । त्यसमध्ये बिद्यार्थीको पहिलो आकर्षण र रोजाइको बिद्यालय बन्न पुगेको छ काठमाडौँ महाराजगंजस्थित शिवपुरी माध्यमिक बिद्यालय ।
२००५ सालमा स्थापित यस बिद्यालयले भर्खरै मात्र आफ्नो ७० औँ वार्षिक उत्सव मनाएको छ । स्थापनाको सुरुवातकालदेखि नै यस बिद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउँछन् बिद्यालयका बर्तमान प्रधानध्यापक दिवाकर दुरदर्शी । यद्यपी, सुरुवातकालदेखि अहिलेसम्म यस बिद्यालयमा करिव १० जना प्रध्यानाध्यापकले आफ्नो कार्यकाल सम्हालिसकेका छन् ।

३८ जना शिक्षकहरु कार्यरत रहेको यस बिद्यालयमा भौतिक पूर्वाधार र प्रभावकारी शैक्षिक गुणस्तर रहेकाले बिद्यार्थीको पहिलो रोजाईमा पर्न सफल भएकोे प्रधानध्यापक दुरदर्शीको भनाई छ । उनकै कार्यकालमा बिद्यालयमा साइन्स ल्याव तथा कम्पूटर ल्यावको समेत स्तरोन्नती र बिस्तार गरिएको थियो । गत वर्ष मात्रै यस बिद्यालयमा ४ लाख बराबरको बिज्ञानका उपकरणहरु खरिद गरिएको छ । यसले बिद्यालयको भौतिक संरचनामा मात्र सुधार नभएर बिद्यार्थीको सिकाई प्रकृयामा समेत निकै फाईदा पुगेका प्रधानध्यापक दुरदर्शी बताउँछन् ।

‘नीजि बिद्यालयको तुलनामा सामुदायिक बिद्यालयहरुको पढाई खस्कदोँ छ’ भनेर बेला बेलामा गुनासा पनि सुनिने गर्छन् । तर यस बिद्यालयले भने नीजि बिद्यालय सरहको नतिजा दिन सफल भएको छ । २०७५/७६ को एस.इ.ई. परिक्षामा संलग्न एक सय ११ जना बिद्यार्थी मध्ये १२ जना बिद्यार्थीले ३.६ भन्दा माथिको जि.पि.ए. ल्याउन सफल भएका छन् । २५ जना बिद्यार्थीले ३.४ भन्दा माथि र बाँकीले २.४ भन्दा माथिको जि.पि.ए. ल्याएर उतिर्ण गरेका छन् । यसरी हेर्ने हो भने, यस बिद्यालयको नतिजा अन्य बिद्यालयको भन्दा उत्कृष्ट नतिजा मान्न सकिन्छ ।
अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने भएकाले पनि अंग्रेजी मोहका कारण नीजि बिद्यालय जाने बिद्यार्थीको पहिलो रोजाई नै शिवपुरी बिद्यालय बन्न पुगेको छ । शिवपुरी बिद्यालयको आफ्नै बिषेशता रहेको र नीजि स्कुलसंगको प्रतिस्पर्धा संगै आफैसंग प्रतिस्पर्धा गर्नु आफैमा चुनौतिपूर्ण कार्य भएको बताउँछन् प्रध्यानाध्यापक दुरदर्शी । बिगतमा भएका कमि कमजोरीलाई सुधार गरि सफल र उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गर्नका लागि आफुहरु प्रयासरत रहेको उनको भनाई छ ।

त्यसो त, शिवपुरी बिद्यालयबाट उत्तिर्ण भएका कैयौँ बिद्यार्थीहरु डाक्टर, इन्जिनियर तथा उच्च प्रशासनिक तहमा पुगेका छन् । यस बिद्यालयको शैक्षिक गुणस्तर नीजि बिद्यालयको तुलनामा कम नभएका कारण पनि अभिभावकहरु आफ्ना बच्चाहरुलाई शिवपुरी बिद्यालयमै पढाउन चाहान्छन् । यद्यपी, नीजि बिद्यालयले नर्सरी तथा एक कक्षादेखि मात्र भर्ना लिने र तीनै बिद्यार्थीलाई एस.इ.ई. सम्म तयार गर्ने गर्छन् । तिनै बिद्यार्थीको नतिजालाई सतप्रतिसत मानेर नीजि बिद्यालयले आफ्नो बिज्ञापन गरिरहेका छन् । तर शिवपुरी माध्यमिक बिद्यालयमा नेपालका बिभिन्न भागबाट पढ्न आउने बिद्यार्थीहरुलाइ जुन सुकै कक्षामा भर्ना गरिने भएकाले पनि सत प्रतिशत नतिजा आउन नसकेको स्वीकार गर्छन् प्रध्यानाध्यापक दुरदर्शी ।
तर, अत्यन्तै कमजोर बिद्यार्थीलाई समेत सक्षम बनाएर एस.इ.ई.परिक्षामा रामो नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक दुरदर्शीको भनाई छ । उनी भन्छन्, ‘सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्नेहरुलाई हाम्रो बिद्यालय नमुना बिद्यालयको रुपमा उदाएको छ, नयाँ–नयाँ प्रबिधिहरु प्रयोग गरेर हाम्रो स्कुलका शिक्षकहरुले बिद्यार्थीलाई सिकाई प्रकृयामा ल्याउनु भएको छ, यो नै हाम्रो बिद्यालयको पहिलो उपलव्धी हो ।’
यो वर्ष मात्रै बिद्यालयमा साडे २ सय जना नयाँ बिद्यार्थी भर्ना भएका छन् । ति मध्ये ९० प्रतिशत बिद्यार्थी नीजि बिद्यालय छोडेर आएका हुन् । उत्कृष्ट शैक्षिक गुणस्तरका कारण पनि यस बिद्यालयमा बिद्यार्थी आउने क्रम बढेको हो । यस बिद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षासम्म करिव १२ सय बिद्यार्थीहरुले पठन पाठन गर्दै आएका छन् । ब्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्यापन एउटै छानामुनी हुने भएकाले पनि यस बिद्यालयमा बिद्यार्थीको चाप बढेको छ ।
‘नेपालका सामुदायिक बिद्यालय पनि सक्षम छन् र शिक्षित तथा सभ्य नागरिक उत्पादन गर्न सक्छन्’ भन्ने खालकोे म्यासेज दिनको लागि शिवपुरी माध्यमिक बिद्यालय ‘नमुना’ बिद्यालयको रुपमा स्थापित भइसकेको छ । यहाँका शिक्षक–शिक्षिकाहरु आफ्ना बिद्यार्थीहरु प्रति समर्पित हुनुका साथै टिममा काम गर्न रुचाउने भएका कारण यस बिद्यालयले अभिभावक र बिद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

बिद्यालयको उत्कृष्ट ब्यवस्थापन, सफा उज्याला र सुरक्षित कक्षाकोठाहरु, फिल्टर र ल्याव परिक्षण गरिएको खाने पानी, सफा ट्वाईलेट र पोख्त विषयगत शिक्षकहरु यस बिद्यालयका बिशेषताहरु हुन् । यस बिद्यालयमा दलित, विपन्न, अल्पसंख्यक तथा बिबिध कारणबस शिक्षाबाट वन्चित भएका बिद्यार्थीलाई बिशेष छुट तथा निशुल्क अध्ययन गर्न सक्ने वातावरण बिद्यालयले उपलव्ध गराउँदै आएको छ ।
‘कुनै पनि वालबालिका आर्थिक अभावका कारण पढाइबाट वन्चित नहोउन भन्ने उद्धेश्यले विपन्न परिवारका बिद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’ प्रध्यानाध्यापक दुरदर्शीले शिक्षामा सबैको पहुँच बिस्तार गर्नका लागि आफुहरु प्रतिबद्ध रहेको बताए ।

यद्यपी, यस बिद्यालयले सुरुवातदेखि नै बिभिन्न खाले समस्याको सामना गर्दै अगाडी बढेको छ । सरकार र राजनितिक ब्यक्तिहरुले सरकारी बिद्यालयलाई संकुचित दृष्टिकोणले हेरेको प्रध्यानाध्यापकको गुनासो छ । उनी भन्छन्, ‘शिक्षकहरुलाई हेर्ने दृष्टिकोण नै संकुचित छ, शिक्षकको कमाइ राम्रो हुँदैन भन्ने मानसिकताले शिक्षकको सामाजिक हैसियत न्यून खालको बनाइदिएको छ, त्यसैले शिक्षक पेशामा लागेका व्यक्तिको मनोवल वृद्दि गर्नका लागि राज्यले कार्यक्रम नै ल्याउनु पर्छ ।’ बिद्यालय सुधार योजना कार्यक्रमलाई अक्षरस पालना गरेको खण्डमा सामुदयिक बिद्यालयले पनि नीजि बिद्यालय सरह फड्को मार्न सक्ने उनको भनाई छ ।

विभिन्न क्षेत्रबाट शिक्षाको पहुँचसम्म नआएका बिद्यार्थीलाई कसरी शिक्षाको दायरामा ल्याउने भनेर आफ्नो बिद्यालयले बिभिन्न पहल गरेको उनी बताउँछन् । दलित, सिमान्कृत, महिला तथा पिछडिएका क्षेत्रका अन्य बिद्यार्थीहरुलाई सहभागी गराउनका लागि सरकारले ठुलो धन रासि खर्च गरेको भए पनि त्यसले सोँचे जति प्रतिफल दिन नसकेको र यस तर्फ सरकारले ठोस पहल गर्नु पर्ने उनी बताउँछन् ।

त्यसो त, पटक–पटक बिगठन हुने सरकार र राजनीतिक परिवर्तनका कारण शिक्षा क्षेत्रमा ठुलो असर परेको प्रध्यानाध्यापक दुरदशीको स्वीकारोक्ति छ । १५ वर्षको अवधिमा १६ जना भन्दा बढी शिक्षामन्त्रिहरु परिवर्तन हुनु र उनीहरुले आफ्नो लहडमा निर्णय गर्नुले शिक्षा क्षेत्रमा सबै भन्दा ठूलो चुनौति थपिएको उनको भनाइ छ । भन्छन्, ‘सरकारले शिक्षाको बिकासका लागि लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता जाहेर गरेको भए पनि जम्मा ९ देखि १० प्रतिशतको हाराहारीमा मात्र वजेट छुट्टाएको छ, त्यसकारण पनि राज्य शिक्षा जस्तो संवेदनशिल बियषयमा गंभिर हुन नसकेको छैन ।’