जेनीका परिवार भन्छन्,‘हाम्री छोरीको हत्या गरेर पोष्टमार्टम रिपोर्टमा आत्महत्या भनियो’

दियो पोस्ट  

काठमाडौँ, ७ साउन । “पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरिएको भनिएको छ । तर, घाँटीमा खुकुरीले काटिएका तीनवटा ठूला डाम छन् । शरिर भरि कुटिएका थुप्रै निलडाम मात्रै छन् । झुण्डिएको कुनै प्रमाण नै छैन । यदी झुण्डिएको भए घाँटीमा डोरीको डाम हुनु पथ्र्यो । घाँटीको भाग तन्किएको हुनु पथ्र्यो । अनि कसरी हुन्छ आत्महत्या ?” एक साता अघि राजधानीको बालाजुमा रहस्यमय मृत्यु भएकी १६ वर्षीया किशोरी जेनी तामाङ्गका हजुरबुवा कृष्ण बहादुर लामा चिच्याउँदै थिए ।


जेनिकाे हत्या भएको तर शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक रिपोर्टमा आत्महत्या भनिएको भन्दै विरोध भइरहेको छ ।


अस्पतालको रिपोर्ट चित्त नबुझेको भन्दै परिवार तथा आफन्तहरु अस्पतालको बिरोध गर्दै आन्दोलनमा उत्रिएका छन् । जेनीको मृत्यु बारे निश्पक्ष छानबिन हुनु पर्ने माग राख्दै उनीहरु आइतबारदेखि आन्दोलनरत छन् । “अस्पतालले झुण्डिएर आत्महत्या गरेको भनेर रिपोर्ट निकालेको छ, तर त्यो कोठामा झुण्डिने एउटा किल्ला समेत छैन, अनि कसरी झुण्डिएर आत्महत्या गर्यो त? हाम्री नातिनीको हत्या नै भएको हो”, मृत्यु बारे निश्पक्ष छाानबिनका लागि दवाब दिन शिक्षण अस्पताल पगेका मृतकका हजुरबा कृष्ण बहादुर लामा भन्दै थिए ।

जेनिका हजुरबुवा कृष्ण बहादुर लामा


बारा जिल्ला स्थाई घर भई राजधानीको त्रिपुरेश्वरमा बस्दै आएकी जेनीको असार ३० गते रहस्यमय मृत्य भएको थियो । परिवारले हत्या भनेपनि शिक्षण अस्पतालले आत्महत्या भएको भन्दै आइतबार रिपोर्ट निकालेको थियो । अस्पतालको रिपोर्ट पूर्वाग्रही ढंगले अपराधीलाई बचाउ गर्नका लागि आएको परिवारको भनाई छ । घटनाको निश्पक्ष छानबिन हुनु पर्ने र हत्या अभियोग लागेका प्रेमी भनिने भीम बहादुर मगरलाई हदैसम्मको कारवाही हुनु पर्ने परिवारको माग छ । प्रहरी प्रशासन र अस्पताल पीडितका पक्षमा नरहेको र आफुहरुमाथि अन्याय भएको भन्दै परिवार र तथा आफन्तहरुले न्यायको पक्षमा निरन्तर आवाज उठाउने बताएका छन् ।

मृत अवस्थामा जेनि तामाङ


“त्यो केटा र उसकी अर्की गर्लफ्रेण्डको मिलोमतोमा हाम्री बहीनीको घाँटी रेटेर हत्या गरिएको छ, प्रहरीले ठेस लागेर मृत्यु भएको हो भनेर गैरजिम्मेवारी तरिकाले बयान दिनुले हामीलाई सशंकित बनाएको छ, मर्न परे पनि मर्न तयार छौँ, अपराधीलाई उम्किन दिदैँनौ, ।” जेनीकी दिदी माइली तामाङले अस्पताल र प्रहरी प्रशासन पैसामा बिकेको आरोप लगाएकी छिन् ।

यस्तो छ, घटना बिबरण

उदयपुर स्थाइ घर भई बालाजुमा बस्दै आएका भिम बहादुर मगरसंग जेनीको २ वर्षदेखि सम्वन्ध रहँदै आएको थियो । परिवारका अनुसार भिम कैयौँ पटक जेनीको घरमा आउने गर्थे । ६ महिना अघि भिमको अन्य केटीससंग पनि सम्वन्ध भएको थाहा पाएर जेनीले सम्वन्धबाट अलग हुन खोजेकी थिइन् । तर, भिमले जेनीलाई फकाई फुल्याई सम्वन्धबाट अलग नहुन आग्रह गरेका थिए । त्यसपछि सम्वन्ध सुमधुर हुँदै गएको थियो ।

जेनिकी प्रेमी भीम बहादुर मगर


यही असार ३० गते भिमको जन्म दिन परेकाले जेनी जन्मदिन मनाउन भन्दै बालाजुस्थित भिम बस्दै आएको डेरामा पुगेकी थिइन् । उनी दिनको १२ बजे घरबाट निस्किएको पारिवारिक स्रोत बताउँछ । डेरामा पुग्दा भिम अर्कै केटीसंग मस्ती गरिरहेको देखेर जेनी रिसाइन् । रिसको आवेगमा केहीबेर भनाभन र कुटाकुट भएको थियो । चिच्याएको आवाज बाहिरसम्म सुनिएको प्रत्यक्षदर्शीको भनाई छ । प्रत्यक्ष दर्शीका अनुसार झगडा भएको आधा घण्टाभित्र भिम र उनकी दोस्री प्रेमीकाले जेनीलाई झुण्ड्याउँदै ट्याक्सीमा राखेर अस्पताल लिएर गएका थिए । तर अस्पताल पगेको केही बेरमै जेनीको मृत्यु भएको घोषणा गरिएको थियो ।

प्रहरीले फोनमार्फत मृत्यु भएकी जेनीको अवस्था गंभिर रहेको भन्दै परिवारलाई जानकारी गराएको थियो । परिवारका सदस्य अस्पताल पुग्दा जेनीको मृत्यु भएको थियो । उनको ढाडमा नीलडामहरु थिए । घाँटीमा खुकुरीले काटेका चोटहरु थिए । कानको पछाडी चोट लागेको थियो । तर, घटनाको बारेमा प्रशासनले यथार्थ बिबरण नदिएको भन्दै परिवारले त्यसको बिरोध गरेका छन् । यद्यपी, घटना भएको एकसातापछि मात्र अस्पतालले पोस्टमार्टम रिपोर्ट बुझाएको थियो । वास्वबिकता लुकाउनका लागि रिपोर्ट ढिला निकालेको भन्दै परिवारल अस्पतालको नियतमाथि प्रश्न उठाउने ठाउँ रहेको बताए ।

अस्पतालले पीडितमाथि अन्याय गरेको र हत्यारालाई जोगाउने कोशिस गरेको भन्दै मानव अधिकारकर्मीहरु समेत आन्दोलनमा उत्रिएका छन् । पीडितको आन्दोलन उत्कर्षमा पुगेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीको लाठि चार्जबाट मृतककी आमा घाइते भएकी छिन् ।

यो पनि पढ्नुहोस

जेनि तामाङ मृत्यु प्रकरणः पोस्टमार्टम रिपोर्टमा आत्महत्या लेखिएपछि टिचिङ अस्पतालमा तनाव (फोटोफिचर)