शिक्षा मन्त्रालयको निर्देशन विपरित आइडिपीद्वारा तारे होटलमा फेयर, मन्त्रालयको पत्र अलपत्र !

दियो पोस्ट  

काठमाडौं । अष्ट्रेलियन संस्था आईडीपी एजुकेशनले गैरकानुनी रुपमा एजेकेशन फेयर गरेको छ ।
नेपालमा आई ईएलटीएस परीक्षा सञ्चालन गर्दै आइरहेको आईडीपी एजुकेशनले शिक्षा मन्त्रालयबाट अनुमति नै नलिकन आज काठमाडौंको रेडिसन होटेलमा अस्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिहरुलाई बोलाएर एजुकेशन फेयर शुरु गरेको छ ।

शिक्षा मन्त्रालयले आईडीपीलाई नेपालमा लगानी गर्न नदिनु भन्ने राय उद्योग मन्त्रालयलाई निर्णय गरी पठाएको एक बर्ष बितिसकेको छ । तर, सर्वोच्च अदालतबाट स्टे अर्डर लिएकै भरमा आईडीपीले परामर्शको काम गरी विद्यार्थीलाई अष्ट्रेलिया पठाउने काम गर्दै आइरहेको छ । अहिले आईडिपीले त्यही स्टे अर्डर देखाएर गैरकानुनी रुपमा एजुकेशन फेयर संचालन गरेको हो । नेपालका शैक्षिक परामर्श व्यावसायीहरुले बिरोध गरेपनि एकतर्फी रुपमा फेयर सञ्चालन हुँदा शिक्षा मन्त्रालय बेखबर छ ।


एजुकेशन फेयर संचालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय र शिक्षा मन्त्रालयको स्विकृती चाहिन्छ। शिक्षा मन्त्रालयमा फेयर संचालनका लागि आईडिपीले निवेदन दिएको थियो। मन्त्रालयले अदालतमा विचाराधिन मुद्दा भन्दै अनुमति दिएको थिएन। तर, मन्त्रालयले अनुमति नदिएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने हचुवाको भरमा फेयर संचालन गर्न अनुमति दिएर गैरकानुनी कामलाई प्रश्रय दिएको देखिन्छ।

अदालतमा बिचाराधिन मुद्दामा सिडियो कार्यालयले आईडिपीलाई फेयर संचालन गर्न अनुमति दिएका कारण शिक्षा मन्त्रालयको हैसियत र क्षेत्राधिकारमाथि नै प्रश्नचिन्ह उठेको छ।


शिक्षा मन्त्रालयको निर्देशिका अनुसार, शिक्षामा प्रत्यक्ष विदेशी लगानी भित्र्याएर नेपालमा विदेशी संस्थाले काम गर्न पाउँदैन । तर, आइडीपी अष्ट्रेलियाले ५१ प्रतिशत सेयर आफ्नो नाममा रहने गरी हात्तिसारमा कार्यालय स्थापना गरेर गैरकानुनी रुपमा काम गर्न थालेको छ ।

आईडीपीको नेपाली लगानीकर्ता झापाका भुपेन्द्र सिटौला (निरज) हुन् भने उनलाई पर्दा पछाडिबाट सहयोग गर्ने बानेश्वरस्थिति अल्फा बिटा हाउसका मालिका द्विराज शर्मा हुन् । सिटौला डमी लगानीकर्ता रहेको परामर्श व्यवसायीहरु नै बताउँछन्।

स्रोतका अनुसार सिडियो कार्यालयमा रमण कोइराला नामका एक बिचौलियाले चलखेल गरी आईडिपीलाई फेयर संचालनको अनुमति पत्र दिलाएका हुन् । आईडीपीको अष्ट्रेलियमा रहेका ३० भन्दा बढि शैक्षिक संस्थाहरुको लगानी छ ।

नेपालमा ५१ प्रतिशत लगानी गरी कमिसन लिने र नेपाली विद्यार्थी पुनः आफ्नै संस्थामा पठाएर आइडीपीले सिन्डिकेट लाद्न खोजिरहेको आरोप छ ।


सिटौला र सिवाकोटीले एफडीआइको नाममा विदेशी कम्पनीलाई नेपाल भित्र्याएर नेपाली लगानी डुबाउने चलखेल गरिरहेको आरो नेपाली व्यावसायीहरुकै छ। ५० लाख लगानी गरेकै भरमा विदेशी शैक्षिक संस्थालाई नेपालमा परामर्शदाताका रुपमा भित्र्याई सिटौला र सिवाकोटीले नेपाली लगानी कर्ताको रोजीरोटी खोस्न लागि परेको आरोप उनीहरुमाथि छ ।