
गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल र स्वास्थ्य प्रमुख राम प्रसाद सिलवाल
दियोपोस्ट संवाददाता,
धादिङ, २२ असार । सिद्धलेक गाउँपालिकाले गुपचुप रुपमा खरिद गरेको लाखौंको औषधीमा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिकाले खरिद गरेको औषधीलाई कतिपय स्वास्थ्य चौकीले प्रयोगमा ल्याउन समेत अस्विकार गरेका छन् ।
गाउँपालिकाले ‘शिलबन्दी बोलपत्र’को नाममा सार्वजनिक सुचना बिनै २० लाख रुपैयाँको ठेक्का स्वीकृत गरेको समेत खुलेको छ ।
गत चैत्र ७ गते गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, प्रमुख कार्यकारी अधिकृत धनेश्वर पौडेल, स्वास्थ्य प्रमख राम प्रसाद सिलवालको रोहबरमा खोलिएको गोप्य ठेक्का काठमाडौंको त्रिपुरेश्वरमा रहेकोे सञ्जुश्री मेडिसिन सप्लायर्सलाई दिएको थियो ।
उक्त कम्पनिसँग गाउँपालिकाले २० लाख रुपैयाँको औषधी किनेको थियो । ठेक्का खोलिएको मुचुल्कामा २०७६ फागुन ३० मै सुचना प्रकाशित गरेको भनिएपनि गाउँपालिकाको वेभसाइटमा टेण्डरबारे कुनै सुचना छैन । सार्वजनिक खरिद नियमावलीमा ठेक्काको सुचना दैनिक पत्रिका मार्फत सार्वजनिक गर्नु भएपनि गाउँपालिकाले नियमावलीकै धज्जी उडाएर खरिद गरेको समेत पाइएको छ ।
स्रोतका अनुसार गाउँपालिका अध्यक्ष सिलवाल, प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेल र स्वास्थ्य प्रमुख राम प्रसाद सिलवालले सेटिङकै आधारमा सञ्जु श्री मेडिकल सप्लायर्ससँग औषधी खरिद गरेका थिए ।
खरिद गरिएको अधिकांश औषधी बजार भाउभन्दा महँगो मात्रै होइन गुणस्तरियतालाई लिएर समेत स्थानिय स्वास्थ्य चौकीका प्रमुखहरुले प्रश्न उठाएका छन् ।
सरकारले मेडिकल सामग्री खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र उनका सल्लाहाकारले सप्लायर्ससँग बसेको घटना केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।
उक्त घटनापछि सप्लायर्ससँग मन्त्रीले ‘घुस डिल’ गरेको समेत चर्चा भएको थियो । ठीक त्यस्तै गाउँपालिका अध्यक्ष सिलवाल स्वयंले शिलबन्दी खोलिएको तुलनात्मक विवरणमा हस्ताक्षेर गरेका छन् । यसले ओषधी खरिदमा समेत सिलवालको समलग्नता पुष्टि हुन्छ ।

गाउँपालिकाले किनेको ग्याष्ट्रिकको लागि प्रयोग हुने क्युरासिड–२५० लेखिएको अल्मिना एण्ड म्याग्नेशियम ट्याब्लेट्स नामको औषधीको ट्याब्लेट खोल्दा धूलो निष्कन्छ । सामान्यतया यस्ता औषधी पत्ताबाट निकाल्दा सग्लो हुनुपर्छ । यस्ता औषधी सबै स्वास्थ्य चौकीमा पुर्याइएको छ । एक स्वास्थ्य चौकीले त गुणस्तरहिन औषधी आएको पुष्टि गर्दै सोही टिप्पणी उठाएको छ ।
‘गाउँपालिका स्वास्थ्य प्रमुख सहित आएर हाम्रो स्वास्थ्य चौकीमा दिनु भएको औषधी गुणस्तरहिन छ,’ सिद्धलेक गाउँपालिका स्थित एक स्वास्थ्य चौकीका अहेबले दियोपोष्टसँग भने,‘हामीले औषधी हेर्दा आफै छक्क परेका छौँ । गुणस्तरहिन भएको भन्दै वडाका प्रतिनिधि बसेर मुचुल्का उठाएका छौँ ।’ तर, औषधी गुणस्तरहिन हो वा राम्रो हो भन्ने विषयमा वडा प्रतिनिधिले नभई औषधी व्यवस्था विभागले छानबीन गर्नुपर्ने हुन्छ ।
गाउँपालिकाले वितरण गरेको औषधीलाई लिएर ल्याव परिक्षण गर्नुपर्ने माग समेत स्थानिय स्वास्थ्य चौकी प्रमुखहरुको छ ।
‘राम्रो औषधीले मानव जीवनमा लागेका रोगहरु निदान गर्न सहयोग पुर्याउछन् तर, यस्ता औषधी विग्रेको वा ट्याब्लेट खोल्दा धुलो बनेर आउँछ भने त्यस्ता औषधीले विषको काम गर्छन्,’ उनले भने,‘यद्धपी यसलाई हामीले भन्दा पनि औषधी व्यवस्था विभागले नै ल्याव परिक्षणको आधारमा भन्न सक्छ ।’
औषधी खरिदमा गरिएको शिलबन्दीको नाममा फर्म समेत वितरण नगरिएको पाइएको छ । ‘गुणस्तरहिन’ औषधी खरिदको विषयमा गाउँपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद सिलवाललाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेललाई सम्पर्क गर्दा उनले आफूलाई केही थाहा नभएको बताए । औषधी खरिदको शिलबन्दी तुलनात्मक विवरणमा भने पौडेलले समेत हस्ताक्षेर गरेका छन् ।
‘सबैकुरा मलाई थाहा छैन,’ उनले भने,‘म अहिले अफिसमा छैन ।’
बिल सञ्जु मेडिसिनको, औषधी कहाँको ? मिलेमतोको जालो यस्तो छ
दियोपोष्टले औषधी गुणस्तरहिन भएको विषयमा सन्जु मेडिसिन सप्लायर्सको बिलमा उल्लेखित नम्बरमा सम्पर्क गरेको थियो । तर, फोन उठाउने व्यक्तिले आफू उक्त कम्पनिको नभएको बताए । ती व्यक्तिले सञ्जु मेडिसिनको भन्दै विवेक अच्छामी नाम गरेका व्यक्तिको नम्बर दिए । उनको नम्बरमा सम्पर्क गर्दा नवराज श्रेष्ठ नाम गरेको व्यक्तिको नम्बरमा कुरा गर्नु भनियो । नवराज श्रेष्ठलाई सम्पर्क गर्दा ओषधी खरिदको विषयमा आफूलाई केही थाहा नभएको र आफ्नो कार्यालयको बिल मात्रै प्रयोग भएको रहस्य खुल्यो ।

‘त्यो विषयमा भरतजीसँग कुरा गर्नुहोला । हाम्रो बील मात्रै प्रयोग भएको हो । हाम्रो बिल लेनदेन हुन्छ । उसले कसरी काटेको हो उसैलाई कन्ट्याक्ट गर्नुहोला,’ नवराजले दियोपोष्टसँग भने,‘उसको सर्जि एड भन्ने छ । यहाँबाट बिल मात्रै काटेको हो । उ पनि औषधी व्यापारी हो । उसैलाई भन्नुहोला ।’
दियोपोष्टले औषधी खरिद प्रकरणमा जोडिएका भरतमणि सिलवालको मोबाइल नम्बरमा फोन गर्दा उनले आफूले औषधी सप्लाई गरेको स्वीकार गरे । ‘औषधी मैले सप्लाइ गरेको हो । गाउँपालिका वा स्वास्थ्य चौकीले औषधी कस्तो ठाउँमा राखेको छ त्यो अनुसार पनि हुन्छ,’ उनले भने,‘हामीले सप्लाई गरिदिने मात्रै हो ।’
सर्जि एड नामक कम्पनिका मालिक सिलवलाले सन्जु श्री मेडिसिनको फर्म प्रयोग गरी औषधी भने आफूले सप्लाई गरेको उनले स्वीकार गरेका छन् । यसरी फर्म एउटाको र औषधी भने अर्को फर्मको प्रयोग गरेको सिलावलले नै खुलमखुल्ला स्वीकार गरेपछि गाउँपालिकाले खरिद गरेको औषधीमा घोटाला भएको आशंकालाई थप बल दिएको छ ।
परिमाणमै गोलमाल !
सिद्धलेक गाउँपालिकाले औषधी खरिदको ठेक्का सञ्जुश्री मेडिसिन सप्लायर्सलाई दिएको भएपनि सर्जी एडबाट सामान सप्लाई गरेको उनीहरुकै बयानबाट खुल्छ । यस्तोमा परिमाणमा समेत घोटाला भएको गाउँपालिकाकै एक उच्च अधिकारीले दियोपोष्टलाई बताए । ‘बिलमा धेरै लेखिएको छ । तर, यहाँ त्यति नै परिमाणको औषधी छैन । कतिपाय स्वास्थ्य चौकीमा समेत परिमाण भन्दा थोरै औषधी पुगको भन्ने गुनासो आएको छ,’ गाउँपालिकाका एक उच्च अधिकारीले दियोपोष्टसँग भने,‘अध्यक्ष नै समलग्न भएको कुरा हामीले भन्ने मात्रै हो । कारबाही हुन गारो छ ।’

उनको ती उच्च अधिकारीको यो भनाईलाई पुष्टि गर्न हामीले केही स्वास्थ्य चौकीमा सम्पर्क गरेका थियौँ । स्वास्थ्य चौकीहरुबाट प्राप्त विवरण अनुसार गाउँपालिकाले कागजमा धेरै औषधी लेख्ने तर परिणाममा भने थोरै औषधी पठाएको पुष्टि भएको छ ।
‘औषधी ल्याएर छोडिदिए । सबैको रोहबरमा औषधी के कति छ खोलौँ भन्दा गाउँपालिकाबाट आएका स्वास्थ्य प्रमुख सहितको टोली भाग्नु भयो । पछि हामी वडाका प्रतिनिधि बसेर खोली हेर्दा कागजमा भन्दा आधा औषधी मात्रै आएको रहेछ,’ एक वडा प्रतिनिधिले भने,‘यो हदसम्मको घोटाला हुँदो रहेछ । हामी अचम्म परेका छौँ ।’

ती वडा प्रतिनिधिले दियोपोष्टलाई बुझाएको विवरण अनुसार गाउँपालिकाले गत चैत्र २१ गते एक स्वास्थ्य चौकीमा गाउँपालिकाले लिखित परिणाम भन्दा निकै थोरै औषधी पुर्याएको छ ।
गाउँपालिकाको विवरणमा क्लोफेनिरामिन नामको औषधी उक्त स्वास्थ्य चौकीमा ७ हजार ट्याब्लेट पुर्याइएको विवरण छ तर वडा प्रतिनिधिसहित खोलेर हेर्दा भने ४ हजार ट्याबलेट मात्रै पाइएको छ । त्यस्तै एमोक्सिक्लिन नामको औषधी ४ हजार क्याप्सुल लेखिएको भएता पनि २ हजार मात्रै स्वास्थ्य चौकीमा पुगेको छ । यस्ता दर्जनौँ औषधी विवरणमा एउटा र रोहबरमा खोलीदा वास्तविकता भने अर्कै पाइएपछि स्वास्थ्य चौकी सहित वडा प्रतिनिधिहरुले मुचुल्का उठाएका छन् ।
‘यहाँ औषधी घोटाला भएको देखिन्छ । गाउँपालिकाकै मान्छेहरुले गरेको बद्मासीको जिम्मा हामीले किन लिने । भोली हामीलाई आरोप आउला भनेर हामीले मुचुल्का उठाएका हौँ,’ ती अधिकारीले भने,‘यो विषयमा अख्तियारले छानबीन गरे हामी सबै प्रमाण उपलब्ध गराउन तयार छौँ ।’
औषधी खरिदमा समेत नातागोताकै समलग्नता !
गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले आफ्नो पिएमा सम्धी टंकनाथ तिमिल्सेनालाई नियुक्त गरेका छन् । ज्वाइँ पनि शिक्षा शाखाकै प्रमुख छन् । उनके नाता पर्ने राम प्रसाद सिलवाल स्वास्थ्य शाखा प्रमुख छन् । औषधी खरिदमा ‘मैले सप्लाई गरेको हुँ’ भन्ने भरत सिलवाल पनि नाताले राम प्रसादका भाई हुन् ।

उनको घर सिद्धलेक गाउँपालिका नै हो । सामाजिक सञ्जालमा उनीहरुले दाई राम प्रसाद सिलवालसँगका फोटो हरु पोष्ट गरेका छन् । यसले औषधी खरिदमा मिलेमतो रहेको पुष्टि हुन्छ ।
छुटाउनु भयो की ?