
दियोपोस्ट संवाददाता
मलेशिया, ३ साउन । गैरआवाशिय नेपाली संघ मलेशियाका उच्च अधिकारीले कोरोना भाइरस कोभिड १९ को नाममा संकलन गरेको रकममा अनियमितता गरेको आरोप लागेको छ ।
कोरोना भाइरस कोभिड १९ बाट प्रभावित मजदुरको उद्दारका लागि भन्दै एआरएन केन्द्रले पठाएको रकम मलेशिया स्थित श्रमिक कल्याणकारी कोषको खातामा हालसम्म पनि जम्मा नभएको पाइएको छ ।
केही वर्षअघि मलेशिया पुगेका तत्कालिन श्रम मन्त्री सुर्यमान गुरुङले गैर आवाशिय मलेशिया संघले श्रमिक कल्याणकारी कोष खडा गरेको थियो । उक्त कोषको नाममा मलेशिया स्थित सिआइएमडी बैंकमा खाता खोलिएको थियो । सोही खातामा जम्मा हुनुपर्ने लाखौं रकम संघका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले आफ्नो नाममा जम्मा गर्दै अनियमितता गर्दै आएको खुलेको छ ।
संघका अध्यक्ष हरि भट्टराईको मिलेमतोमा कोषाध्यक्ष नेपालको नामममा लाखौँ रकम जम्मा भएको स्रोतले बताएको छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीबीच मलेशियामा समस्यामा परेका मजदुर उद्दारका लागि भन्दै एनआरएन केन्द्रले पठाएको ५ हजार डलर समेत कोषको खातामा जम्मा भएको छैन । उक्त रकम अध्यक्ष हरि भट्टराई र कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले मिटर ब्याजमा लगाएको समेत आरोप छ । दियोपोष्टले फेला पारेको भौचर अनुसार जापानको टोकियोबाट मलेशियामा रहेका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालको नाममा पटक पटक गरी ५ हजार डलर सिटी एक्सप्रेसबाट ट्रान्सफर भएको छ ।

सन् २०२० मे १९ मा पठाइएको उक्त रकम २ महिना वितिसक्दा पनि श्रमिक कल्याणकारी कोष अथवा एनआरएनको खातामा जम्मा भएको छैन । त्यति मात्रै होइन कोषको खातामा जम्मा हुनुपर्ने एनआरएन अध्यक्ष कुमार पन्तले दिएको १५ सय अमेरिकन डलर र एशिया ब्युरो संयोजक गोविन्द श्रेष्ठले दिएको १ हजार डलर पनि जम्मा भएको छैन । उक्त रकमको हिसाब किताब गर्नुपर्ने माग समेत एनआरएनए मलेशिया च्याप्टरका उच्च अधिकारीले उठाएका छन् । उपाध्यक्ष सुन्दर आले लगायत उच्च अधिकारीले हिसाब किताब सार्वजनिक गर्न माग गरेका छन् ।

यसअघि हाल मलेशियाका एनआरएन अध्यक्ष हरि भट्टराईले समेत श्रमिक कल्याणकारी कोषलाई ५० हजार मलेशियन रिंगेटको चेक दिएर लामो समय सम्म झुलाएका थिए । तर, उक्त चेकको रकम कोषको खातामा जम्मा नभएको विषयमा दियोपोष्टले निरन्तर खबर छापेपछि उनी रकम जम्मा गर्न बाध्य भएका थिए ।
‘एनआरएनको पैसा मनोमानी भएको छ । श्रमिक कल्याणकारी कोषमा हुनुपर्ने रकम अध्यक्ष र कोषाध्यक्ष मिलेर मनोमानी गरिएको छ,’ एनआरएन मलेशियाका एक उच्च अधिकारीले भने,‘यस विषयमा हामीले पटक पटक आवाज उठायौँ तर हाम्रो आवाज सुनिँदैन । अध्यक्षको दादागिरी चलेको छ ।’
यसैबीच एनआरएन मलेशियाका अध्यक्ष हरि भट्टराईले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । उनले प्रेसित गरेको खण्डन यहाँ प्रकाशन गरिएको छ ।

