गल्छी गाउँपालिकामा चरम भ्रष्टाचार : कामचोर ठेकेदारलाई सेटिङमा करोडौँ भुक्तानी दिएको खुलाशा !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


काठमाडौं, ९ साउन । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा कार्यालय समयमा अर्धनग्न युवती लिएर सडकमा देखिएका कर्मचारीबारे देशभर चर्चा छ । सामाजिक सञ्जालमा यो तस्विरलाई लिएर विभिन्न टिक्काटिप्पणी भइरहेको छ । केही अधिकारवादीहरुले भने पोशाकलाई लिएर महिला कर्मचारीको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । तस्वीर सार्वजनिक भएयता सकारात्मक भन्दा नकरात्मक टिका टिप्पणी धेरै भएका छन । हाम्रो समाज अक्सर यस्तै तस्विरलाई लिएर भड्कीरहेको छ ।


सामाजिक सन्जालमा भाइरल भइरहेको मोटरसाईकलका चालक इन्जिनियर प्रभात बराल हुन भने अर्धनग्न पोशाकमा रहेकी युवती सव इन्जिनियर हुन । बरालले आफ्नो परिचय सार्वजनिक गरेका हुनाले हामीले उनको नाम उल्लेख गरेका हौँ ।


उनीसँगै पछाडी रहेकी युवती पनि सोही गल्छी गाउँपालिकाकै स्थायी कर्मचारी हुन । तस्वीरलाई लिएर नकारात्मक टिप्पणी गर्नु भन्दा इन्जिनियर बरालसहित गल्छी गाउँपालिकाका उच्च अधिकारी समलग्न भएर गरिएको एउटा घोटालाको चर्चा गरौँ ।


असार ३० गते मात्रै इन्जिनियर बरालको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले भुक्तानीको लागि एउटा फाइल सदर गरेका थिए । त्यो फाइल थियो सुत्केरीढुंगा कार्कीडाँडा सडक स्तरोन्न्ती सम्बन्धी काम भएको ठेक्का पट्टाको । कुल १ करोड ७ लाखमा काम सम्पन्न गर्ने गरी नुवाकोटको पिए निर्माण सेवाले ठेक्का लिएको सुत्केरी ढुंगा कार्कीडाँडा सडक खण्डको एक चौथाई काम नगरी ठेकेदारलाई सबै भुक्तानी दिन इन्जिनियर बरालले प्राविधिक फाँटबाट सहमती दिएका थिए । तीन भागको एक भाग पनि कामै नगरी भुक्तानी दिइएको सो फाईलबाट इन्जिनियर बराल मात्रै होइनन् प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पनि राम्रै फाइदा लिएको पाइएको छ ।


गल्छी गाउँपालिकाको वडा नम्बर ६ सुत्केरीढुंगा स्थित पृथ्वीराजमार्गबाट शुरु भएको सुत्केरीढुंगा, सिम्लेखेत, ढुंगानाटार ताम्सालिङ सडकको गल्छी ६ ढुंगे बराबोटबाट गल्छी ४ को आँपकोडाँडो सम्मको ४ किलोमिटर सडक स्तरोन्नतीको काम गर्न गाउँपालिकाले सन २०२०/२/१३ अर्थात २०७६ फागुन १ गतेको मितिमा राजधानी दैनिकमा बोलपत्र आव्हानको सूचना प्रकाशित गरेको थियो ।


टेण्डर आव्हान गर्दा गाउँपालिकाले कुल अनुमानित लागत १ करोड ६७ लाख ३० हजार, २ सय ६१ रुपैयाँ ५१ पैसा तोकेको सो योजनाका लागि चारवटा निर्माण कम्पनीले इबिडिङबाट टेण्डर दिएकोमा नुवाकोटको विदुर ठेगाना भएको पिए निर्माण सेवाले सबैभन्दा कम लागत १ करोड ७ लाख ७६ हजार ३ सय १४ रुपैयाँ ५ पैसामा टेण्डर पारेको थियो । पिए निर्माण सेवाले दिएको टेण्डर स्वीकृत भएको सूचना गाउँपालिकाले २०७७ जेठ १ गते राजधानी दैनिकमा बोलपत्र स्वीकृतका लागि छनौट गर्ने आशयको सूचना प्रकाशित गरेको थियो ।


जेठ १ गते टेण्डर स्वीकृत भएपनि योजनाको सम्झौता गरेर काम शुरु गर्दा असारको दोश्रो हप्ता लागेको थियो । मध्य असार लागेपछि काम शुरु गरेको निर्माण कम्पनीले शर्तअनुसारको काम नगरि भुक्तानी पाउनुमा इन्जिनियर बराल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको मिलेमतो रहेको बुझिएको छ ।

शर्त अनुसार निर्माण कम्पनीले ढुंगेबराबोटबाट बच्चे मिजारको घर सम्म ग्राभेल गर्नुपर्ने,ग्राभेलको रुपमा क्रसरको ढुंगा प्रयोग गर्नुपर्ने, स्तरोन्नती भएको सडक कम्तिमा ५ मिटर फराकिलो हुनुपर्ने, ५ मिटर नपुगेको ठाउँमा पुरानोबाटो मासेर नयाँ बनाउनु पर्ने, खोल्सा र भलले खोलेको ठाउँमा ग्याविन जाली हालेर पक्की नाला बनाउनुपर्ने थियो ।

शर्तअनुसारको काम गर्ने जिम्मा लिएको पिए निर्माण सेवाले ठेक्का आंफुले नगरी गल्छी गाउँपालिका वडा नम्बर ७ का सिताराम खतिवडा (मोदनाथ), बिष्णु, रेशम र हरि खतिवडालाई पेटी ठेक्कामा बिक्री गरेको पाईएको छ ।


सडक स्तरोन्नतीका क्रममा निर्माण कम्पनीले क्रसरको गिट्टी प्रयोग गर्नुपर्नेमा पेवल हालेको प्रष्ट देखिन्छ । वाल निर्माण गर्ने क्रममा १÷४ को मसला हाल्नुपर्नेमा १/७–८ सम्मको मसला प्रयोग गरिएको स्थानीयबासीले बताए । ग्याबीन जाली, ह्युमपाईप, वाल केहीको पनि प्राविधिकबाट कुनै परीक्षण समेत नगरी एकैपटक सबै भुक्तानी दिनुले सडक निर्माणमा अनियमितता भएको पुष्टि हुने गल्छी गाउँ कार्यपालिकाका एक सदस्य बताउँछन् ।


टेण्डरको सूचना प्रकाशित गर्दा वाल लगाउने, ह्युमपाईप हाल्ने,जाली लगाउने भनिएपनि सम्झौता भन्दा फरक फरक ठाउँमा सजिलो हुने ठाउँमा मात्रै काम गरिएको छ भने ढुंगा पाउने ठाउँमा मात्रै मेशिन लगाएर ग्राभेलको साटो सोही ढुंगाको प्रयोग गरिएको छ ।


सडकको ढुंगानाटार गोविन्द भण्डारीको घर जाने गल्लीबाट आँपको डाँडा सम्म सडक स्तरोन्नती गर्नुपर्ने सम्झौतालाई बेवास्ता गर्दै ठेकेदारहरुले नयाँ ट्रयाक खोलेर मोटर नचढ्ने बाटो बनाई काम सम्पन्न भएको भुक्तानी लिएका छन् ।

सम्झौता भन्दा फरक काम गर्न पालिकाका इन्जिनियर बराल, सव इन्जिनियर रुपवहादुर विष्ट र गाउँपालिकाको कार्यालय अन्र्तगत कार्यरत पूर्णिमा परियोजनाका इन्जिनियर डोर बहादुर योगीले ठेकेदारको पक्षमा प्रतिवेदन बनाई सम्झौता विपरित काम गर्न मौखिक सहमती दिएको पालिकाका एक कर्मचारीले बताए ।

इन्जिनियरद्धयको मौखिक सिफारिसलाई प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले मौन समर्थन जनाई आर्थिक लाभ लिएकाले यो सडक निर्माणका क्रममा भएका सबै प्रकृयाको अख्तियारबाट अनुसन्धान हुनुपर्ने माग उठेको छ ।

यद्धपी सब इन्जिनियर रुप बहादुर विष्टले भने आफ्नो समलग्नता नरहेको बताए । दियोपोष्टको सम्पर्कमा आएका विष्टले भने,‘म गल्छी गाउँपालिकाको सब इन्जिनियर रुप बहादुर बिष्ट हो । कतिपय कुरा त्यसमा भएका सही पनि होलान् । त्यो प्रोजेक्ट एक पटक मात्रै हेर्न गएको हुँ । काम राम्रो नभएको विषयमा मैले अफिसमा भनेको हुँ । म ६ नम्बर र ४ नम्बर हेर्छु । तर मैले प्रतिबेदनमा काहीँ सिग्नेचर गरेको छैन,’ उनले भने,‘प्रतिबेदनमा के गरियो भन्ने पनि मलाई थाहा नै छैन । म जेठ २९ गते यहाँ नियुक्ती भएर आएको हुँ ।’


आफूलाई उक्त प्रोजेक्ट कति रकमको हो भन्ने समेत थाहा नभएको विष्टले बताए ।


‘मलाई यो प्रोजेक्ट कति रकमको हो भन्ने पनि थाहा थिएन । दियोपोष्टको समाचार पढेपछि थाहा पाएको हुँ । कसैले व्यक्तिगत रिसिबीको आधारमा मेरो नाम दिएको होला । अफिसमै आएर मैले कहाँ कहाँ हस्ताक्षेर गरेको छु लेखिदिनु भएहुन्छ । मैले बिल बनाएको होइन,’ उनले भने,‘अन्तिममा बिल उठाएको पनि होइन । मेरो वडा हो । तर, म नाप्न पनि गएको होइन । मेरो वडा भइकन पनि मलाई पालिकाबाट नाप्न जाउँ भनेको थिएन । भित्र भित्रै कर्मचारीले कसरी मिलायो मलाई थाहा छैन । म वडामा बस्छु । ठूला ठूला प्रोजेक्ट पालिकाले चलाउँछ ।’


गर्नुपर्ने भनि तोकिएको शर्त अनुसारको काम नगरि गर्दै नगरेको काम गरेको भनि भुक्तानीका लागि सिफारिस दिने प्राविधिक कर्मचारीको नियत गलत भएको पुष्टि ठेकेदारको भुक्तानी आदेशमा कुनै प्राविधिक टेस्ट रिर्पोट नराख्नुले स्पष्ट पारेको छ ।


सडक निर्माणमा अनियमितता भएको भन्दै स्थानीयले पटक पटक गल्छी ४ अध्यक्ष राजु अधिकारी, ६ का अध्यक्ष राजन श्रेष्ठ,पालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई भेटेर गुनासो राखेपनि प्रदेश सरकारको वजेट र ठेक्का भएकोले आफ्नो जिम्मेवारीमा नपर्ने भन्दै पन्छिएर बेवास्ता गरेको गाउँबासी बताउँछन् । सडकको स्तरोन्नती गरिएको भनिएपनि भुक्तानी लिने बेलामै सडक जताततै भत्किएको, मोटर गुड्नै नसक्ने हुंदा पनि अनुगमन समेत नगरि भुक्तानी हुनुले अनियमितताको पुष्टि गरेको छ ।

सम्बन्धित खबर

सिफारिस