केएल दुगर समुहको ज्ञान चक्की आँटामा ‘दुर्गन्धीत चुइङ्गम’ भेटियो (भिडियोसहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ११ । ‘रोटी’ नेपालीको भान्सामा पनि बिस्तारै रुचाइँदै गरिएको भोजन हो । प्रायः खाजाको रुपमा खाइने रोटी आजकल खानाको रुपमा पनि प्रयोग हुन थालेको छ । सँधै दालभात मात्रै खानुहुन्न कहिलेकाँही रोटी खाने गर्दा स्वास्थ्य राम्रो हुन्छ भन्ने मानसिकता बिस्तारै बढ्दै गइरहेको छ ।

खाजा खाना जे भएपनि धेरैजसो प्रयोग हुने रोटी नै हो । अव्यवस्थित खानपानको कारण प्रतिकुल बन्दै गइरहेको स्वास्थ्यलाई मेन्टेन गर्नका लागि पनि मानिसहरु हल्का खानेकुरा रुचाउँछन् । रोटीको उपभोग बढेपछि रोटी बनाउन प्रयोग हुने आँटा, पिठोको उपभोग पनि स्वभाविक रुपमा बढ्ने नै भयो ।

अत्याधिक माग रहेको बस्तु तथा सामाग्रीले आम उपभोक्ताको स्वास्थ्यमा के कति सरोकार राखेको छ त्यो पनि बुझ्नु पर्ने देखिन्छ । हामीले प्रयोग गर्दै आएको खाद्यान्नको गुणस्तर कस्तो छ त्यो पनि जान्न ÷बुझ्न आवश्यक हुन्छ ।

यता केएल दुगर ग्रुपले उत्पादन गरेको ‘ज्ञान चक्की आटा’ भने गुणस्तरहिन पाइएको छ । बाहिरी खोलमा शुन्य प्रतिशत मैदा, सय प्रतिशत आटा भनेर लेखिएको भएतापनि मिसावट पाइएको छ । ज्ञान चक्की आटाकै नियमित उपभोग गर्दै आएकी एक गृहणीले उक्त आटामा प्लास्टिक जन्य पदार्थको मिसावट भएको प्रमाणित गरेकी छिन् ।

उनले भिडियो नै बनाएर सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । भिडियोमा उनले केही बेर आटा मुस्छिन्, आटाको डल्लो बनाउछिन् । धारामा त्यही आटाको डल्लालाइ पखालिरहन्छिन् र अन्त्यमा चुईंगम जस्तो प्लास्टिक मात्र बाँकी रहन्छ ।

भिडियो हेर्नुहोस्

उनले उक्त प्लास्टिक जस्तो बस्तुलाई तन्काउछिन्, चुईंगम जस्तै तन्कन्छ । भिडियोमै उनले उक्त प्लास्टिक जस्तो बस्तुलाई ग्याँसमा जलाउँछिन् । उनले प्लास्टिकको जस्तै दुर्गन्ध आएको कुरा समेत भिडियोमा बताएकी छिन् ।

उनले यस सम्बन्धमा संवन्धित पक्षले कारबाही गर्नुपर्ने बताएकी छिन् । उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरवाही गर्ने उत्पादक कम्पनीलाई समेत कारवाही गर्न उनले माग गरेकी छिन् ।


सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतीलाल दुगर अध्यक्ष रहेको के एनल दुगर समुहले उत्पादन गरेको ग्यान चक्की आँटाको गुणस्तरीयता परिक्षण गर्नुपर्ने माग आम उपभोक्ताको छ ।

सम्बन्धित खबर

सिफारिस