काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषदमा विगत २ वर्षदेखि खाली रहेको सदस्य सचिव पदमा अन्र्तराष्ट्रिय गैर सरकारी संस्था (आईएनजीओ)का व्यक्तिलाई नै नियुक्त गर्ने तयारी गरिएको छ ।
तत्कालिन सदस्य सचिव डिल्ली प्रसाद भट्टलाई मन्त्रालयमा तानिएपछि खाली रहेको उक्त पदमा सरकारले अहिलेसम्म कसैलाई पनि नियुक्त गरेको छैन । २०७५ साउन १८ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार साउन २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भट्टलाई मन्त्रालय तानिएको थियो ।
त्यसपछि अहिलेसम्म खाली रहेको सदस्य सचिव पदमा वल्र्ड भिजन नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका निर्देशक ( पब्लिक इन्गेजमेन्ट) मा कार्यरत पुष्कर खातीलाई ल्याउने तयारी गरिएको स्रोतले जनाएको छ ।
वल्र्डभिजन नामक आइएनजीओमा जुन २०११ बाट जागिर सुरु गरेको खाती अहिले सोही संस्थामा निर्देशक (पब्लिक इन्गेजमेन्ट) मा कार्यरत छन् । विगत ९ वर्षदेखि आइएनजीओमा कार्यरत व्यक्तिलाई सदस्य सचिव जस्तो जिम्मेवार पदमा नियुक्त गर्न लागिएकोले आर्थिक चलखेल भएको हुनसक्ने समाज कल्याणका कर्मचारीहरु नै बताउँछन् ।
खाती अक्टुबर २०१८ देखि हालसम्म निर्देशक (पब्लिक इन्गेजमेन्ट) पदमा कार्यरत छन् । त्यसअघि उनी अक्टुबर २०१६ देखि सेप्टेम्बर २०१८ सम्म सोही संस्थामा एसोसिएट डाइरेक्टर पदमा काम गरेका थिए । सन् २०११ जुनबाट क्याम्पियन स्पेशलिस्ट पदबाट वल्र्ड भिजनमा जागिर सुरु गरेका खाती डीएनएफ, प्लान नेपाललगायतका गैरसरकारी संस्थामा काम गरेका थिए ।
क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै आएको यस गैरसरकारी संस्थाले कर्मचारी छनौटमा समेत क्रिश्चियनहरुलाई मात्र राख्ने गरेको जनाइन्छ । समाज कल्याण परिषद्को नियम कानुनको नै धज्जी उडाउँदै आएको संस्था हो, खाती कार्यरत आईएनजीओ ।
‘अस्तिसम्म गैर सरकारी संस्थाको फाईल बोकेर आउने व्यक्ति नै सदस्यसचिव भएर आए भने कसरी काम गर्न सकिएला र खै ?’ नाम उल्लेख नगर्ने शर्तमा समाज कल्याण कै एक कर्मचारी गुनासो पोख्छन् ।
लामोसमयसम्म गैरसरकारी संस्थामै कार्यरत व्यक्ति नै परिषद्को सदस्य सचिव जस्तो जिम्मेवार पदमा नियुक्त भएमा परिषद्ले कसको पक्षमा काम गर्ला त्यो भविष्यले नै देखाउला ।
तत्कालिन सदस्यसचिव भट्टलाई चार वर्षका लागि सदस्यसचिवमा मनोनित गरिए पनि तत्कालिन मन्त्री थममाया थापाको ठाडो आदेशमा २ वर्षमै समाज कल्याण परिषद्मा भएको अनियमितताबारे छानबिनका लागि भन्दै पदमुक्त गरिएको थियो ।
त्यसअघि २०७३ सालमा तत्कालिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले समाजकल्याण परिषद्को उपाध्यक्षमा नीलमणि बराल, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रकुमार झा, सदस्यमा गोकर्णप्रसाद भट्ट र सदस्यसचिवमा डिल्लीप्रसाद भट्टलाई नियुक्त गरेका थिए । ती सबैलाई मन्त्री थापाको ठाडो आदेशमा एकै दिन पदमुक्त गरिएको थियो ।