वीर अस्पतालको ठेक्कामा डा.जागेश्वरको ‘लुट’ : ठेकेदार नै ‘पार्टनर’ भएको प्रमाण भेटियो

diyopost.com
दियो पोस्ट  शनिबार, आषाढ १९, २०७८ | ११:५२:०१

काठमाडौं, १९ असार । कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालको भेन्टिलेटर खरिदको ठेक्का हात पार्ने विवादास्पद कम्पनि म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्सका मालिकसँग वीरकै प्रमुख प्रशासकीय अधिकारीको साझेदारी देखिएको छ ।


अस्पतालका प्रमुख कार्यकारी प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम म्याक्सिमका मालिक सुन्दर भुषालबीच विभिन्न कम्पनिमा साझेदारी देखिएको हो । डा. गौतमले मापदण्ड समेत नपुगेको म्याक्सिमलाई एकै दिन १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका छन् । ठेक्काको स्विकृत भएको सुचना आज शनिबारकै कान्तिपुर दैनिकमा छापिएको छ ।


ठेक्का स्विकृतको सुचनामा पनि उनले ‘प्रमुख कार्यकारी स्तरिय’ निर्णय भन्दै म्याक्सिमलाई दिएको उल्लेख छ ।

गत असार ११ गते वीर अस्पतालले १५ करोड बराबरको ठेक्का आह्वान गरेको थियो । भेन्टिलेटर, एक्सरे मेसिन, युएसजी मेसिन लगायतको सामग्री खरिदको ठेक्का प्रकाशन गरेको थियो ।


वीर अस्पतालको मोनिटर खरिदमा यसअघि नै विवादमा मुछिएको म्याक्सिम उपप्रधनमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको अदृष्य लगानी रहेको स्रोत बताउँछ । यो कम्पनिका देखिने मालिक सुन्दर भुषालसँग वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको विभिन्न अन्य कम्पनीमा साझेदारी छ । आफ्नै साझेदारलाई गौतमले ठेक्का दिएबापत चरम भ्रष्टाचार गरेको स्रोतको दाबी छ ।

यसअघि वीर अस्पतालले म्याक्सिमलाई सेटिङमा ठेक्का दिन लागेको भन्दै दियोपोस्ट लगायत सञ्चार माध्यममा खबर आएपछि वीर अस्पतालको तत्कालिन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । तर, कोभिड १९ नियन्त्रण सम्बन्धी सरकारले अध्यादेश जारी गरेरै डा. गौतमलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको थियो ।

उनको नियुक्तीसँगै ५ अर्ब बरारको ठेक्का हत्याउन आफ्नै कम्पनि समलग्न गराउने खेल शुरु भएको थियो । डा. गौतमले म्याक्सिमलाई ठेक्का दिलाउन म्याक्सिममै कार्यरत बायो मेडिकल इन्जिनियर भावना बराललाई वीर अस्पतालमा नियुक्ती दिएर खेल शुरु गरेका थिए । भावनाले म्याक्सिमलाई नै ठेक्का दिने गरि स्पेसिफिकेशन गरेको स्रोतको दाबी छ ।


डा. गौतमले खरिद ईकाइ प्रमुख भगवती थपलिया र श्याम विक लगायतलाई हातमा लिएर खरिद ठेक्का आफ्नो मान्छेलाई दिलाएको स्रोतले बताएको छ । स्रोतका अनुसार बोलपत्रमा तीन वर्षको अनुभव माग गरिएको छ । तर, म्याक्सिम २ वर्ष मात्रै अनुभव छ । अनुभवै नभएको कम्पनिलाई ठेक्का दिएर गौतमले चरम भ्रष्टाचार गरेको वीर अस्पतालका कर्मचारी बताउँछन् ।


चितवन मेडिकल कलेजको अध्यक्षको किर्ते हस्ताक्षर गरेर करोडौं सम्पत्ति हत्याएका डा. गौतमले किर्ते अभियोगमा अदालतले सजाय ठहर गरेका पात्र हुन् । उनलाई स्वास्थ्य मन्त्रालयले दुई तह घटुवा गरेर कारबाही समेत गरेको थियो ।

तत्कालिन उपप्रधान मन्त्री तथा सिसिएमसीका अध्यक्ष ईश्वर पोखरेलको योजनामा वीर अस्पतालमा नियुक्त भएर आएका गौतमले वीर अस्पतालको ५ अर्बको ठेक्का सेटिङमै हत्याउन शुरु गरेका छन् । यसैको पहिलो कडी भेन्टिलेटर खरिद प्रकरण हो ।


डा. गौतमको सीएमसी १७६४२८ कित्ता, मौलाकालिका अस्पतालमा २३४०० कित्ता, अमेजन इन्भेष्टमेन्टमा ८५००० कित्ता, ग्यालेक्सीमा इन्भेष्टमेन्टमा ९९००० कित्ता, क्यानभास एजुकेसन फाउण्डेसनमा ३०००० कित्ता, र नारायणी आक्सिजनमा १२०००० कित्ता शेयर रहेको पुष्टि भएको छ ।


डा. गौतमले नियुक्त गरेका बायोमेडिकल इन्जिनियर भावना बराल शिक्षण अस्पतालमा विवादास्पद गतिविधि गरेपछि निकालिएकी पात्र हुन् । बराललाई स्वास्थ्य सचिवकै सिफारीसमा नियुक्ति दिएर ठेक्को सेटिङमा प्रयोग गरिएको हो । यद्यपी बरालसँग डा. गौतमको पनि नजिकको सम्बन्ध रहेको वीर खरिद एकाईकै एक कर्मचारी बताउँछन् ।

बरालमाथि कार्यलय समयमै म्याक्सिमको अफिस बालुवाटारमा बसेर वीर अस्पताल खरिद प्रमुख थपलियासँग मिलेर डा. गौतम र स्वास्थ्य सचिवको सेटिङ भएको कम्पनीलाई टेण्डर हुनेगरी स्पेक बनाउने गरेको आरोप छ । वीरका कर्मचारीहरुले म्याक्सिममा डा. गौतमको आफ्नै लगानी रहेको बताए ।

तर, प्रमाणमा भने म्याक्सिममा ब्यापारिक पार्टनर उनकै जिल्लाबासी सुन्दर भुषालको नाममा दर्ता छ । भुषाल र गौतमबीच विभिन्न अन्य कम्पनिमा साझेदार छन् ।


म्याक्सिमका मालिक सुन्दर भुषाल अध्यक्ष रहेको क्यानभाष कलेजको शयर खरिद विक्रीमा समेत गौतम मुछिएका छन् । कम्पनि रजिष्टरको कार्यालयको रेकर्ड अनुसार गौतमले २०७७ फागुन १५ गते सुन्दर भुषाललाई ३ हजार कित्ता शेयर विक्री गरेको देखिन्छ ।

त्यस्तै ग्यालेक्सी ईन्भेष्टमेन्ट कम्पनिमा गौतम र भुषाल साझेदार छन् । उक्त कम्पनिमा भुषालको ८४ हजार थान शेयर देखिन्छ भने गौतमको ९९ हजार थान अर्थात ३३ प्रतिशत शेयर देखिएको छ ।

सम्बन्धित खबर