दियोपोस्ट प्रभाव : होटल तोडफोड गर्ने युवा संघका अध्यक्ष कमल सिलवालले तिरे क्षतिपूर्ति !

दियो पोस्ट  

धादिङ । केहीदिन पृथ्वीराज मार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मा रहेको एक होटल तोडफोड गरेका नेकपा एमाले भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष कमल सिलवालले क्षतिपूर्ति तिरेका छन् । आफ्नो गल्ती स्विकार गर्दै उनले क्षतिपूर्ति तिरेका हुन् ।

गत शुक्रबार राती आफ्नो समुहसहित पुगेका उनले शितलबजारस्थित इन्द्रेणी होटल तथा लोकल भान्साघर तोडफोड गरि होटल संचालकलाई ज्यानमार्ने धम्की दिएका थिए । होटल संचालक सौरभ त्रिपाठीले त्यतिबेला लेखेको स्ट्याटसलाई आधार बनाएर दियोपोस्टले समाचार बनाएको थियो । समाचार प्रकाशन भएपछि सिलवालले समाचार हटाउन दबाव दिएका थिए । उनको दबाव अनुसार समाचार हटाउन नमिल्ने तर खण्डन गर्न आग्रह गरिएको थियो । तर, समाचार नहटाएपछि आक्रोशित बनेका सिलवालले सामाजिक संजालमा ‘दियोपोस्टलाई आर्थिक सहयोग गर्न नसकेपछि समाचार लेखेको’ भन्ने आसयको स्ट्याटस लेखेका थिए ।

तर, सामाजिक सञ्जालमा गलत आरोप लगाएका सिलवालले उता पीडित सौरभ श्रेष्ठ समक्ष भने गल्ती स्विकार गर्दै क्षतिपूर्ति तिरेका छन् । उनले त्रिपाठीलाई क्षतिपूर्ति बापत ३५ हजार रुपैयाँ तिरेका छन् । ‘मैले क्षतिपूर्ति बापत ३५ हजार रुपैयाँ उहाँहरुकै मुल्यांकनमा पाएको छु,’ त्रिपाठीले भने,‘होला हामी दाजुभाई एउटै धारो पँधेरो यतिसम्म नगरेको भए हुन्थ्यो तर यतिसम्म नगरेको भए मैले न्याय पाउँदैन थिएँ । कमल सिलवालको हातबाट केही भएको छैन् । तर, ती सबैलाई लिएर आउने र भगाउने उहाँ नै हुनुहुन्छ । दियोपोस्टले मलाई केही न्याय दिने प्रयास गरेको हो । उहाँहरु के हो म केही चिन्दिनँ जान्दिनँ तर त्यसको लागि मेरो तर्फबाट सेलुट गर्छु ।’