जब एआइजी पोखरेलले सर्वोच्चकै ‘चार न्यायाधीश’को कल डिटेल्स निकालेर चोलेन्द्रलाई बुझाए !

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतका न्यायधीशहरुको कल डिटेल्स निकालेको खुलाशा भएको छ ।

सर्वोच्च अदालत भित्र प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध आन्दोलन चर्किएपछि उक्त आन्दोलनमा न्यायधीशको दैनिक गतिविधिको रिपोर्ट ल्याउन जबराले प्रहरी प्रधान कार्यालयमा कार्यरत एआइजी विश्वराज पोखरेलको सहारा लिएको उच्च स्रोतले जनाएको छ ।

पोखरेलले हाल कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, सपना प्रधान मल्ल लगायत न्यायाधीशरुको कल डिटेल्स लिएर जबरालाई दिएको विषय अहिले चर्चामा रहेको छ ।

तत्कालिन केपी ओली सरकारको भरपुर प्रयोग गरेर एआइजीसम्म बढुवा भएका पोखरेल आफू पदमा पुग्न जस्तो सुकै हर्कत गर्ने व्यक्ति हुन् । हाल आइजपी रहेका धिरज प्रताप सिंहसँगै भर्ना भएका उनी एसपीसम्म सँगै थिए । तर, एसएसपीको बढुवामा भने उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका आसेपासेको चाकडी गरेर एक नम्बरमा बढुवा हुन सफल भएका थिए । किर्ते र मिटर ब्याजमा मुछिएका तत्कालिन डिआइजी तथा हाल नेकपा एमालेका सांसद नवराज सिलवाललाई पक्राउ गर्ने प्रयोजनकै लागि उनलाई तत्कालिन सरकारले काठमाडौं जिल्ला प्रहरी प्रमुख एसएसपीको रुपमा सरुवा गरेर ल्याएको थियो । तर, राजनीतिक समिकरण बदलिने वित्तिकै उनी एमालेका नेताहरुको चाकडीमा लागे । तत्कालिन उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पदीय आचरण विपरित हस्तक्षेप गरेर उनलाई डिआइजीमा बढुवा गरिदिएका थिए । जबकी उनीभन्दा सिनियर एसएसपीहरु १० जनाभन्दा बढी थिए ।

तत्कालिन डिआइजी सुशिल भण्डारीको निधन भएको स्थानमा उनको बढुवा भएको थियो । डिआइजीमा बढुवा भएका उनले त्यसपछि पछाडी फर्किएर हेर्नु परेन । उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलले गृहमन्त्रीलाई समेत थाहा नदिई उनलाई बढुवा गर्न एआइजी पदस्थापनाको दरबन्दी थप गरिदिए । त्यसपछि उनलाई तत्कालिन ओली सरकारले एआइजीमा एकल बढुवा गरिदियो । जबकी संसदको राज्य व्यवस्था समितिले एआइजी बढुवा रोक्न निर्देशन दिएको थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानी पोखरी र प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध विभागमा लामो समय रजगज गरेका पोखरेललाई तत्कालिन ओली सरकारले संसद विघटन गरेपछि घोषणा गरेको चुनावको कमाण्डर समेत बनाएको थियो । तर, २ पटकको संसद विघटन अवैध घोषणा सहित गत वर्ष असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने परमादेश दिएको थियो । सोही परमादेश पछि सत्ता परिवर्तनमा पोखरेल फेरी कांग्रेस नेताहरु मार्फत देउवाको किचनसम्म पुग्ने कोशिसमा लागेका थिए ।

ओखलढुंगाका कांग्रेस नेता रामहरी खतिवडा मार्फत देउवामाथि दबाव दिएका थिए । त्यतिमात्रै होइन उनले भारतीय जनता पार्टीका नेता मार्फत समेत प्रधानमन्त्री देउवा समक्ष आफूलाई आइजीपी बनाउन दबाव दिलाएका थिए । दबाव दिलाउनकै लागि पोखरेल गत पुसमा भारत भ्रमणमा समेत गएका थिए । तर, सरकारले भने गत वैशाख १८ गते प्रहरी महानिरिक्षकमा उनकै ब्याची एआइजी धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरिसकेको छ । उनै धिरज प्रतापलाई नियुक्ती गरेको प्रति असन्तुष्टि जनाउँदै पोखरेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्चमा पटक पटक पेशी सरिरहनुमा उनले अदालतकै न्यायाधीशको कल डिटेल्स शंकाष्पद रुपमा झिकेर चोलेन्द्रसम्म पुर्याएको खबरले समेत काम गरेको उच्च स्रोतले जनाएको छ ।