कतार प्रहरीको नाममा फेरी ठगीधन्दा शुरु : प्रति व्यक्ति १५ लाखसम्म असुली !

दियो पोस्ट  

काठमाडौं । कतार प्रहरीमा जागिर लगाइदिने भन्दै गत वर्ष अल ताक्वेत ओभरसिज नामक म्यानपावर कम्पनिले प्रतिव्यक्ति ७ लाख रुपैयाँ ठगी गरेको थियो । तर, अन्तिममा उक्त ठगीको पोल खुलेपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो ।

तरm अल ताक्वेत नामक म्यानपावर कम्पनिले फेरी नेपाली युवालाई कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै प्रति व्यक्ति १५ लाख रुपैयाँसम्म लिएको खुलाशा भएको छ । ती युवासँग पैसा लिएपछि उक्त कम्पनिले केहीदिनपछि राजधानीको तारागाउँस्थित ह्यात होटलमा अन्तर्वार्ताको मिति तोकेको छ । कम्पनिले गैरकानुनी रुपमा आयोजना गरेको अन्तर्वार्तामा आउने युवाहरुले १५ लाख रुपैयाँसम्म बुझाएको स्रोतले जनाएको छ । यसरी युवाहरुबाट उठाइएको लाखौँ रुपैयाँ श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसम्म पुगेको स्रोतको दाबी छ । स्रोतका अनुसार मन्त्री कुँवरको भागमा प्रति व्यक्ति ५ लाख रुपैयाँ बुझाउने गरि दलालहरुले सेटिङ मिलाएका छन् । यो कम्पनिले केहीदिन अघि एक दैनिक पत्रिकामा म्यानपावरको डेमान्ड लेटर छपाएको थियो । तर, उक्त डेमान्ड आएको भनिएको मितिमा उक्त पत्रिकामा विज्ञापन समेत भेटिएको छै्रन । स्रोतका अनुसार उक्त विज्ञापन समेत सेटिङमा नै प्रकाशन गरिएको थियो । बजारमा पत्रिका नदेखिनेगरि दलालहरुले नै सबै पत्रिका कब्जामा लिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार आगामी अगस्ट १६, १७ र १८ गते हयात होटलमा अन्तर्वार्ता राखेका छन् । जबकी कतार प्रहरीमा गत वर्ष माग भएको २ सय जनाको माग रद्द भईसकेको छ । कतारस्थित नेपाली दूतावासले गत वर्ष नै उक्त माग अनुसार कतारले अन्य मुलुकबाट नै कामदार भित्र्याइसकेकाले रद्द भएको जानकारी वैदेशिक रोजगार विभागलाई दिएको थियो । त्यतिबेला पनि यही कम्पनिले युवाहरुबात प्रति व्यक्ति ७ लाखसम्म उठाएको थिया । जबकी कतार जानका लागि जम्मा १० हजार रुपैयाँ तिरे पुग्छ । यस वर्ष भने गतवर्ष भन्दा दोब्बर रकम उठाइएको छ । २ सय युवाबाट ३० करोड रुपैयाँ उठाउन ठूला माफियाहरु समेत समलग्न भएको आरोप छ ।

अल ताक्वेत म्यानपावरका संचालक मनिराम श्रेष्ठ हुन् । यही समुहले शिखर म्यानपावर पनि संचालन गरेको छ । शिखर म्यानपवार पटक पटक नेपाली युवामाथि ठगी गर्दै आएको अभियोगमा कारबाही परेको कम्पनि हो ।