सुन र मानव तस्करी धन्दामा ‘वाम राजकुमार’ : जेलमा सन्दिप, फरार प्रतिक, छानबीनमा दिपेश र राहुल !
खुमा वली सोमबार, साउन २२, २०८० | १७:५५:१०
काठमाडौं । हिजो राजाको छोरा राजा हुने व्यवस्था विरुद्ध १० वर्षे जनयुद्धमा होमिएको माओवादी केन्द्र आज सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । हिजो राजाको छोरालाई युवराज भनिन्थ्यो । आज त्यही माओवादी नेताका छोरीमाथि युवराज युराज्ञीको आरोप लाग्न थालेको छ । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका पुत्र दिपेश पुनलाई कतिपयले युवराज भनेर व्यङ्ग्य गर्थे । कतिपयले नेताका छोराहरुको सान र धन्दा देखेर ‘वाम राजकुमार’को संज्ञा समेत दिने गरेका छन् । उनै माओवादी नेताका छोराहरु शान्तिप्रक्रियामा आएपछि बाबु आमाले राजनीतिक संस्कार दिन नसक्दा विभिन्न धन्दा र अपराधमा मुछिने गरेका छन् ।
सत्ता मोहसँगै नेताहरु नातावाद र परिवारवादमा पनि फसे । आफू सार्वजनिक पद अथवा मन्त्री पद पाउनु लगत्तै भए सन्तान नभए आफ्न्तलाई “पिए” राख्ने नेपाली राजनीतिमा एक चलन जस्तै बनेको छ । आफन्त वा सन्तानलाई पिएमा राखेर अपराधिक गतिविधिमा लगाउने र करोडौं रकम असुल्लेसम्मका घटनाहरु सार्वजनिक भएकै छन् ।
त्यही परिवारवाद नातावादविरुद्ध लडेको माओवादी नेताका पारिवारिक सदस्यहरु खासगरि छोराहरु पछिल्लो समय धमाधम पक्राउ पर्ने र जेल जाने भइरहेको छ । उनीहरु अपराधिक घटनामा संलग्न भएको पछिल्लो केही घटनाहरुले प्रष्ट पारेका छन् । नक्कली भुटानी शरणार्थी (मानव तस्करी) प्रकरणमा पूर्वमाओवादी नेतासहित उनीहरुका पुत्रहरुको समेत संलग्नता देखिएको छ । उक्त प्रकरणमा नेता टोपबहादुर रायमाझीसहित छोरा सन्दीप रायमाझी अहिले थुनामै छन्, भने पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापा फरार सूचीमा छन् । यो प्रकरणमा पूर्वमाओवादी बादलको नाम जोडिए पनि उनीमाथि अहिलेसम्म कुनै अनुसन्धान भने भएको छैन । केही वर्ष अघि बलात्कार मुद्दामा जेलसमेत बसेका पूर्व सभामुख एवं माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारा पनि ९ किलो सुन तस्करीमा संलग्न भएको आरोप छ । उक्त प्रकरणमा उनीसँगै छोरा राहुल महराको समेत हात रहेको खुलेको छ ।
शरणार्थी प्रकरणः छोरा सन्दीपसहित टोपबहादुर थुनामा
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अनागरिक बनाई मानव तस्करी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले थुनामा छन् । उनीसँगै उक्त प्रकरणमा संलग्न रहेका उनका छोरा सन्दीप रायमाझी पनि थुनामा छन् । कुनै समय सर्वहारा सांस्कृतिक क्रान्तिको नाममा युद्ध गरेका रायमाझी तत्कालिन माओवादीका प्रमुख नेता मध्येका एक हुन् । माओवादी केन्द्र छाडेर एमालेतिर गएका उनी नक्कली भूटानी शरणर्थी बनाएर नागरिकलाई अनागरिक बनाउँदै अमेरिका पठाउने अवैध धन्दाको योजनाकार बने । उनकै योजनामा नेपाली युवाहरुले २४ करोड रुपैयाँ भन्दा बढी रकम दलालहरुको गिरोहलाई बाँढ्दै बालुवाटारसम्म पुर्याएको रहस्यको पर्दा खुल्दैछ । उनै रायमाझीको छोरा समेत यो अपराधमा संलग्न भएको अभियोगमा थुनामा छन् ।
प्रहरीले गत वैशाख २० गते तत्कालीन गृहसचिव भई हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहित पूर्व ऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियो । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक र उनीहरुबीचको संवादलाई आधार मानेर सरकारी वकिलले उनीहरुलाई सजाय हुनुपर्ने जिकिर गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाण, रायमाझी लगायतका प्रतिवादीहरु केही दिन अघि मात्रै जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै उच्च अदालत पुगेका थिए ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझी ।
फरार सूचीमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक
पूर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापा प्रहरीले पक्राउ पुर्जी जारी लगत्तै अझै फरार छन् । उसो त थापा परिवारमाथि नै आशंका गरिएको थियो । तर उनीहरुमाथि कुनै अनुसन्धान हुन सकेन । भुटानी शरणर्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै बादल गृहमन्त्री हुँदा ३० जेठ २०७६ मा पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ‘भुटानी शरणर्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ बुझाएको थियो । उक्त सक्कली प्रतिवेदन गायब बनाएर नेपाली नागरिकलाई शरणर्थी बनाएर अमेरिका लैजान्छु भनेर रकम असूली गर्ने गिरोहले कीर्ते गरेको प्रतिवेदन मन्त्रालयमा राखेको भेटिएको थियो । नेकपा विभाजनपछि एमालेतिर गएका बादल त्यस यता गुमनाम जस्तै छन् । उनीमाथि अनुसन्धान हुने हल्ला भएपनि प्रहरी त्यहाँसम्म पुग्न सकेको छैन । छोरा प्रतिक भने प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै फरार छन् ।
पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका पुत्र प्रतिक थापा ।
९ किलो सुन तस्करीमा महराका बाबुछोरा !
पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन तस्करीमा जोडिए पनि उनीहरु माथि कुनै अनुसन्धान अघि बढेको छैन । आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ । गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
नेता महराका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै लिलामको प्रक्रियाबारे बुझेको प्रहरी अनुसन्धानबाट खुलेको हो। यसरी चिनियाँ नागरिक ली हानसोङले भेप भनी तस्करी गरी ल्याएको सुन छुटाउन नेता महराका छोरा राहुलले चासो दिएकामा प्रहरीले उनीहरूको ‘कनेक्सन’ खोजेको छ । लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व सभामुख कृष्णबहादुर महरा र उनका पुत्र राहुल महरा ।
पूर्व उपराष्ट्रपति पुत्रमाथि किन हुँदैन छानबीन !
दिपेश पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा साथै माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव हुन् । पटक पटक विवादमा आइरहने पात्र हुन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७५ लाख रुपैयाँ घुस लिएको घटनामा पुन विवादमा मुछिएका थिए । अहिले उनी सुन प्रकरणमा मुछिएका छन् । ललितपुरको टीकाभैरव, लेलेमा वन जंगल र खोला दोहन गरी ढुंगा र बालुवाका क्रसर सञ्चालन गर्दै आएका दिपेश विवादमा आइरहन्छन् । मलेसिया जाने नेपाली कामदारको भिसा, पासपोर्टको काम गर्ने भीएलएनदेखि स्वास्थ्य परीक्षण गर्ने बायोमेट्रिक भेण्डरको परिवर्तनको खेलमा लागेको भनी चर्चामा आइरहने उनी छानबीनको राडारमा कहिल्यै परेका छैनन् । अहिले चर्चामा रहेको सय किलो सुन प्रकरणमा पक्राउ परेका दावासँग सामुहिक फोटोका कारण उक्त प्रकरणमा उनको पनि संलग्नता छ भन्ने आरोप छ ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र उनका पुत्र दिपेश पुन ।
०००
उसो त राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ मा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणको राजनीतिक ‘कनेक्सन’ तिर अनुसन्धान थालिएको छ । ठमेलबाट पक्राउ परेका दावा चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने ‘एजेन्ट’ हुन्, उनको ‘कनेक्सन’ नेकपा (माओवादी केन्द्र)का केही नेताहरूसँग देखिन्छ ।
यता गृहमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान चलाईरहेका बेला पार्टीभित्रकै नेताहरु माथि लागेका दागलाई उनले कसरी मेटाउछन् या कारबाहीको दायारामा ल्याउछन् हेर्ने बाँकी छ ।
पार्टीकै नेता भए पनि दोषी भए कारबाही गरिने गृहमन्त्री नारायण काजी श्रेष्ठको भनाई छ । “निर्दोष नफसुन् दोषी नउम्किउन भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ ।” गृहमन्त्री श्रेष्ठले भने, “ यस्तोमा जोसुकै होस चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ ।”
०००
माओवादी नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरसँग गरेको संक्षिप्त कुराकानी ।
माओवादी आन्दाेलनलाई नजिकबाट कसरी नियाल्नु भएको छ ?
माओवादी आन्दालनले बाटो बिराइसकेको छ । जुन दुःखद कुरा हो । अहिले बाहिरिएका घटनाहरु पनि आन्दोलनले बाटो विराएरै यस्ता विचलनहरु आएका हुन् । माओवादी आन्दोलनको बाटो यो हो जस्तो लाग्दैन मलाई । आन्दोलन संशोधनवाद र संसदवादको बाटोबाट हिड्यो ।
पछिल्लो समय सार्वजनिक भएका अपराधिक घटनाहरुमा माओवादी नेताको पनि नाम जोडिन थालेको छ नि ! यसमा तापाईको भनाई के छ ?
भ्रष्टाचार, तस्करी, घुसखोरी जस्ता घटनाहरु संलग्न जो कसैलाई नछोड्ने गरी सरकारले कारबाही अघि बढाए हुने हो । तर मलाई पछिल्लो समय के लाग्दै छ भने यो मिडिया स्टन्टबाजीमा मात्रै रुमलिने हो कि भन्ने लागिरहेको छ ।
यस्ता घटनामा आफूसहित उनीहरुका छोराको पनि संलग्नता देखिएको छ, यस्तो हुनुको कारण के हो ?
माओवादी नेतृत्वले आफ्ना सन्तान साथै आफन्तहरुलाई श्रम उत्पादन, संगठन निर्माण, असल खालको आचरण संस्कारमा हुर्काउने कुराको कमि रहेछ भन्ने कुराको अनुभूति अहिले बाहिर आइरहेका केही घटनाले गराएको छ । यो सारै दुःखद कुरा हो । यसले जनतामा राम्रो म्यासेज जाँदैन ।
आफूले सार्वजनिक पद ग्रहण गरेसँगै पिएदेखि विभिन्न सार्वजनिक पदमा परिवारकै सदस्य राख्ने नेपाली राजनीतिमा एक चलन जस्तै छ । यस्तो किन होला?
आन्दोलनका क्रममा, पार्टीमा, संघर्षमा परिवारका मान्छेको भूमिका थियो होला । तर परिवारकै सदस्य राख्नु भन्दा पनि पार्टीका क्षमतावन कार्यकर्ता, नेतालाई आफ्नो एउटा टिमको रुपमा राखेर काम गर्दा राम्रो हुने हो ।