भ्रमपूर्ण समाचार लेखेको भन्दै पूर्व महानिरिक्षक सिंहद्वारा काउन्सिलमा उजुरी

दियो पोस्ट  

काठमाडौँ । भ्रमपूर्ण समाचार लेखेको भन्दै नेपाल प्रहरीका पूर्व महानिरिक्षक धिरज प्रताप सिंहले एक अनलाइन विरुद्ध उजुरी दिएका छन् । काठमान्डुपाटी नामक अनलाइनले उनको चरित्र हत्या गरेको भन्दै सिंहले उजुरी दिएका हुन् । रोशन बहादुर खड्का सम्पादक रहेको उक्त अनलाइन विरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।

काठमाडौँपाटी अनलाइनमा गत साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै उक्त समाचार भ्रमपूर्ण रहेको र समाचारबाट आफ्नो प्रतिष्ठा र सम्मानमा आँच पुराएको भन्दै कारवाहीका लागि सिंहले माग गरेका छन् ।

‘काठमाडौँपाटी अनलाइनले राजश्व अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएका सुनसँग सम्बन्धित व्यक्तिसँग मलाई जोडेर समाचार प्रकाशित गरेकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा समेत भ्रमपूर्ण समाचार प्रकाशित गरी अन्यौल सिर्जना गरेकाले कानुनी कारवाहीका लागि मैले प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४७३ बाट उजुरी दर्ता गरेको छु । प्रेस काउन्सिलबाट यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गर्ने अनलाइन उपर कानुन बमोजिम कारबाही हुने कुरामा विश्वस्त छु,’ उनले भनेका छन् ।

उक्त अनलाइनले सुन तस्करीमा संलग्न रहेका भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्व आइजीपीहरु सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहसँग निरन्तर सम्पर्क भएको पाइएको उल्लेख गरेको छ । सिंहले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई ‘भाइ किन फोन उठाएको’ भन्दै बारम्बार म्यासेज पठाएको भन्दै म्यासेजको ब्यहोरासमेत उल्लेख गरी समाचार प्रकाशन गरेको थियो ।