प्रधानमन्त्रीका नक्कली ‘प्रेस सल्लाहकार’को मिटरब्याज आतंक : पीडितद्वारा आत्महत्या प्रयास !

दियो पोस्ट  

काठमाडौं । उच्च तहका नेतासँग तस्विर खिचाउने र त्यही तस्विरलाई देखाएर ठगी गर्ने धन्दा नै छ नेपालमा । नेपाली समाजमा दलालहरुले राष्ट्रपति, प्रधानमन्त्री, र मन्त्री मात्रै होइन विभिन्न दलका नेताहरुसँगको तस्विरका आधारमा ठगी गरिरहेका छन् । अचम्म लाग्दो के छ भने यस्ता धन्दा गर्नेहरुलाई सत्ता र राजनीतिक दलका नेताहरुकै संरक्षण हुन थालेको छ । नक्कली भूटानी शरणार्थी प्रकरण होस् वा ६० किलो सुन काण्ड होस् यी सबै काण्डहरुमा राजनीतिक नेक्सस देखिन्छ । त्यसैले यस्ता काण्डहरु टुङ्गोमा पुग्नुको सट्टा गिजोलिन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि ठूला कदम चाले जस्तो देखिन्छ । यतिबेला ठूलठूला काण्डहरु सार्वजनिक हुनुमा प्रधानमन्त्री प्रचण्डकै ईच्छाशक्ती हो भन्दा अतियुक्ती नहोला । तर, उनै प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेको बताउने एक व्यक्तिले काठमाडौंको कपन बस्ने एक व्यक्तिलाई मृत्युको मुखमा पुर्याएका छन् । आफूलाई प्रचण्डको प्रेस सल्लाहकार बताउने श्री बल्लब नेपाल नाम गरेका व्यक्तिले ‘मिटरब्याज’ लगाएर घर जग्गा नै खाइदिने षडयन्त्र रचेपछि एनआइसी एशिया बैंकका खुमलटारस्थित निवर्तमान शाखा प्रमुख अविनाश कर्णले केहीदिन अघि आत्महत्या प्रयास गरे ।

आफूलाई पत्रकार समेत बताउने नेपालका कारण आफूले विष सेवन गरेको अविनाशले दियोपोस्ट डटकमलाई बताएका छन् । कर्णले विभिन्न निकायमा दिएको उजुरी अनुसार सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भएका नेपाल मध्यपुर ठिमी नगरपालिका बालकोट बस्छन् । उनी आजभन्दा ८ महिना अघि ऋण रकम लिनका लागि एनआइसी एशियाको खुमलटार शाखामा पुगेका थिए । गन्तव्य यातयात, गन्तव्य ईन्भेष्टमेन्ट लगायत कम्पनिको मालिक रहेको बताउने श्रीबल्लबलाई बैंकले उनको घर नै धितो राखेर ९५ लाख रुपैयाँ ऋण उपलब्ध गराएको थियो ।

‘उहाँको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकार हुँ भन्नु भएको थियो । उहाँले बैंकसँग रिलेटेड काम भए भन्नुस् हाम्रो पनि ईन्भेष्टमेन्ट कम्पनि छ भन्नु भयो,’ कर्णले दियोपोस्टसँग भने,‘उहाँको गन्तव्य ईन्भेष्टमेन्ट कम्पनि रहेछ । त्यस मार्फत उहाँले हर्बोको काम गर्नुहुँदो रहेछ । अहिले नाम सुन्दा उहाँ २०६२ सालमा हर्बो नामक नेटवर्किङ व्यावसायमा पनि फसेको मान्छे रहेछ । जेल पनि पर्नु भएको मान्छे भन्ने सुन्नमा आयो । पैसा खाएर भाग्नु भएको भन्ने पनि सुनेँ । यो मैले पछि सुनेको हो । म यतिबेला भागेर हिँडेको छु ।’

 

कर्णका अनुसार उनीहरुको भेटघाट बढ्न थाल्यो । रोक्का फुकुवा लगायत ब्यालेन्स देखाउने काममा सहकार्यको प्रस्ताव उनै श्रीबल्लबले गरे ।

‘पहिले ऋण खानेबेला सबैको ठीक हुन्छ । त्यस्तै शिलशिलामा एक डेढ करोड कसैलाई चाहिएको काम आयो । त्यो कामको विषयमा मैले उहाँसँग फोन गरेँ । ए भइहाल्छ नी हामीसँग समुह नै छ । हामी त्यो काम गर्न तयार छौँ भनेर उहाँले भन्नु भयो,’ उनले भने,‘भेट्दा उहाँले तपाईं बैंकको स्टाफको चेक मात्रै देखाइदिए पनि ईन्भेष्टरहरुले पैसा दिइहाल्छ । एक दुई दिनका लागि भनेर विश्वास गरेर उहाँलाई मैले चेक दिएँ । उहाँले एक करोड मिलाइदिन्छु भनेर म बाट २ करोड ३२ लाख रुपैयाँको चेक कटाउनु भयो ।’

नेपालले उनीबाट ४÷५ वटा विभिन्न नामको कम्पनिको चेक लिएको कर्णको दाबी छ ।

‘यही असारको अन्तिममा उहाँले मबाट चेक लिनु भयो । तर, मसँग सम्पर्कमा बस्नु भएन । उहाँले पैसा दिन आउनु भएन । एक्कासी एनआइसी एशिया बैंकबाट चेक आएको छ भन्दै फोन आयो । म तर्सिएँ । उहाँ चेक बाउन्समा जानु भएछ । मैले उहाँलाई फोन गरेँ । म तपाईंसँग बेलुका साँझमा फोन गर्छु भन्दै फोन काटिदिए । त्यसपछि मैले बैंकको स्टाफलाई त्यो चेक फिर्ता गर्न अनुरोध गरेँ,’ उनले भने,‘मलाई फेरी फोन आयो । चेक दोस्रो बाउन्सका लागि । म सहन नसक्ने स्थितिमा पुगेँ ।’

कर्णका अनुसार नेपालले उनलाई कुनै समय ४५ लाख रुपैयाँ चलाउनका लागि दिएका थिए । त्यसमध्ये १५ लाख रुपैयाँ तिरिसकेका थिए । बाँकी रहेको ३० लाख रुपैयाँको ८ महिनाको ब्याज जोडेर २ करोड ३२ लाख पुर्याएका रहेछन् ।
‘त्यही ४५ लाख मध्ये ३० लाखको प्रति एक लाखको ब्याज ५ हजार रुपैयाँका दरले हिसाब निकाल्नु भएछ । उहाँले एघार करोड रुपैयाँ तिर्नुपर्ने हिसाब निकाल्नुभएको थियो । तपाईंलाई गाह्रो हुन्छ भने दिनको दुई प्रतिशत अर्थात एक लाखको २ हजारको दरले हिसाब गरेर २ करोड ३२ लाख रुपैयाँ भयो भनेर हिसाब सुनाउनु भएको रहेछ,’ कर्णले भने,‘म त छाँगाबाट खसे जस्तो भयो । म ट्रयापमा परेँ । त्यसपछि मैले गुहार मागेँ । म कार्यरत रहेको एनआइसी एशिया बैंकको केन्द्रीय कार्यालयमा पनि उहाँले आफ्नो दाबी मात्रै राखेर निवेदन दिनु भएछ । मलाई बैंकले कुनै स्पष्टिकरण समेत लिएन ।’

 

यही मानसिक तनावकै कारण कर्णले केहीदिन अघि मात्रै विष सेवन गरेको दाबी उनको छ । ‘असार अन्तिम साता मैले पोइजन खाएँ । मार्टबाट विष किनेर खाएँ । मलाई परिवारले नजिकै रहेको करुणा अस्पतालमा उपचार गराएर बचाउनु भयो । मेरो श्रीमति ८ महिनाको गर्भवति छिन् । उनलाई समेत डर त्रास दिइएको छ,’ कर्ण भावुक हुँदै भन्छन्,‘जबकी मेरी श्रीमतीको यो कारोबारसँग कुनै सरोकार छैन । घरमा आउने मेरो बा आमालाई थर्काउने काम भइरहेको छ । तैँले मलाई चिनेको छैनस् म प्रधानमन्त्रीको मान्छे हुँ । एआइजी डिआइजी सरुवा गर्ने मान्छे हुँ भनेर धम्की दिन्छन् । सिडिओ नी मैले नै ल्याएको हो भन्छन् । मैले सिडिओमा मिटरब्याजको निवेदन दिएको थिएँ । मलाई झन डर भयो । सिडिओ नै चलाउने मान्छे रहेछन् भनेपछि मलाई झनै डर भो । म कहाँ गुहारुँ ।’

कर्णका अनुसार श्रीबल्लबले प्रहरीमा उनी विरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका छन् । त्यही आधारमा उनी विरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । ‘मलाई विभिन्न बहानामा भेट्न बोलाउने र धम्की दिने काम भइरहेको छ । पहिले एउटा जिवन पाएँ । फेरी जाला जस्तो भएको छु । प्रहरीमा जाहेरी दिन जाउँ त्यही पक्रिएलान् । सिडिओमा जाउँ त्यो पनि उसकै मान्छे हो भन्छन् ।’

कर्णका अनुसार उनले दिनुपर्ने ३० लाख रुपैयाँ हो । त्यो पैसा आफू जतिबेला पनि दिन तयार रहेको उनी बताउँछन् । तर, दिनुपर्ने पैसा लिन श्री बल्लब तयार छैनन् । किनकी उनलाई लागेको छ मेरो घर खाने नियतले श्री बल्लबले प्रपञ्च रच्दैछन् ।

‘उहाँले दिनु भएको कुनै पनि प्रमाण छैन । कामको प्रपोजका लागि दिएको ३० लाखका कारण उल्टो मेरो घर पास गरिदेउ भन्छन् । त्यो ३० लाख पनि नाफा हुने उद्देश्यले उनले लगानी गरेका हुन्,’ उनी भन्छन्,‘म कति हर्जाना हो दिन तयार छु भनेर पटक पटक भन्दा पनि मेरो कुरा सुनुवाई नै हुँदैन । यसरी मेरो जिन्दगी बर्बाद नपारिदिनुस् भनेको छु । तर, मान्नु भएन । उल्टो मेरो बुवालाई आएर ल्याप्चे लगाउन दबाव दिनु भयो ।’
कर्णले केहीदिन अघि मात्रै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज तथा अनुचित लेनदेन मुद्दामा जाहेरी दिएका छन् । तर, उनलाई आफ्नो जाहेरीमा सुनुवाई हुने विश्वास छैन । ‘यो भन्दा मेरो विकल्प छैन । दर्ता हुने वित्तिकै उसलाई प्रहरीले बोलायो । फोन जाने वित्तिकै मलाई उसले उल्टो जाहेरी फिर्ता लिन धम्की दिइरहेको छ । त्यो जाहेरी फिर्ता लेउ सिडिओ मेरो मान्छे हो । सिडिओलाई हामीले यहाँ राखेको हो भन्नु हुन्छ । तिमी जहासुकै जाउ भन्छन् । प्रहरीमा जाउँ उसकै मान्छे भन्छन् । मैले न्याय कसरी पाउने ?’

उनका अनुसार आफूले काम गरेको एनआइसी एशिया बैंक समेत मिटरब्याजीसँग मिलेको छ । बैंक समेत उनलाई नै पीडा दिन लागि रहेको छ । ‘बैंक भित्रको कन्फिडेन्सियल कुरा पनि उसले थाहा पाउनु भनेको त चानचुने कुरा होइन । बैंककै उच्च अधिकारीले मलाई फसाउन सहयोग गरिरहेका छन्,’ कर्णले भने,‘उसैले बोलेको छ । बैंककै उच्च अधिकारीको नाम उसैले लिएको छ ।’

श्री बल्लबले नाम लिएका बैंकका उच्च अधिकारीले उनलाई पटक पटक धम्की दिएका छन् । बैंकका प्रमुख गुनासो अधिकारीको रुपमा कार्यरत अर्जुन खनियासहितका उच्च अधिकारीले समेत कर्णलाई विष खान बाध्य पारेका हुन् । उनले प्रहरीमा आत्महत्या दुरुत्साहन उद्योगमा जाहेरी दिने तयारी समेत गरेका छन् ।

‘उजुरी दिएका ठाउँमा सबै उसैको दबदबा छ । मैले दिनुपर्ने ३० लाख रुपैयाँ हो त्यो पनि उसले लगानी गरेको काममा हो । त्यसको ५ महिनाको ब्याज हिसाब गरेर ११ करोड पुर्याएको रहेछ । सहुलियत दिएर २ करोड ३२ लाख रुपैयाँ भएको रे,’ कर्ण भन्छन्,‘दिनको २ प्रतिशत ब्याज भन्ने रहेछ । बुढानिलकण्ठमा रहेको करिब ३ करोडको घर र बुवाको नाममा रहेको बालाजुको घर खाने नियत हो ।’

विभिन्न रकम उल्लेखित चेक

लेनदेन मुद्दामा प्रहरीले चासो नराख्नु पर्ने हो । बैंकिङ कसुरकै जाहेरी आएपनि प्रहरीले एक पटक बोलाएर छलफल गराउँछ । तर, कर्णको विषयमा भने प्रहरीले समेत गैरकानुनी हर्कत गरेको उनको गुनासो छ । ‘जिल्ला प्रहरी परिसर काठमाडौं टेकुबाट आफूलाई प्रहरीका सई बताउनेले मलाई धम्की दिएका छन् । तलाई हत्कडी लगाउन पर्यो भने भ्यान लिएर आउँछु भनेर धम्काएको छ । जबकी तपाईंको चेक अनादर भएको छ । छलफलका लागि आउनुस् भन्ने कता हो कता धम्की दिइएको छ,’ उनी भन्छन्,‘मेरी श्रीमतीलाई समेत धम्की दिएको छ । प्रहरीले नै तेरो बुढोलाई पैसा तिरेन भने हत्कडी लगाएर भ्यान लिएर लैजान्छु भनेको छ । जबकी छलफल नै गरिएको छैन । दुई पक्षलाई छलफल समेत गरिएको छैन । हुँदा हुँदा प्रहरीकै सक्रियतामा मलाई पक्राउ पुर्जी समेत जारि गरिएको रहेछ ।’

प्रधानमन्त्रीको प्रेस सल्लाहकार भनेकै कारण श्री बल्लबको माथिल्लो निकायमा पहुँच भएको उनको अनुमान छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालका वास्तविक प्रेस सल्लाहकार भने गोविन्द आचार्य हुन् । त्यस्तै प्रेस विज्ञको रुपमा मनहरी तिमिल्सिना छन् । प्रेस सहयोगीको रुपमा सुर्य किरण छन् । श्रीबल्लबले समेत आफूलाई त्यही टिमको रहेको दाबी गरेको अडियो समेत दियोपोस्टलाई प्राप्त भएको छ । उक्त अडियोमा उनले आफू प्रधानमन्त्री प्रचण्डको प्रेस टिममा रहेको बताएका छन् । त्यति मात्रै होइन श्रीबल्लब प्रचण्ड पुत्रि गंगा दहालसँग समेत निकट देखिएका छन् । त्यस्तै माओवादी नेता जनार्दत शर्मासँग समेत उनको गहिरो साँठगाँठ रहेको तस्विरले नै देखाउँछ ।

माओवादी निकट विशेष प्रदेशको सचिवालय सदस्य !

मिटरब्याज आरोपी श्रीबल्लब नेकपा माओवादीको विषेश प्रदेशको सचिवालय सदस्य रहेको खुलेको छ । त्यस्तै उनले उद्योग व्यापार सहकार्य महासंघ समेत स्थापना गरेका छन् । उनी सोही महासंघको अध्यक्ष समेत रहेको खुलेको छ । उनले केही व्यापारीलाई आफ्नो फोटो सहितको प्रमाण पत्र वितरण गरेको भेटिएको छ ।

प्रेस युनियन र प्रेस चौतारीलाई बोधार्थ दिएर ब्रान्च म्यानेजर विरुद्ध बैंकमा उजुरी !

बैंक तथा वित्तिय संस्थामा भएका गतिविधि चित्त नबुझे राष्ट्र बैंकसम्म उजुरी गर्न पाइन्छ । सम्बन्धित बैंकका कर्मचारीले गडबडी गरे सोही बैंकमा पनि उजुरी दिन पाइन्छ । तर, उनले एनआइसी एशिया बैंककोे केन्द्रीय कार्यालयमा नेपालले दिएको उजुरीमा बोधार्थ भने सम्बन्ध नै नरहेको नेकपा एमाले निकट प्रेस चौतारी, नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल पत्रकार महासंघ लगायतलाई समेत बोधार्थ दिइएको छ । उनले दिएको उजुरीमा आफूलाई बैंक म्यानेजरले लगानी गराउँछु भनेर पैसा लिएको आरोप लगाइएको छ । उनले निवेदनमै आफूलाई हर्जानासहितको पैसा उपलब्ध गराउन माग गरेका छन् ।

प्रधानमन्त्रीका वास्तविक प्रेस सल्लाहकार भन्छन्,‘फोटो पठाउनुस् तुरुन्त पक्राउ गर्न प्रहरीलाई निर्देशन दिन्छौँ’

प्रधानमन्त्रीका आधिकारीक प्रेस सल्लाहकार गोविन्द आचार्यलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले श्री वल्लव नेपाल नाम गरेको कुनै पनि व्यक्ति सचिवालय तथा प्रेस टिममा नरहेको बताए । ‘त्यो मान्छेको फोटो पठाउनुस् हामी प्रहरीलाई पक्राउ गर्न निर्देशन दिन्छौँ । फोटो त सार्वजनिक कार्यक्रममा जो कोही पनि आएर खिचाउन सक्छन् । हामीलाई फटो पठाउनुस् तुरुन्त प्रहरीलाई भनेर पक्राउ गर्न लगाउँछौँ ।’

पीडितकाे भिडियाे बयान



अपडेट

धम्की दिएका नेपालले पठाए खण्डन

यसैबीच प्रकाशित समाचारलाई लिएर मिटरब्याजका आरोपी श्रीबल्लव नेपालले दियोपोस्टकर्मीलाई धम्की दिएका छन् । उनले आफू कानुनी कारबाहीमा जाने धम्की दिएका हुन् । कानुनी कारबाहीमा जाने भनेका उनले केहीबेरमा खण्डन पठाउन लागेको बताए । आफू समेत एक अनलाइनको सम्पादक रहेको बताउने उनले दियोपोस्टको आधिकारीक ईमेलमा खण्डन प्रेसित गरेका हुन् ।
उनको खण्डन जस्ताको तस्तै