काठमाडौं । पशुपति क्षेत्रमा अनाथका लागि भन्दै कोटीहोम आयोजक मुख्य संकलक विजय भण्डारी उर्फ बाल योगेश्वर विजयकृष्ण मूर्तिजी महाराजले आफ्नै श्रीमती र छोरालाई भने विचल्ली बनाएको खुलाशा भएको छ ।
ठगी अभियोगमा पटक पटक थुना बस्दै कारागार समेत भुक्तान गरेर आइसकेका भण्डारीले राजधानी काठमाडौंमै घर भएकी एक महिलासँग विवाह गरेका थिए । विवाहपछि उनीहरुबाट एक सन्तानको रुपमा छोरा समेत जन्म भएको थियो । तर, छोरा र श्रीमतीलाई बिचल्ली बनाएर भण्डारी यतिबेला अर्की एक महिलासँग ‘अनैतिक’ सम्बन्धमा रहेको खुलेको छ । दियोपोस्टलाई भण्डारीको पत्नि र छोराको तस्विर समेत प्राप्त भएको छ । त्यस्तै उनी हाल एक युवतीसँग घरजम गरिरहेको सुचनालाई पुष्टि गर्ने तस्विर समेत फेला परेको छ । यता उनकी पत्निलाई सम्पर्क गर्दा आफू यस विषयमा नबोल्ने भन्दै प्रतिक्रिया दिन अस्विकार गरिन् ।
तर, उनी निकट स्रोतका अनुसार विजय भण्डारीले विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाउँदा आफ्नै श्रीमतीको नागरिकता प्रयोग गर्थे । उठेको रकम भने भण्डारीले दुरुपयोग गर्थे पीडितहरुले श्रीमतीको नामको खातामा रकम जम्मा गरेको कारण श्रीमतीलाई समेत मुद्दा परेपछि रवि भवनस्थित ससुरालीको घर समेत लिलामी परेको छ । ती महिलाको माइती पक्षमा समेत इजत लिलाम भएपछि भण्डारी नैतिक रुपमा ससुरालीको अगाडी अनुहार समेत देखाउन लायक थिएनन् ।
नखाएको विषले प्रताडित सुचना (नाम परिवर्तित)
दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार विजय उर्फ विष्णु प्रपनाचार्यले काठमाडौं महानगरपालिका १४ मा मानव कल्याण आध्यात्मिक परोपकार संघ स्थापना गरेका थिए । सोही संघमा उनले आफ्नी श्रीमती परिवर्तित नाम सुचना भण्डारीलाई समेत सदस्य बनाएका थिए । सोही संघले अमेरिकामा धार्मिक अनुुष्ठान कार्यक्रम र विश्व गिता म्याराथन हुँदैछ भन्दै १ सय ८ जनाबाट १ करोड ८१ लाख रुपैयाँ उठाएका थिए । यसरी पैसा दिनेहरु मध्ये रहेका गणेश श्रेष्ठ नाम गरेका व्यक्तिले भने विजयकी श्रीमती सुचनाको नाममा ३ लाख रुपैयाँ पठाएका थिए ।
सोही कारण पीडितहरुले जाहेरी दिँदा सुचनालाई पनि प्रतिवादी बनाएर जाहेरी दिए । प्रहरीले विजयलाई पक्राउ गरि मुद्दा चलाउँदा श्रीमतीलाई पनि प्रतिवादी बनायो । अदालतले पक्राउ अनुमति पनि दियो । उनी पक्राउ परिनन् । अदालतमै हाजिर भएर म्यादभित्रै आफ्नो कुरा राखेको भए उनले न्याय पाउने संभावना पनि थियो । तर, उनले शुरु म्याद नै गुजारेका कारण उनलाई पनि ३ महिना कैद र ३ लाख जरिवाना फैसला गर्यो । हो त्यतिबेला नै सुचनाले आफ्नो जेथा अदालतमा राखेर उन्मुक्ति पाउँथिन् । सोही अनुसार उनले जेथा देखाएर कारागार जानबाट भने जोगिएकी थिइन् ।
भण्डारीका कारण सोही मुद्दामा माइती पक्षको घर बिगो असुल भएपछि अहिले सुचना बिचल्ली भएकी छिन् । अर्कोतिर आफ्नो साथमा हुनुपर्ने श्रीमान अन्य महिलासँग अनैतिक सम्बन्धमा छन् । त्यही कारण अहिले उनी निकै पीडामा रहेको उनका आफन्तहरुले बताएका छन् ।
भण्डारीलाई यस विषयमा प्रश्न गर्न सम्पर्क गर्दा उनले फोन उठाएनन् । तपाईंले आफ्नै श्रीमती र बच्चालाई बिचल्ली बनाएर हिँड्नु भएछ नी भन्ने प्रश्नसहिद दियोपोस्टले प्रश्न गर्दा उनले दियोपोस्टकर्मीलाई सुचना दिनेलाई उल्टो फसाइदिने धम्की दिए । दियोपोस्टकर्मीलाई म्यासेज गर्दै उनले आफ्नो अन्तर्वार्ता लिन पशुपति कोटिहोममा आउनुपर्ने शर्त राखे । त्यतिमात्रै होइन समाचार लेखे मुद्दा लगाएर फसाइदिने समेत धम्की दिए ।
‘मैले बिचल्ली बनाएको भनिएकी महिलासँग प्रतिक्रिया लिनुहोला प्रभु, कहिलेसम्म झूटको प्रचार गर्नुहुन्छ तपाईंहरु,’ उनले भनेका छन्,‘मलाई शान्त रहन दिनुस् बढी टर्चर नगर्नुस् हिम्मत भए पशुपतिमा आएर मलाई भेटेर इन्टरभ्यु लिन आउनुहोस् । कानुनी उपचारमार्फत तपाईंको पतन निश्चित छ ।’ उनले यतिमात्रै भनेनन् । सर्लाहीका एक युवालाई यही विषय उठाएको कारण हिरासतमा पठाएको र सोही युवाले यो सुचना दियोपोस्टलाई दिएको उनको आरोप थियो । तर, दियोपोस्टलाई प्राप्त तस्विरमा ठगी अभियुक्त भण्डारी, उनकी पत्नि र छोरा देखिन्छन् । अर्को तस्विर भने एक महिलाले उनलाई अंगालेका छन् । ती महिलाको नाममा उनले अधिकांश ठगी धन्दामा समेत जोडिएको म्यानपावर, होस्टल र कन्सल्टेन्सी संचालन गरेको अर्को तथ्य समेत भेटिएको छ । यस विषयको विस्तृत समाचार समेत हामी प्रकाशन गर्नेछौँ । उनले संचालन गरेको एक म्यानपावरमा त वैदेशिक रोजगार विभागले छापा समेत हानेको छ ।
आफ्नालाई अनाथ बनाएर पशुपतिमा अनाथको नाममा कोटिहोम
भण्डारीले पशुपति क्षेत्रमा गत श्रावण १ गतेदेखि मानव सेवा फाउण्डेशनमा रहेका ९० जना बालबालीकालाई शिक्षा रोजगार र भवनका लागि भन्दै कोटिहोम चलाइरहेका छन् । तर, यहाँ अनाथ र असायहको नाम लिइएपनि मूल उद्देश्य भनेको ठगी गर्नुनै हो भन्दा अन्यथा नहोला । उनले पशुपति क्षेत्रमा आम मानिसको धार्मिक भावनामाथि खेलवाड गरेर ठगी गरिरहेको यही क्षेत्रका विज्ञहरुले बताएका छन् । आफ्नै श्रीमती र छोरालाई अनाथ बनाएर सार्वजनिक रुपमा भने अनाथका लागि भन्दै कोटिहोमको नाममा ठगी धन्दा चलाएको स्पष्ट देखिन्छ ।
समाचार दिएको भन्दै दर्जनौँ व्यक्तिलाई धम्की
भण्डारीले दियोपोस्टलाई समाचार दिएको भन्दै दर्जनौँ व्यक्तिलाई पक्राउ गराउने र थुन्ने धम्की दिएका छन् । केही व्यक्तिलाई आफूले थुनाएको भन्दै तस्विर समेत पठाउने गरेका छन् । ‘म दियोपोस्टको सम्पर्कमा छैन । तर, उसले नै नाम लिएपछि थाहा पाएँ । के कस्तो समाचार दिएको छौ भन्दै धम्की दिने गरेको छ,’ ती व्यक्तिले भने,‘उसले आफ्नी श्रीमतीलाई समेत बाहिर बोल्नबाट प्रतिबन्ध लगाएको छ । आफन्तहरुलाई पनि धम्की दिएको छ । कतिपयलाई त मार्नेसम्मको धम्की दिएको छ ।’
त्यतिमात्रै होइन भण्डारीले पारिवारिक बिचलनको तस्विर सहित कसरी दियोपोस्टमा पुग्यो भन्दै विभिन्न व्यक्तिको नामै किटेर आफ्नो ह्वाट्स एप ग्रुपमा पठाउने गरेका छन् ।
भण्डारीकी जेठी सासुलाई समेत उनले समाचार दिएको झूटो आरोप लगाएर धम्की दिइरहेको स्रोत बताउँछ । उनकी जेठी सासुलाई समेत दियोपोस्टले पटक पटक सम्पर्क गरेको थियो तर उनी पनि भण्डारीकै धम्कीका कारण सम्पर्कमा आउन चाहिनन् ।
भिडियाे रिपाेर्ट हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्