
काठमाडौं । सरकार परिवर्तन भएसँगै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आफ्नो पद जोगाउन दौडधुपमा लागेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि बेचैन बनेका अधिकारीले केही दिनअघि नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाको निवासमै पुगी पद जोगाइदिन याचना गरेको प्रत्यक्षदर्शीले दियोपोष्टलाई बताए । कांग्रेसभित्र कोइराला खेमाको कोटाबाट पर्यटन मन्त्री नियुक्त भएका बद्री बहादुर पाण्डेलाई सम्झाई बुझाई गरिदिन उनले अनुनय गरेका थिए ।
नवनियुक्त पर्यटन मन्त्री पाण्डे नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने तयारीमा छन् । संसदीय समितिका बैठकहरुमा पाण्डेले प्राधिकरणका महानिर्देशक अधिकारी र निगमका अध्यक्षको योग्यतामाथि टिप्पणी गर्दै आएका छन् । स्रोतका अनुसार समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई आर्थिक प्रभावमा पारि विवादास्पद तत्कालिन पर्यटन मन्त्री प्रेम आलेबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका अधिकारीको पद सरकार परिवर्तन भएसँगै यतिबेला धरापमा परेको छ । अधिकारीले आफू निकटस्थहरुबाट आफूलाई उक्त पदबाट हटाउन खोजेको सूचना पाएपछि केही दिन अघि कोइराला निवास पुगेर पार्टी र कोइरालालाई “पोलिटिकल फन्ड” (राजनीतिक घुस)को अफरसमेत गरेका छन् ।
निगमभित्र रहेका ग्राउन्डेड जहाजहरुको पार्टपूर्जा आयात हुँदै गरेको र उक्त पार्टपूर्जा आयात गर्दा प्राप्त हुने अतिरिक्त आम्दानीबाट कोइराला समूहलाई पोलिटिकल फन्ड व्यवस्था गर्ने, त्यस्तै गरि खरिद गर्न लागिएको डोमेस्टिक जहाजबाट पनि राजनीतिक फन्ड व्यवस्था गर्ने, नेपाल एयरलाइन्सले उडान भर्ने विभिन्न मुलुकहरुमा जिएसए नियुक्ति गर्दा कोइरालालाई पनि भागभण्डा दिने उनको प्रस्ताव छ । उनको प्रस्तावमा कोइरालाले मन्त्रीलाई भनिदिने उदारो आश्वासन दिएका छन् ।
सम्बन्धित समाचार
‘यौनकाण्ड’मा मुछिएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी महिला कर्मचारीसँग दुबईमा !
वायुसेवा निगमभित्रै युवराजको डरलाग्दो यौनकाण्ड दबाइएको खुलाशा [मिलापत्रसहित]
नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीबारे प्रकाशित समाचार हटाउन धम्कीपूर्ण पत्र !