नेतृत्व उमेरले होइन, दृष्टिकोणले तय हुन्छ

Guest
कुशुम लता सिंह

‘नेतृत्व’ भनेको व्यक्तिले अरूलाई मार्गदर्शन, प्रेरणा, र सहयोग गर्ने प्रक्रिया हो । नेतृत्व अरूको विश्वास जित्ने, सहकार्य गर्ने, र समस्याको समाधान गर्ने क्षमता पनि हो ।

नेतृत्वमा प्रष्ट दृष्टिकोण, स्पष्ट लक्ष्य र दुरगामी योजना हुनु आवश्यक छ । त्यससंगै नेतृत्वले प्रेरणा दिने क्षमता राख्न सक्नु पर्छ र अरूलाई जागरूक तथा उत्साहित बनाउन सक्ने क्षमता हुनु पर्छ ।

नेतृत्वमा कठिन समयमा ठोस निर्णय लिन सक्ने निर्णय क्षमता हुनु आवश्यक छ । त्यससंगै प्रभावकारी रूपमा विचार र उद्देश्य बुझाउन सक्ने सञ्चार कौशल हुनु नेतृत्वको सबैभन्दा प्रमुख कला हो ।

नेतृत्वमा उत्तरदायित्व, जवाफदेहीता र पारदर्शीता हुनु आवश्यक छ । अरूलाई सँगै लिएर अगाडि बढ्न सक्ने र परिवर्तन ल्याउन सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ । जुन उमेरले होइन, सोच र व्यवहारमा आधारित हुन्छ ।

नेतृत्वको मुल्यांकन उमेरको आधारमा गर्नु हुँदैन । दृष्टिकोण, कर्म, सोच, र जनउत्तरदायित्व नै नेतृत्वको आधार हुनुपर्छ ।
उदाहरणका लागि, पाकिस्तानी मानव अधिकारकर्मी मालाला युसुफजईको नाम लिन सकिन्छ । उनले महिलाको शिक्षा र अधिकारका लागि आवाज उठाए वापत १७ वर्षको उमेरमा ‘नोबेल शान्ति’ पुरस्कार पाएकी थिइन् ।

उनले उमेरले होइन, आफ्नो सोँच र दृष्टिकोणले संसारका लाखौं छोरीहरुको जीवनमा परिवर्तन ल्याएकी थिइन् । सबै बालबालिकाले शिक्षा पाउनुपर्छ भन्ने उनको दृष्टिकोण प्रष्ट थियो ।

त्यसैले पनि नेतृत्वमा दृष्टिकोणको महत्व अपरिहार्य छ । किनभने नयाँ सोच, नवीन विचार, र व्यवहारिक दृष्टिकोणले मात्र समस्याको दीर्घकालीन समाधान दिन सक्छ । उमेर बढ्दैमा मात्र परिपक्व सोच आउँछ भन्ने सोच आफैंमा पुरानो हो । कतिपय वृद्ध नेताहरुले पनि पुरानो सोच बोकेर गलत निर्णय लिएको उदाहरण हामीसँग प्रशस्तै छ ।

यसको मतलब उमेर पुगिसकेका व्यक्ति नेतृत्व लिन असक्षम हुन्छन् भन्ने होइन । उमेर पुगिसकेको व्यक्तिमा प्रयाप्त अनुभव, विवेक र राष्ट्रप्रतिको समर्पण छ भने उ नेतृत्वका लागि योग्य मानिन्छ ।

आजको समयमा एउटा आश्चर्यजनक तर खतरनाक प्रवृत्ति देखिन्छ । जब नेताहरू ७० वर्ष कटाउँछन्, तब केहीले ‘अब त बुढो भइसक्यो, अब त अवकाश लिनुपर्छ’ भन्ने आवाज उठाउँछन् । यस्ता धारणा केवल व्यक्तिगत अपमान होइन, अनुभव र परिपक्वताको अस्वीकार हुन् ।

नेतृत्व कुनै सामान्य जागिर होइन । यो त राष्ट्रको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर जिम्मेवारी हो । र, यस्तो जिम्मेवारी केवल उमेरको आधारमा छाड्नुपर्छ भन्ने सोच राष्ट्रिय क्षमताको अपमान हो ।

मानव विकास सूचकांक र औसत आयुमा आएको क्रान्तिकारी परिवर्तन:
संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित मानव विकास सूचकांक अनुसार, अहिले विश्वको औसत जीवन प्रत्याशा ७५ वर्षभन्दा माथि पुगेको छ । जापान, जसको जीवन प्रत्याशा ८४ वर्षभन्दा बढी छ । जापान संसारकै सबैभन्दा लामो आयु जिउने मानिसहरु भएको मुलुक हो । त्यहाँका बृद्धहरू अझै पनि विश्वविद्यालयका प्राध्यापक, अनुसन्धान सल्लाहकार, नीति निर्माताहरूका सल्लाहकार र निजी कम्पनीका सिइओका रूपमा सक्रिय छन् ।

धार्मिक र ऐतिहासिक दृष्टान्त:
भगवान श्रीकृष्णले गीता उपदेश दिनुभएको समयमा उहाँको उमेर करिब ९० वर्ष छुन लागेको थियो । भिष्म पितामह, गुरु द्रोणाचार्य, कृपाचार्य ती सबै वरिष्ठ नागरिकहरु रणभूमिमा सक्रिय थिए । उनीहरूले युद्धमा निर्णय क्षमता, रणनीति र नैतिक दृष्टिकोण दिएका थिए । यसले पनि यो कुरा प्रष्ट हुन्छ कि— नेतृत्वमा ‘ऊर्जा’ मात्र होइन, ‘उत्तम निर्णय क्षमता’ चाहिन्छ ।

राजनतिमा सकृय पछिल्ला केही नेताहरूको उदाहरण:
१. नरेन्द्र मोदी (७४ वर्ष)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बृद्ध उमेरले ७० कटिसकेका बृद्ध नेता हुन् । तर उनको सकृयता कुनै २२ वर्षे युवाको युवाको भन्दा कम छैन । उनले प्रधानमन्त्री भइसके पछि निकै दुरगामी र राष्ट्रका लागि महत्वाकांक्षी योजना बनाए । जस्तै, ‘स्वच्छ भारत अभियान’, ‘आयुष्मान भारत योजना’, ‘डिजिटल भारत अभियान’, ‘मेक इन इन्डिया’, ‘भारतको विदेश नीतिमा सक्रियता’, ‘राम मन्दिर निर्माण’ ‘बेटी बचाओ, बेटी पढाओ’ योजना र ‘धारा ३७० हटाउने निर्णय’ सबैभन्दा महत्वपूृर्ण कदम थिए ।

मोदीले यि निर्णय आफु ६५ वर्ष उमेर पार गरेपछि मात्रै लिएका छन् । उनको जोश, राष्ट्रसेवा प्रति समर्पण र निर्णय गर्ने क्षमताले मोदीलाई बृद्ध उमेरमा पनि कर्मशील नेताको उदाहरणीय बनाएको छ ।

२. केपी शर्मा ओली (७२ वर्ष)
केपी शर्मा ओलीको राजनीतिक यात्रा झापा आन्दोलनबाट सुरु भएको हो । जसअन्तर्गत उनी लामो समयसम्म जेल जीवनमा रहनु परेको थियो । जेलमै रहँदा उनले माक्र्सवादी विचारधारामा आधारित राजनीतिमा गहिरो चासो राख्न थालेका थिए । नेपालको राजनीतिक संक्रमणमा ओलीको भुमिका नेतृत्वदायी स्थानमा छ ।
उनको भाषणशैली र निर्णय गर्ने क्षमताको पार्टीभित्र र बाहिर पनि प्रशंसा हुने गर्छ । व्यङ्ग्यात्मक शैलीमा बोलेका कुरा सामाजिक सञ्जालमा निकै भाइरल हुने गरेका छन् ।

पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री बनेका ओलीले मधेश आन्दोलन र नाकाबन्दीको चुनौतीपूर्ण समयमा राष्ट्रवादको भावनालाई उचाइमा पु¥याएका थिए ।

दोस्रो पटक २०७४ सालको चुनावमा वाम गठबन्धनलाई ऐतिहासिक जित दिलाएर पुनः प्रधानमन्त्री बनेका थिए । नेपालको नयाँ संविधान कार्यान्वयन गर्ने, संघीयता लागू गर्ने, र स्थानीय तहमा निर्वाचन गराउने कार्यमा ओलीको नेतृत्व सफल मानिन्छ ।

उनले प्रधानमन्त्री भएपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सरकारको मुख्य मार्गदर्शन बनाएका थिए, जसअन्तर्गत पूर्वाधार, यातायात, स्वास्थ्य र ऊर्जा क्षेत्रमा योजनाहरू अघि बढाए ।
ओलीले भारतसँगको सम्बन्धलाई सन्तुलनमा ल्याउने प्रयास गरे, विशेष गरी नक्सा विवाद र सीमासम्बन्धी मुद्दामा राष्ट्रवादी अडान लिएर जनसमर्थन बढाएका थिए ।

स्वास्थ्य समस्या हुँदाहुँदै पनि उनको सकृयता, राजनीतिक उचाईँ, संघर्ष, दृढता, वाकचातुर्यता र राष्ट्रवादी छविले गर्दा उनी सत्ता गठबन्धनको सबै भन्दा प्रभावशाली नेताको रुपमा मानिन्छन् ।

३. शेरबहादुर देउवा (७८ वर्ष)
शेबहादुर देउवा नेपालको राजनीतिमा सन्तुलन र सहमतिका पर्याय मानिन्छन् । उनले द्वन्द्वकाल, संक्रमणकाल र गणतन्त्रसम्मको यात्रामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको संयमित व्यवहार, संवाद क्षमता र लचिलो नेतृत्वशैलीले कांग्रेस मात्र होइन, देशलाई पनि थुप्रै संकटबाट पार लगाएको छ । उनी जत्तिको खारिएको नेता हाल सतहमा देखिएको छैनन् ।

वैश्विक राजनीतिको चुनौती र अनुभवी नेतृत्वको आवश्यकता:

आजको विश्व रङ्गमञ्चमा सि जिनपिङ(७२) र भ्लादिमिर पुटिन(७२) र डोनाल्ड ट्रम्प (७९)उमेर भएका अत्यन्त बुद्धीमान, सशक्त, र खारीएका नेताहरूको उदयले अन्तर्राष्ट्रिय स्थायित्व र सन्तुलन चुनौतीपूर्ण बनेको छ । यस्ता नेताहरूले मात्र जोश र शक्ति प्रयोग गरेर होइन, रणनीति र दीर्घकालीन योजनाले आफ्नो प्रभाव विस्तार गर्छन् ।
यसै कारणले, नेपाल, भारत लगायतका लोकतान्त्रिक राष्ट्रहरूलाई समकालीन, अनुभवी र दूरदर्शी नेताहरूको आवश्यकता छ, जसले यस्ता चुनौतीपूर्ण नेतृत्वहरूसँग प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न सकून् ।
नेतृत्व केवल भौतिक शक्ति वा लोकप्रियतामा सीमित हुनु हुँदैन । यो त कूटनीति, समझदारी, र राष्ट्रिय हितको संरक्षण गर्ने क्षमता पनि हो । यसैले, वरिष्ठ नेताहरूको अनुभव र परिपक्वताले मात्र राष्ट्रलाई यस्ता चुनौतीहरूमा सक्षम र स्थिर राख्न बल पु¥याउँछ ।

जोश र होशको सन्तुलन

युवाहरूमा जोश हुन्छ । जोशिलो निर्णय हुन्छ । तर त्यो जोश कहिले कसो अनुभव बिना विस्फोटक हुन सक्छ । अहिले नेतृत्वमा आउने युवा पुस्ताले जोश त ल्याउँछन्, तर उनीहरूलाई सम्हाल्ने होश चाहिन्छ । त्यसैले बृद्ध र अनुभवी नेताको मार्गदर्शनबिना युवा नेतृत्व अपूर्ण हुन्छ । पुस्तान्तरणको प्रक्रियाः समयसापेक्ष र संरचित हुनुपर्छ

नेतृत्व पुस्तान्तरण हुनु आवश्यक छ । तर त्यो परिपक्वता, योजना र मार्गदर्शन सहित हुनुपर्छ । वरिष्ठ नेताहरूले सँग—सँगै युवा पुस्तालाई तयार पार्नुपर्छ, न कि हतारमा जिम्मेवारी सुम्पिनु । नेतृत्व हिँड्न सिकाउने कार्य हो, धकेल्ने होइन । अर्थात्, ‘लिडर बनाउने प्रक्रिया’ स्वाभाविक र क्रमिक हुनुपर्छ, जबरजस्ती होइन ।

वरिष्ठ नेताहरूः अन्तर्राष्ट्रिय सन्दर्भमा स्थायित्वका प्रतीक

७०–८० वर्षको उमेर कुनै व्यक्तिको कमजोरी होइन । आधुनिक विज्ञान र व्यवहारिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । यदि जीवनशैली सन्तुलित छ भने, यो उमेरमा व्यक्ति अझ बढी केन्द्रित, सन्तुलित र दूरदर्शी निर्णयहरू गर्न सक्षम हुन्छ ।

जो बाइडेन : अमेरिका इतिहासका सबैभन्दा उच्च उमेरका निर्वाचित पूर्व राष्ट्रपति हुन् । उनी आफ्नो जीवनको ८२ वर्ष पुग्दैछन ।

लि क्वान यु : सिंगापुरका संस्थापक नेता, ८० कटेपछि पनि राष्ट्रिय नीतिका सल्लाहकार र मार्गदर्शकका रूपमा समर्पित रहे ।

महाथीर मोहम्मद : मलेशियाका पूर्व प्रधानमन्त्री, ९२ वर्षको उमेरमा पुनः प्रधानमन्त्री बनेर देशमा सुधारको लहर ल्याए ।
जापानमा शिन्जो आबेको सल्लाहकार टोली :  जहाँ ७०–८० वर्षका अनुभवी व्यक्तिहरू आज पनि राष्ट्रिय नीतिमा निर्णयकर्ता छन् ।

नेतृत्व उमेरले होइन, अनुभव र विचारले नेतृत्व सफल हुन्छ । राष्ट्रनिर्माणको मेरुदण्ड जोश मात्र होइन – होश, संयमता, र परिपक्वता हो ।

नेपालको विशेष सन्दर्भमा राजनीतिक अस्थिरता, आर्थिक संकट, जनशक्ति पलायन, जनताको नेतृत्वप्रतिको अविश्वासका कारण नेतृत्वमाथि सधै प्रश्न उठ्ने गरेको छ । यस्तो अवस्थामा अनुभवी नेतृत्व नै राष्ट्रको मेरुदण्ड हो । केवल उमेर भन्दै हतारमा पुस्तान्तरण गर्नु दाउमा राखिएको भविष्य हो ।

अन्तिम निष्कर्ष

नेतृत्व कुनै ‘फेसन’ होइन, सर्वोच्च उत्तरदायित्व हो । उमेरको अंकले होइन, सदाचार, समर्पण र सोँचले नेताको मूल्य तोकिन्छ । नरेन्द्र मोदी, केपी ओली, शेरबहादुर देउवा जस्ता नेताहरूको अनुभवको मूल्य अहिले पनि अत्यधिक छ । जापानी तथा सनातन संस्कृतिमा बृद्ध मानिसहरूलाई ‘जीवित पुस्तक’ मानिन्छ । र उनीहरूबाट समाजले निरन्तर सिकिरहन्छ ।

राजनीतिमा गहिरो मार्गदर्शनसहितको पुस्तान्तरण आवश्यक छ । तर, युवावादी उन्मादमा नेतृत्व हुनु हुँदैन । नेतृत्व उमेरले होइन, दृष्टिकोणले, सुसंस्कारले र राष्ट्र प्रतिको निष्ठाले मापन हुन्छ ।

देश चलाउने कुरामा नेताको उमेरको बहस होइन, नेताको चरित्र, सोच र दूरदृष्टिको बहस हो । ‘राष्ट्रको भविष्य केवल ताजा विचारले होइन, अनुभवी हातले पनि निर्माण हुन्छ ।’

सम्बन्धित खबर