काठमाडौं । एउटा कम्पनिले अर्को कम्पनिलाई कस्तो व्यवहार गर्ला ? संसारभर कम्पनिले कम्पनिलाई गर्ने व्यवहार र कारोबारबारे धेरै कितावहरु लेखिएका छन् । कम्पनिको व्यवहारबारे सिद्धान्तहरु पनि प्रतिपादन भएका छन् । प्रसिद्ध अमेरिकी लेखक तथा ब्रिजवाटर एशोसियट्सका पूर्वसंचालक रे डालियोले लेखेको किताब प्रिन्सिपल्स यसै विषयमा केन्द्रित छ । उनले उक्त पुस्तकमा कुनै पनि देश त्यहाँको नागरिक र संस्कारले बनेको हुन्छ भन्ने गहिरो तथ्यलाई बुझाउन सफल भएका छन् ।
नेपालमा रहेका कम्पनिहरुपनि यहाँको संस्कार र नागरिकले चलेका छन् भन्ने गतिलो प्रमाण एउटा सिमेन्ट उद्योगसँग भएको कारोबारमा देखिएको अश्लिल गालीगलौचले पुष्टि गरेको छ । कर्तव्य पालनामा नो कम्प्रोमाइज भन्ने श्लोगानसहित बजारमा एकछत्र राज गरेको शिवम् सिमेन्ट उद्योगले अर्को कम्पनिसँग भने अनैतिक र अश्लिल गालीसहितको व्यवहार गर्ने गरेको पाइएको हो ।

काठमाडौं रहेको इहब ट्रेडिङ प्रा. लि.ले गोरखामा शिवम् सिमेन्ट बिक्री गर्दै आएको थियो । कम्पनिका संचालकका अनुसार करिब २५ लाख रुपैयाँ बराबरको सिमेन्ट ईहबले शिवम्सँग लिएर विक्री गरेको थियो । शिबम्ले इहबका संचालकसँग खाली चेक धरौटी बापत लिने गरेको ती संचालकको दाबी छ ।
उनका अनुसार, शिवम् सिमेन्टका प्रतिनिधिले सिमेन्टको गुणस्तर र विशेषताबारे विश्वास दिलाएका थिए । सचिन अग्रवालले उनलाई शिवम् सिमेन्ट कार्यालयमा पु¥याई निखिल अग्रवालसँग भेट गराए । कम्पनीका प्रतिनिधिले ‘तपाईंसँग काम गर्न इच्छुक छौं, सुरु गर्ने प्रक्रिया सजिलो छ’ भने । तर, सुरुमा बैंक ग्यारेन्टी आवश्यक भएकाले तीन–चार महिना लाग्ने जानकारी दिइएको थियो, ती स्टार्टअफ व्यावसायी भन्छन्, ‘चार महिना पछि मात्र सुरु गर्ने हो भने कारोबारमा ढिलाइ हुन्छ ।’

यसपछि कम्पनीले विकल्पस्वरूप ‘खाली चेक’ ग्यारेन्टी प्रस्ताव राखेको दाबी उनको छ । उनका अनुसार, त्यसबेला कानुनी अस्पष्टताका कारण बैंक ग्यारेन्टीको सट्टा चेक ग्यारेन्टीस्वरूप लिने प्रचलन थियो । ती व्यावसायीले दुई गाडी सिमेन्ट बराबरको रकमको चेक र एउटा खाली चेक दिने प्रस्ताव स्वीकार गरे । तर पछि व्यापार घाटामा गएपछि सिमेन्ट ट्रेडिङ बन्द गर्नुपर्यो ।
कोभिड–१९ महामारीपछि डिजिटलाइजेसन र ई–कमर्समा जोडिएका ई हबका मालिक ती व्यापारी महामारीअघि, उनले शिवम् सिमेन्टमार्फत करिब २५ लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए, जसमा करिब ५ लाख ७२ हजार रुपैयाँ बाँकी थियो । शिवम्सँग उनले रकम तीन किस्तामा तिर्ने प्रस्ताव गर्दै, कम्पनीलाई दिएको दुई चेकमध्ये एउटा खाली चेक र अर्को निश्चित रकमको चेक फिर्ता मागे ।

कम्पनीका मार्केटिङ प्रतिनिधि सचिन अग्रवालले एक चेक हराएको दाबी गर्दै लिए, तर अहिलेसम्म फिर्ता भएन । ‘यो चेककै कारण कानुनी जोखिम र ब्ल्याकमेलको डर भयो,’ ई हबका प्रतिनिधिले भने,‘२०७७ सालको अन्त्यतिर चेक फिर्ता माग्दा, शिवम् सिमेन्ट कार्यालयमा व्यापारिक भन्दा फरक वातावरण देखियो । ‘म व्यापारिक सम्झौतामा गएका थिएँ, तर त्यहाँ धम्की र दबाबको व्यवहार देखियो ।’
ईहबका प्रतिनिधिका अनुसार व्यवसाय प्रत्यक्ष शिवम् सिमेन्टसँग नभई ‘इहब ट्रेडिङ’मार्फत भएको हो । तर जब उनले चेक फिर्ता मागे, कम्पनीका प्रतिनिधिले राजनीतिक सम्बन्ध र व्यक्तिगत नाम उल्लेख गर्दै दबाब दिन थाले । उनी भन्छन्, ‘शिवम् पब्लिक कम्पनी हो, यहाँ व्यक्तिको कुरा ल्याएर धम्की दिन मिल्दैन । यो कारोबार इहब र शिवम् बीचको हो, मेरो व्यक्तिगत कुरा होइन ।’
चेक नदिने हो भने रकम तिर्न नसक्ने स्पष्टताका बाबजुद, विवादको सुरुवात त्यहीँबाट भएको ईहबका प्रतिनिधिको दाबी छ । २०७८ सालको अन्त्यतिर चेक फिर्ता माग्दा कम्पनीका प्रतिनिधिले फोन, वाट्सअप र टेलिग्राममार्फत सम्पर्क अस्वीकार गरे । ‘मलाई तथा मेरी आमाको नाममा गाली बेइज्जती गरियो, जुन आजसम्म बिर्सन सक्दिन,’ उनले भने ।

दियोपोस्टलाई प्राप्त च्याटमा उनले अश्लिल शब्दमा गाली गरेका छन् । तर, शिवम्का प्रतिनिधिले आफूहरुलाई शान्ति सुरक्षामा खतरा भएको भन्दै सिडिओ कार्यालय हुँदै प्रहरीसम्म उजुरी दिए । विक्री तथा बजार व्यवस्थापनका प्रमुख निखिल भने आफूलाई धाकधम्की आएपछि प्रहरीसम्म पुगेको बताउँछन् । ‘टेलिग्राम मार्फत पहिले हामीलाई अश्लिल शब्दमा गाली र धम्की आयो । उसले गाली गरेपछि म पनि मान्छे हो मेरो पनि भावना हुन्छ । मैले पनि जवाफ फर्काएँ,’ उनी भन्छन्,‘तर, उनले आफूले गरेको सम्पूर्ण अश्लिल शब्दसहितको गालीहरु डिलिट गरेर मेरो मात्रै स्क्रिन सर्ट लिएर हिँडका रहेछन् । टेलिग्राममा यस्तो गर्न मिल्दो रहेछ । म्यासेज हेर्नु भयो भने मैले जवाफ फर्काएको मात्रै छु ।’
यता आफूलाई पीडित बताउने ईहबमा प्रतिनिधि भने आफ्ना विरुद्ध २०७९ साल जेठ १ गते कान्तिपुर दैनिकमा ईहबका संचालक विरुद्ध फोटोसहित सूचना प्रकाशित गरिएको थियो । ‘सुचनामा बाँकी रकम ५ लाख ७१ हजार नै उल्लेख थियो, जुन मैले माग्दा कम्पनीले दिएको बैलेन्स कन्फर्मेसनसँग मेल खायो,’ उनले भने ।

ईहबले तिर्नुपर्ने ५ लाख ७२ हजार रुपैयाँ भएपनि शिवम् सिमेन्टले बैंकिङ कसुर र चेक अनाधारको मुद्दा २०८० साल ४ महिना २४ गते जिल्ला अदालतमा १५ लाख रुपैयाँ पाउनुपर्ने माग गर्दै मुद्दा दर्ता गराएको उनको दाबी छ। ‘मुद्दा दायर हुँदा मैले हराएको चेक अदालतको फिराद पत्रमार्फत मात्रै देखेँ,’ उनले भने,‘जिल्ला अदालतले यो मुद्दामा मैले दाबी गरेजस्तै आंशिक दाबी पुग्ने अर्थात मैले तिर्नुपर्ने ५ लाख ७२ हजार मात्रै तिर्नुपर्ने फैसला गरेको छ ।’
यता शिवम्का प्रतिनिधि निखिल भने आफूहरुले जति पाउनुपर्ने हो त्यतिमात्रै दाबी गरेको बताउँछन् । ‘उहाँ अहिले पनि हाम्रा विषयमा भ्रम फैलाउँदै हिँड्नु भएको छ । हामीले फिरादमै जति पाउनुपर्ने हो त्यतिमात्रै दाबी गरेका छौँ । हामीसँग यतिको चेक भएपनि हामीले पाउनुपर्ने यति मात्रै हो भन्ने हाम्रो दाबी छ,’ उनले भने,‘एक पक्षीय रुपमा भ्रम फैलाउँदै आउनु भएको छ । यदि उहाँ अन्यायमा परेको हो भने अदालतबाट मुद्दा हारेपछि किन मिडियामा आइरहनु भएको छ । उहाँ पैसा नतिर्नका लागि मिडिया मार्फत हामीलाई धम्काइरहनु भएको छ ।’








