Exclusive ::: बागमती नदि बहावको बीच भागको जग्गा सहकारीमा धितो राखेर ऋण लिएको खुलाशा

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर ठगी भएका थुप्रै घटनाहरु सुन्नु भएको होला । बालुवाटार जग्गा प्रकरण र झापाकै बालुवाटार जग्गा प्रकरणमा मात्रै होइन पतञ्जली जग्गा प्रकरणमा मुछिएकाहरु माथि मुद्दा चलिरहेकै छ । ठीक त्यसैबेला अर्को एउटा अनौठो मुद्दा पनि चलिरहेको पाइएको छ । त्यो हो बागमति नदिको बिच भागको जग्गा राखेर सहकारीबाट ऋण झिकेको प्रकरण ।

बागमती नदिको बीच भागको जग्गा समेत व्यक्तिका नाममा ल्याई सहकारीबाट लाखौँ रुपैयाँ ऋण निकालेको भन्दै प्रहरीले मुद्दा चलाएको थाहा भएको छ । काठमाडौं महानगर ७ चुच्चेपाटी चावहिल स्थित आह्वान बहुउद्देश्यीय सहकारी संस्थाका संचालक सल्लाहकार समेतको मिलेमतोमा बागमति खोलाको बिच भागको जग्गा व्यक्तिको भनि जग्गा धनी पुर्जा समेत तयार पारी ५० लाख रुपैयाँ ऋण निकालेको पाइएको हो । प्रहरीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ११ घर भई गोशाला बस्ने ५५ वर्षिय उमेश कोइराला, कामनपा ९ घर भई हाल बुढानिलकण्ठ ९ बस्ने ५९ वर्षिय महेश प्रसाद पोखरेल र विरगंज घर भई काठमाडौं ९ बस्ने सत्य नारायण प्रसाद रौनियार विरुद्ध ठगी अभियोगमा मुद्दा दायर गरेको हो । सहकारीका तर्फबाट निमा शेर्पाले दिएको जाहेरीको आधारमा उनीहरु विरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र पेश गरेको हो । तीनै जना अभियुक्तलाई फरार सुचीमा राखेर अभियोग दर्ता भएको छ ।

अभियोग पत्रका अनुसार कोइरालाले आफू सहकारीको प्रमुख संचालक सल्लाहकार भएकै बखत काठमाडौं ९ स्थित सिट नम्बर १०२११४७१३ को कित्ता नम्बर १५ को जग्गा २०७२ भदौ २० गते मदन लामाको अधिकृत वारेश नामा लिई सत्य नारायण प्रसाद रौनियार मार्फत खरिद गरेका थिए । सोही जग्गालाई कित्ताकाट गरि कित्ता नम्बर २३,२४ र २५ गरि ३ कित्तामा बनाई कित्ता नम्बर २३ को क्षेत्रफल ४ आना जग्गालाई कसुरदार महेश प्रसाद पोखरेलले आफूले समेत लिएको भनि झुक्यानमा पारी रौनियार र पोखरेल आफै सहकारीको सल्लाहकार भएको समयमा आफैले कर्जा लिखतमा साक्षी समेत बसेर कित्ता नम्बर २५ को ३१८.०५ वर्गमिटर जग्गा सहकारीका सुरक्षण (धितो) राखेर २०७२ पुस ८ गते ५० लाख रुपैयाँ कर्जा निकालेको जाहेरकर्ताको दाबी छ ।

तर, ऋण लिएपछि उनीहरुले ऋणको सावाँ तथा ब्याज नबुझाएर एक करोड ४८ लाख, ६१ हजार ७ सय ५८ रुपैयाँ भएपछि सहकारीले उक्त जग्गा लिलामीको प्रक्रिया थालेको थियो । जग्गा लिलामी प्रक्रिया थालिएपनि कुनै पनि व्यक्ति लिलाम प्रक्रियामा सहभागी नभएपछि यो जग्गाको पोल खुलेको हो । सहकारीले लिलाम आफै सकार गरि २०७६ साउन ८ गते धनी पुर्जा समेत लिएको थियो । तर, जग्गा विक्रीका गर्न खोज्दा सार्वजनिक नदिको जग्गा भन्दै कसैले पनि किन्न अस्विकार गरेका थिए । २०८० असोज २५ गते सहकारीले उक्त जग्गाबारे अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा गई बुझ्दा सो जग्गा बागमति नदिको नदि बहाव हुने बीच भागमा परेको भनि खुलेको थियो ।

सम्बन्धित खबर