बानेश्वरस्थित काभ्या स्कुलले ‘ठगी’ गरेको अभिभावकको आरोप : स्कुल भन्छ,‘बोल्न मिल्दैन’

दियोपोस्ट संवाददाता

 

 

काठमाडौं । नयाँ बानेश्वरस्थित काभ्या स्कुलले अभिभावकमाथि चरम ठगी गर्ने गरेको आरोप लागेको छ । काभ्या एकेडेमी प्रा.लीद्वारा संचालित काभ्या कलेजले ठगी गरेको भन्दै एक अभिभावकले जाहेरी दिने तयारी गरेका छन् । कक्षा ११ मा भर्ना भएका एक विद्यार्थीसँग साउन १३ गते भर्ना बापत ७५ हजार रुपैयाँ लिएको थियो ।

तर, उक्त विद्यालयमा भर्ना भएकै दिन काठमाडौं महानगरले पूर्ण छात्रवृत्तिमा पढ्नका लागि अर्को कलेजमा सिफारिस गरेपछि रकम फिर्ता माग्न गएका जिपी पौडेलले आफ्नो रकम फिर्ता नपाएका हुन् । पौडेलका अनुसार कलेजले उनलाई ४० हजार रुपैयाँ मात्रै फिर्ता गर्ने पोलिसी रहेको भन्दै हप्काएर पठाएको थियो । तर, आफूले ७५ हजार रुपैयाँ तिरेको तर, कलेजमा एक दिन पनि नगई अन्य कलेजमा पढेको हुनाले सम्पूर्ण रकम फिर्ता गर्न पौडेलले माग गरेका थिए । कलेजले भने आफूहरुको निति नै भर्ना भएका तर, अध्ययन गर्न नआएका विद्यार्थीका अभिभावकबाट ३५ हजार रुपैयाँ कटाएर मात्रै फिर्ता गर्ने बताएका थिए ।

‘कलेजको नीति नै यसरी नै पीडित बनाइने रहेछ । मैले रकम फिर्ताका लागि धेरै कोशिस गर्दा पनि अहिलेसम्म कुनै पनि जवाफ पाएको छैन,’ उनले भने,‘मैले विद्यालयको सुविधा नै उपभोग गरेको छैन भने मेरो पैसा किन काट्नु परेको हो ?’

यता विद्यालयका तर्फबाट सहायक प्रिन्सिपल निशा गिरीले आफूहरुले यो समस्या समाधान गरिसकेको बताइन् । यो विषयमा आफूले कुनै पनि प्रतिक्रिया नदिने उनको अडान छ ।
आफूलाई प्रतिष्ठित व्यावसायी बताउने आइएनजी समुहका अध्यक्ष सुलभ बुढाथोकीद्वारा संचालित यो कलेजले यसरी दर्जनौँ विद्यार्थीलाई ठगी गरेको पाइएको हो । पीडित पौडेलका अनुसार आफूले काठमाडौं महानगरपालिकामा समेत गुनासो गर्दा सुनुवाई भएको छैन ।

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख ओम प्रकाश गौतमले विगतका वर्षहरुमा पनि विद्यार्थीहरुबाट यसरी शुल्क लिने र भर्ना गर्ने गरिएकाले न महानगरपालिकाले भर्ना नगर्नु भनेर सुचना नै निकालेको बताउँछन् । महानगरलाई यस्तो विद्यालयमाथि नियमन गर्न समस्या भएको उनको गुनासो छ । विद्यार्थी वा अभिभावक आफैले कानुनी बाटोमा लड्नुपर्ने उनी बताउँछन् ।

सम्बन्धित खबर