
काठमाडौं । सिद्धलेक गाउँपालिका अध्यक्ष र स्थानिय पत्रकारहरुबीचको विवाद प्रेस काउन्सिलसम्म पुगेको छ । गत भदौ ४ गते शिक्षक सरुवा र विद्यालय समायोजनका विषयमा समाचार प्रकाशन गरिएको भन्दै अध्यक्ष परशुराम खतिवडाले पत्रकारलाई धम्की दिएको आरोपसहितका प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर, यो विवादको पृष्ठभूमिमा भने पत्रकार र पालिकाबीचको विज्ञापन र बार्गेनिङ रहेको प्रमाणसहितको उजुरी प्रेस काउन्सिल नेपालमा परेको छ ।

पालिका अध्यक्ष परशुराम खतिवडाले आफू नेतृत्वको पालिकासँग पत्रकारहरुले पैसा मागेको बिल भौचर सहितको प्रमाण पेश गरेर काउन्सिलमा उजुरी दिएका हुन् । प्रेस काउन्सिल नेपालमा विहिबार दर्ता भएको उजुरी अनुसार नेपाल पत्रकार महासंघका जिल्ला सभापति समेत रहेका सिताराम अधिकारीले संचालन गरेको ‘अडियो भिजुअल मिडिया प्रा.ली’द्वारा संचालित ‘कन्दरा समाचार डटकम’ र ‘आरआर मिडिया हाउस’द्वारा संचालित ‘बागमती कलम डटकम’ले पालिकासँग सुचना प्रकाशन नै नगरी रकम दिन माग गरेको र रकम नदिएपछि आफूहरुको विषयमा चरित्र हत्या गरि बार्गेनिङ गरेको आरोप छ ।
गाउँँपालिकासँग पूर्वस्विकृति नै नलिई विज्ञापन तथा सुचना प्रकाशन गरेको भनि रकम भुक्तानीका लागि माग गरेको बिलसहितको प्रमाण समेत उजुरीमा संलग्न छ । रकम दिने प्रक्रिया मिलाउन समय लाग्ने भनि पालिकाले जानकारी गराउँदा विवाद गर्ने, धम्क्याउनेसम्मको कार्य गरेको पालिका अध्यक्ष खतिवडाले उजुरीमा आरोप लगाएका छन् ।
गाउँपालिकाले मिति २०८२ साउन २९ गते बसेको गाउँ शिक्षा समितिको निर्णय अनुसार सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्याविधि, २०८२ को व्यवस्था अनुसार विद्यार्थीहरु नभएको वा न्युन संख्या मात्र भएको, भौगोलिक अवस्थाको आधारमा समेत विद्यार्थीहरुलाई लामो यात्रा गर्नु नपर्ने, यातायातको सूविधा भएको, भौगोलिक अवस्थाको आधारमा विद्यालय राखीराख्नु उपयुक्त नभएको आधारमा विद्यालयहरुलाई समायोजन गर्दा राष्ट्रिय ढुकुटीबाट अनावश्यक रुपमा भएको खर्च कटौती गर्न सक्ने विषयलाई समेत मध्यनजर गरी विद्यालय समायोजन तथा दरवन्दी मिलानको निर्णय भएको अध्यक्षको उजुरीमा जिकिर छ ।
कार्यापालिकाको बैठकको निर्णय अनुसार शिक्षकहरुको सरुवा तथा समायोजन गरिएको उजुरीमा भनिएको छ । ‘यस गाउँपालिकाको उल्लेखित निर्णयलाई अतिरंजित गर्ने, भ्रम पैदा गर्ने गरी समाचारहरु सम्प्रेषण गर्ने केहि फाइदा लिन पाइन्छ की भनी बार्गेनिङ तथा ब्ल्याकमेलिङ समेतका कार्य गर्नु भएको थियो,’ उजुरीमा भनिएको छ, ‘आर.आर. मिडिया हाउसद्वारा संचालित ‘वागमती कलम डटकम’को ३ भदौ २०८२ मा “सिद्धलेकमा ९ वटा विद्यालयमा समायोजनः २४ जना शिक्षकको सरुवा संगै विद्यालय वर्गिकरण” श्रोतः केशव अिधकारी भनी समाचार सम्प्रेषण गरी निर्णयभन्दा फरक समाचार प्रकाशन गर्नु भएको थियो ।’
‘तपाईहरुले आफ्नो अनलाईन पत्रिका मार्फत गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयलाई गलत रुपमा प्रस्तुत गर्नु भएको सम्वन्धमा पालिकाको कार्यालयमा छलफलको लागि बोलाई शिक्षा समितिको निर्णय सार्वजनिक जानकारीको विषय भएको तथा उक्त निर्णयमा तपाईहरुले उल्लेख गरेको “जाल्पादेवी आ.वि. सिद्धलेक–७” आवश्यकता बमोजिम उक्त स्कुलमा कार्यरत दुई जना शिक्षकको सरुवा गरिएको तथा अन्य विद्यालयबाट ३ जना शिक्षक उक्त विद्यालयमा पठाइएको थियो । साथै तपाईहरुले समाचारमा उक्त विद्यालयको शिक्षक सरुवा सम्वन्धी विवरण समेत प्रकाशित गर्नु भएको भएतापनि गलत तथ्यहरु संलग्न गरी समाचार प्रकाशित गर्नु भएको रहेछ उक्त समाचारमा भूलसुधारसहित समाचार सच्याइदिनुहोस् भनी आग्रह गरेका थियौँ । जसको सिसिटिभी फूटेज समेत संलग्न छ,’ उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ,’छलफलको क्रममा समेत केशव अधिकारी (प्रधान सम्पादक धादिङ न्यूज डटकम) र अनिल कुमार नेपाली (प्रधान सम्पादक वागमती कलम डटकम) समेत गरी आएको व्यापार सम्वन्धमा पूर्व प्रस्ताव बमोजिम निर्णय गर्नु भयो भने हामी सहयोग गर्न तयार रहेको जानकारी गराउँनु भएको थियो । सो क्रममा गाउँपालिकाको तर्फबाट कानून बमोजिम गाउँपालिकालाई आवश्यक पर्ने सामाग्रीको वोलपत्र आब्हान गर्ने तथा गाउँपालिकाले प्रकाशित गर्ने सूचना तथा विज्ञापन समेत प्रकाशित तथा प्रशारणको लागि पत्राचार बमोजिम वा वोलपत्र माग गरी छनैट गरी उपलब्ध गराउने जानकारी गराएका थियौँ ।’

अध्यक्ष खतिवडाले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (१४) अनुसार गल्ती सच्याउने तत्परता हुनुपर्ने भनि आग्रह गर्दा समेत बेवास्ता गरिएको उनको आरोप छ । आफूले गाउँपालिकाको शिक्षा समितिको निर्णय सम्बन्धमा आधिकारीक रुपमा बताउन सक्ने गाउँ शिक्षा समितिका सदस्य तथा पदाधिकारी प्रत्यक्ष श्रोतको रुपमा हुने भएकोले बुझी समाचार प्रशारण वा प्रकाशन गर्नु भएको भए श्रोता तथा पाठकहरुमा सहि समाचार सम्प्रेषण हुने थियो अथवा समाचारको स्थलगत रिपोर्ट वा उक्त विद्यालयको सम्वन्धित व्यक्तिहरुलाई सम्पर्क गरी समाचार सम्प्रेषण गर्दा उपयुक्त हुने समेतको अनुरोध गरेको खतिवडाको दाबी छ ।
तर, सामान्य छलफललाई समेत “पत्रकारलाई गाउँपालिका अध्यक्ष खतिवडाको धम्की, पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण” शिर्षकमा समाचार लेखिएको उनको आरोप छ । साथै ‘अडियो भिजुअल मिडिया प्रा.लि.’ द्वारा संचालित ‘कन्दरा समाचार डटकम’का सम्पादक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले नै विज्ञप्ति निकालेर अध्यक्षले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
गाउँपालिकाको पूर्व अनुमती नलिई सूचना तथा विज्ञापन प्रकाशित गरेको भनी रकम माग गर्ने विल पेश गर्ने, गाउँपालिका नियम विपरित स्टेशनरीका सामाग्रीहरु खरिद गर्न नसक्ने समेतको विषयलाई अन्य विषयसँग जोडी गाउँपालिकाले कानून बमोजिम गरेको निर्णयहरुलाई गलत रुपमा प्रकाशित गरी बार्गेनिङ गर्ने ब्ल्याकमेलीङ गर्ने विज्ञप्तीहरु प्रकाशित गर्ने लगायतको कार्य पत्रकार आचारसंहिता उजुरी र कारवाही सम्वन्धी कार्यविधि, २०७५ को दफा ५(थ) बमोजिमको आचरण भएकोेले केशव अधिकारी, अनिल नेपाली र सिताराम अधिकारीमाथि कारबाहीको माग गरिएको छ ।
२०८२ जेष्ठ २५ गते सिद्धलेक गाउँपालिकामा भुक्तानीका लागि पठाइएको पत्रमा कन्दरा समाचार डटकमको चिठीमा सुचना भने बेनिघाट रोराङ गाउँपालिकाको छापेको तर भुक्तानी चाहीँ सिद्धलेक गाउँपालिकाबाट माग गरिएको छ । यस विषयमा प्रश्न गर्दा पत्रकार महासंघका अध्यक्ष अधिकारीले चिठीमा मिस्टेक भएको बताए ।
अध्यक्ष अधिकारी भन्छन्,‘सबै पालिकामा यसरी नै पैसा लिने गरिएको छ’
यसैबीच नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले विज्ञापन बापतको रकम माग्दा गल्ती भएको हुन सक्ने उनले बताए । उनका अनुसार सबै पालिकाको सुचना तथा विज्ञापन अनलाइनहरुले छापेका छन् । बिल ल्याउनु न तपाईंको भनेपछि आफूले बिल लिएर गएको उनको दाबी छ ।
विज्ञापन छाप्नुअघि सम्झौता वा स्विकृति किन नलिनु भएको ? भन्ने दियोपोस्टको प्रश्नमा अधिकारीले सबैको मौखिक कुरा गरेर छाप्ने गरेको बताए । कहिले काँही रिस उठ्यो भने मात्रै उजुरी दिने चलन रहेको उनको दाबी छ । उहाँहरुको विपक्षमा समाचार लेखेपछि आफूहरु विरुद्ध उजुरी परेको उनको आरोप छ ।
तपाईंको नामबाट दुर्व्यवहार भएको भनि वक्तव्य निकालिएको रहेछ तर, सिसिटिभि फूटेजमा त्यस्तो देखिँदैन नी? भन्ने प्रश्नमा उनले सिसिटिभि फूटेज डिलिट गरिएको दाबी गरे । तर, दियोपोस्टलाई प्रेस काउन्सिलको उच्च स्रोतबाट प्राप्त फूटेजमा भने डिलिट गरिएको छैन ।
यता ‘बागमती कलम’का सम्पादक अनिल नेपालीले सन्देशमूलक सूचना प्रकाशन तथा प्रचार गरेको रकम माग गरेको स्विकार गरे । आफूले ब्ल्याकमेलिङ नगरेको उनको जिकिर छ । पालिकाको विषयमा प्रश्न उठाएपछि आफूमाथि प्रतिशोध साँधिएको उनको भनाई छ ।