३३ किलो सुनकाण्ड : एसएसपी दिवेश लोहनी, एसपी विकास खनाल र डिएसपी प्रजित केसीलाई सर्वोच्चको सफाई !

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालदतले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सफाइ दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिने आदेश गरेको हो ।

उच्च अदालतले विराटनगरले उनीहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनीहरू नियमित रूपमा कामकाज गर्दै आइरहेका थिए । थियो । यो सँगै एसएसपी लोहनी, एसपी खनाल, डिएसपी केसी र सई सञ्जेल निर्दोष सावित भएका छन् ।

त्यस्तै सुन तस्करीमा मुछिएका महाविरप्रसाद गोल्यानलाई भने १० लाख धरौटीमा माग गरी रिहा गर्न आदेश दिइएको छ। गोल्यानलाई उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

अभियोग लागेका अन्य अभियुक्तलाई भने थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालत आइपुगेको यो मुद्दामा दुइ साता लामो बहसपछि आज टुंगिएको हो ।

सर्वोच्चले पूर्व एसएसपी श्यामबहादुर खत्री, डिएसपी सञ्जयबहादुर राउत, भुजुङ गुरुङ तुलाराम थारु, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, अमरमान डंगोललगायतलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ ।