त्रिशुली बस दुर्घटना अपडेटः चितवन र तनहुँ नदि किनारमा चारजनाको शव भेटियो

दियो पोस्ट  

काठमाडौँ, साउन २४ । त्रिशुली नदिमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार विहान सर्लाहीबाट काठमाडौँबाट आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ अन्तर्गत सलाङघाट सडकबाट त्रिशुली नदिमा खसेको थियो ।

विहान पौने ३ बजे त्रिशुली नदिमा खसेको उक्त बसमा लगभग ४० जना चढेको अनुमान लगाइएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भोला अधिकारीका अनुसार तनहुँ नदि किनारमा २ जना शव भेटिएको छ । ३५÷४० बर्षका पुरुष र ४०÷४५ बर्षका महिलाको शव तनहुँको देवघाट किनारमा भेटिएको जानकारी दिएका छन् ।

त्यस्तै चितवनको नदि किनारमा पनि थप दुई शव भेटिएको छ । अन्दाजी २६÷२७ बर्षीय महिला र ६÷७ बर्षका बालक भेटिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएका छन् । दुबै ठाउँमा भेटिएको शव त्रिशुली बस दुर्घटनाकै हुन् भने मृतकको संख्या ७ पुगेको जानकारी दिइएको छ ।

यसअघि मृत्यु भएका ३ जनाको सनाखत भइसकेको छ । मृतकहरुमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ । एक जनाको भने सनाखत हुन बाँकी नै रहेको छ ।

त्यस्तै १६ जना यात्रुहरुलाई सुरक्षित रुपमा उद्धार गरिएको छ । घाइते अवस्थामा उद्धार गरिएको १६ जना यात्रुको उपचार भइरहेको छ । त्यस्तै दुर्घटनामा वेपत्ता भएका थप यात्रुहरुको खोजी कार्य तीब्र बनाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताएका छन् । धादिङ, तनहुँ, गोरखा र चितवन जिल्लाका प्रहरीहरुसंग समन्वय गरि नदि किनारमा प्रहरी परिचालन गरेर वेपत्ता मानिसहरु खोजि गरिरहेको उनले बताए ।