मुठी कस्दै रमेश खरेल भन्छन्,‘अब देशकै फोहर टिपेर फाल्नुहोस्’

दियो पोस्ट  

काठमाडौँ, ३२ साउन, २०७६ । नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक रमेश खरेलले कवाडी मात्रै होइन देशकै फोहर टिपेर फाल्न कवाडी व्यवसायीहरुलाई आग्रह गरे । शनिबार काठमाडौँको बालाजुमा सम्पन्न नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वनायव महानिरीक्षक खरेलले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्ने कार्यमा लागि पर्न आग्रह गरेका हुन् ।

‘देश सफा, स्वच्छ, सुन्दर हुन तपाईंहरुको ठूलो हात छ’ उनले भने, ‘योसँगै तपाईंहरुलाई अर्को पनि जिम्मेवारी थपिएको छ । तपाईंहरुले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्नुपर्छ । तपाईंहरु यसमा पनि सहभागी हुनुहोस् ।’ देशमा भएका विकृति विसङ्गति, भ्रष्टाचार, अपराध नियन्त्रणमा पनि कवाडी व्यवसायीहरुको योगदान हुनुपर्ने उनले बताए । उनले भने, ‘अब कवाडी टिप्ने मात्रै होइन देशको हरेक प्रकारको फोहर पनि टिपेर फाल्न लागिपर्नुहोस् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका खरेलले कवाडी व्यवसायीहरुले देशकोलागि ठूलो बलिदान र योगदान गरेको उल्लेख गरे । आफूले २९ वर्ष नेपाल प्रहरीमा जागिर खाँदा कवाडी व्यवसायीसँग् नियमित भेटघाट, छलफल र सहकार्य गरेको उल्लेख गर्दै भविष्यमा पनि यसलाई आफूले निरन्तरता दिने बताए । व्यवसायीको साथमा संघ छ र संघको साथमा म छु भन्दै खरेलले देशको नागरिकको हैसियतले के दिन सकिन्छ इमान्दारीपूर्वक दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

त्यसको लागि आफू पनि सक्षम र अनुशासित हुनु पर्ने खरेलले उल्लेख गरे । नेपालको संविधान र कानुनले के अधिकार दिएको छ त्यो बुझ्न जरुरी रहेको बताउँदै उनले आफ्ना कर्तव्य पनि भुल्न नहुने उल्लेख गरे ।

कवाडी व्यवसायीलाई आफूले उच्च दर्जाको नागरिक ठानेको उनले बताए । यो देशको नागरिक र देशका कुना कुना पुगेको नागरिकको हैसियतले आफूले देखेको, बुझेको, जानेको कुरा नेपाल प्रहरीलाई सेयर गरेर सहकार्य गर्न पनि उनले आग्रह गरे । आफू हाल नेपाल प्रहरीमा नभए पनि एक नेपाली नागरिकको हैसियतले कवाडी व्यवसायीहरुलाई सहयोग गर्न तत्पर रहेको बताए ।

साधारण सभामा नेपाल कवाडी मजदुर संघको काठमाडौँ जिल्ला समिति र गंगबु र कालिमाटी क्षेत्रीय समिति पनि गठन गरिएको थियो ।