काठमाडौं, १ भदौ । आफ्ना पति सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै सालिकरामकी श्रीमती सम्झना घिमिरे सहित परिवारका सदस्य जाहेरी दिन काठमाडौं आएका छन् । उनीहरुले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत चितवन प्रहरीमा जाहेरी दिएका छन् ।
पुडासैनीको परिवार आईतबार विहानै नुवाकोटको बेलकोटगढी नगरपालिकाबाट काठमाडौं आइपुगेको थियो । सरकारी समय सरु भएको केही बेरमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पुगेका उनीहरुलाई एसएसपी उत्तम सुवेदी बाहिर भएका कारण धेरै समय कुर्नु परेको थियो ।
प्रहरी कार्यालयको गेट भित्र रहेको एउटा सिँडीमा बसिरहेकी शालिकरामकी पत्नि सम्झनाले मिडियासँग बोल्न अस्विकार गरिन् । उनको गला अवरुद्ध भएको कारण बोल्न नसक्ने भन्दै पीडितका आफन्तहरुले दियोपोस्टसँग घटनाबारे यस्तो बताए ।
ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईँ भन्छन्,‘रविकै कारण आत्महत्या गर्न बाध्य बनाइएको हो’
शालिकराम पुडासैनी मेरो भाञ्जीज्वाँई हुनुहुन्छ । चितवनमा पुडासैनीलाई झुण्डिएको अवस्थामा भेटिएको दिन म जान सकिँन । मेरा भाइहरु त्यहाँ पुगेका थिए । शुरुमा पुडासैनीलाई कसैले मार्यो भन्ने नै आशंका थियो । तर, एकाएक भिडियो बाहिर आएपछि भने कसैले आत्महत्या गर्न वाध्य बनाएको हामीलाई पुष्टि भयो । उनले भिडियोमा विभिन्न आरोपहरु लगाएर एउटा केटीसंग फसाउन लागेको र मानसिक तनाव दिएर मर्न वाध्य बनाइएको कुुरा बताएपछि हामीेले सो भिडियोका बारेमा सत्यतथ्य छानविन होस् भनेर यहाँ आएका हौँ । मर्न वाध्य बनाइएको हो भने, बाध्य बनाउनेलाई कडाभन्दा कडा कारवाही होस्, भन्ने हाम्रो माग हो ।
एकबर्ष अगाडी ओखरपौवा स्थित डम्पिङ साइट र बाटोको विषयलाई लिएर समेत न्यूज–२४ टेलिभिजनमा पुडासैनी मार्फत नै पुगेको थिएँ । सालिकरा जी ले नै समाचार संकलन गरेर उक्त टेलिभिजनमा बजाएका थिए । सो कार्यक्रममा जाँदा उहाँहरु निकै मिलनसार देखिनुहुन्थ्यो । तर, दुईबर्षपछि एकाएक सालिकरामजीले आत्महत्या गर्नु, एकदिन पनि रविले उसको विषयमा आवाज नउठाउनु, सार्वजनिक रुपमा केही अभिव्यक्ति नदिनुलाई चाहीँ आश्चर्य लागेको छ । रविकै कारण आत्महत्या गर्न वाध्य भएको कुरा सार्वजनिक हुँदासम्म रविले पुडासैनीको बारेमा केही नबोल्नुले रवि नै दोषी हुन् कि भन्ने आशंकामा हामी छौँ ।
पीडित परिवारले जसमाथि शंका छ, मृतकले मर्नुअगाडी जुन कुरा भिडियोमा बोलेका छन् त्यो कुरालाई कुनै कञ्जुस्याँई नगरि कारवाही होस् भनि पीडित पक्षको माग छ । सोही मागअनुसार किटानी जाहेरी दिनका लागि हामी यहाँ (महानगरिय प्रहरी परिसर, काठमाडौँ ) उपस्थित भएका हौँ । परिवारजनबाट किटानी जाहेरी दिएपछि प्रहरीलाई पनि अनुसन्धान गर्न सजिलो होस् भन्ने उद्धेश्य हो ।
मुख्य कार्यलयमा दिएपनि हुन्छ भन्ने कुरा सोधपुछबाट थाहा भयो त्यसकारण हामीले यहाँबाट जाहेरी दिन खोजेका छौँ ।
चितवनमा राज्यविरुद्ध देखिएको आन्दोलन सकारात्मक होइन भन्ने मेरो मान्यता छ । किनभने घटनामा मुछिएपछि रवि मात्रै होइन जोसुकै भएपनि अनुसन्धानको दायरामा आउनुपर्छ । रवि लामिछानेले नै संचालन गरेको कार्यक्रममा अष्टमी गुरुङ यस्तै समस्या लिएर आउनुभएको थियो, मैले पनि हेरेको थिएँ । सिधा कुरा जनतासंग कार्यक्रममार्फत रविजीले आत्महत्या गर्न वाध्य बनाउनेलाई कारवाही गरिनुपर्छ भनेर आफै बोल्नुभएको छ । अहिले पनि खास घटनाक्रम त्यही नै हो ।
आन्दोलन गरेर अनुसन्धानमा खलल पुर्याउन मिल्दैन । राम्रोसंग अनुसन्धान गरेर घटनाको सत्यतथ्य बाहिर आउनुपर्यो । भोली रविजी दोषी नदेखिए ससम्मान रिहा हुनुहुन्छ , तर अनुसन्धान हुनुपर्छ ।
हामी आन्दोलन नै गर्ने पक्षमा छैनौँ । यस विषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी राज्यको भएको हुँदा उहाँहरुले निष्पक्ष रुपमा छानविन गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
सालिकराम पुडासैनीको घर रहेको स्थान बेलकोटगढी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जनक घिमिरे पनि प्रहरी परिसरमा थिए । उनले घटनाबारे यस्तो बताए ।
उहाँको पारिवारिक पृष्ठभूमी राम्रै थियो । मिलनसार व्यक्ति हुनुहुन्थ्यो । त्यसअनुसार हामीले धेरै सहयोग पनि प्राप्त गरेका थियौँ । केही समय अगाडी आफ्नै व्यवसाय गरिरहनुभएको थियो । समाज परिवर्तन गर्नुपर्छ भनेर नै सामान्य तलबमै पत्रकारीता क्षेत्रमा जानुभएको होला । समाजलाई रुपान्तरण गर्नुपर्छ भनेर नै गर्दै आएको व्यवसाय त्यागेर पत्रकारीता क्षेत्रमा लाग्नुभएको हो ।
शालिकराम जीलाई मृत अवस्थामा फेला पार्दा म आफैँ चितवन जान सकिँन । मेरो छोरासहितको टिम नै गएको थियो ।
आत्महत्या भनिएको थियो तर तस्वीर हेर्दा कसैले मारेर झुण्डाएको देखिन्थ्यो । त्यहाँ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पनि कसैले मारेर झुण्डाएको हुनसक्ने बताएका थिए ।
पछि शालिकजीको मोबाइल भेटियो र त्यसमा रहेको भिडियोमा रुँदै पीडा व्यक्त गरेको पाइएपछि थप अनुसन्धान शुरु भएको हो । भिडियोमा उहाँले किटानका साथ आफुलाई मर्न वाध्य पार्ने व्यक्तिहरुको नाम लिएका छन् ।
त्यसै आधारमा ३ जनाको नाममा किटानी जाहेरी दिनका लागि हामी यहाँ आएका हौँ । हिजो १३ दिनसम्मको काम सक्किएपछि हामी यहाँ आएका हौँ । परिवारको सदस्य पनि स्वस्थ नभएको कारण चितवन पुग्न नसकेको हुँदा काठमाडौँ प्रहरी परिसरमै किटानी जाहेरी दिन लागेका हौँ ।