धादिङ, ११ भदौ । धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले हरितालिका तीजको अवसरमा भड्किलो र खर्चिलो कार्यक्रम गर्नेलाई कारबाही गर्ने भनेर गएको साउन २७ गते विज्ञप्ती नै निकाले ।
विज्ञप्ती निकालेको २ हप्तापछि एक तिज विशेष कार्यक्रममा उनी छमछमी नाच्न भ्याए । प्रमुख जिल्ला अधिकारी पाण्डेयकै उपस्थितिमा भदौ १५ गते दर खाने कार्यक्रम पनि सार्वजनिक भएको छ । आफ्नो परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिने बाहेक अरु कुनै कार्यक्रम नगर्न विज्ञप्ती नै निकालेर उर्दी जारी गरेका उनले आफ्नै विज्ञप्तीको उलंघन गरेका हुन् ।
राजनीतिक दल, नागरिक समाज र पेशागत संघसंस्थाहरुलाई पनि तीज विशेष कार्यक्रमहरु नगर्न भनेका प्रमुख जिल्ला अधिकारी पाण्डेयले उनै पेशागत संघसंस्था, नागरिक समाजका व्यक्तिहरुसँग नै नाचेका हुन् ।
उनले विज्ञप्तीमा ‘धार्मिक, साँस्कृतिक तथा सामाजिक पर्वहरुका सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमन गरेको छ’ भनेका छन् ।
उनले भनेअनुसार त्यस्ता औपचारिक कार्यक्रम गर्नेलाई त्यहि ऐनमा टेकेर कारवाही हुनुपर्ने हो । तर, उनी आफैं तीज गीत विशेष कार्यक्रममा छमछमी नाच्न पुगेपछि यो ऐन कसले लगाउने हो ? कारबाही कसले गर्ने हो ? चौतर्फी धादिङवासीहरु प्रश्न गरिरहेका छन् ।
सामाजिक संजालमा व्यापक आलोचना
प्रमुख जिल्ला अधिकारी पाण्डेयले आफैले विज्ञप्ती उलंघन गर्दै तीज गीत विशेष कार्यक्रममा छमछमी नाच्न पुगेपछि सामाजिक संजालमा चौतर्फी आलोचना भैरहेको छ । पत्रकार सिताराम अधिकारीले आफ्नो फेसबुक मार्फत भिडियो, फोटो र विज्ञप्ती सहित पोष्ट गर्दै आलोचना गरेका छन । उनकै पोष्टमा कमेन्ट गर्दै धादिङका अधिवक्ता तोलाकुमारी पाठकले प्रमुख जिल्ला अधिकारीले आफैं ‘नौटंकी’ हुने काम गरेको बताएकी छिन् ।
उनले भनेकी छिन्,‘लाज लाग्यो मलाई त, नौटंकी गर्न आउने रहेछ’ पत्रकार अधिकारीको स्टाटसमा धेरे व्यक्तिहरुले उनको यो कदमप्रति चर्को आलोचना गरेका छन् ।
अवैध बालुवाखानीको मनोमानीमा सिडियो साप मौन !
प्रमुख जिल्ला अधिकारी पाण्ड्येकै कारण धादिङमा अवैध रुपमा चलिरहेका बालुवाखानीहरुको मनोमानी छ । उनीहरुले खनेको खाल्डोमा परी मृत्यु हुनेहरुको संख्या बढ्दो छ ।
केहि दिनअघि गजुरी गाउँपालिकाको साविक किरान्चोक गाविसमा २ जना स्थानियबासीले अवैध रुपमा बालुवा उत्खनन् गर्न खनिएको खाल्डोमा परी ज्यान गुमाउनु पर्यो ।
ज्यानमारा बालुवा व्यापारीलाई कारबाही गरी मुद्दा चलाउनुको सट्टा सिडिओकै मिलेमतोमा मिलापत्र गराइएको स्थानियको आरोप छ ।
सिडिओ भन्छन्,‘दिदि बहिनीले साह्रै अनुरोध गरेर गइदिएको हुँ’
यसैबीच प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले स्कुल र क्लबले आयोजना गरेको कार्यक्रममा पुगेको बताए । ‘मैले तडक भडक नगर्ने, पार्टी प्यालेसमा नगर्ने भनेर विज्ञप्ति निकालेको हुँ,’ पाण्डेले भने,‘स्कुलको कार्यक्रममा दिदि बहिनीले बोलाएर सिडियो साप पनि आउनुुपर्छ भनेर साह्रै अनुरोध गरेको हुनाले गइदिएको हुँ । त्यस्तो नराम्रो केही गरेको होइन ।’
उनले बालुवा झिक्दा मृत्यु भएका व्यक्तिको घटना मिलेमतोमा मिलाएको आरोप पनि अस्विकार गरे ।
‘मेरो कुनै समलग्नता छैन । केही हाम्रो गल्ती भए गल्ती भयो भनेर लेख्दिनुस् तर म राम्रै गर्ने भावना बोकेर आएको हुँ,’ पाण्डेले भने ।
फोटो र भिडियो सिताराम अधिकारीको फेसबुक वालबाट