रीता बुढाथोकी
रिमी र झिमी पानी है पर्यो मकैको पातलाई,
जन्मेको ठाउँमा मरनु छैन छोरीको जातलाई
लालुमाई छोरीको जातलाई…….
यस्तै गीतहरु बज्थे उतीबेला । तीजको दिन घरधन्दा सकेर सबै महिलाहरु नजिकैको डाँडामा जम्मा हुन्थे । कोही रातो साडीमा झपक्कै गहनाले भरिएका, कोही आफ्नो गक्ष अनुसारका पहिरनमा सजिएका महिलाहरु गीत गाउँदै दिल खोेलेर नाच्थे । डाँडामा भेला भएका महिलाहरु बीच नयाँ साडी र गहनाको प्रतिस्पर्धा नै चल्थ्यो । लाग्थ्यो, तीज गहना प्रदर्शन गर्ने चाढ पनि हो । यद्यपी, गहनामा सजिएका महिलाहरु नै लाउन पाइन र खान पाइन भन्दै गीत गाउँथे र कम्मर मर्काउँदै नाच्थे । त्यो देख्दा एक प्रकारको अचम्म पनि लाग्थ्यो । उनीहरुको पहिरन र गीतमा कहिँ कतै मेल खाए जस्तो लाग्दैनथ्यो । वास्तवमा उनीहरु रातोे साडी र गहनामा महिला मुक्ति खोजिरहेका थिए ।
गरिबी, पछौटेपन र अभावका कारण गहना तथा नयाँ साडी किन्न नसक्नेहरुको ठुलो हिस्सा पनि त्यही भेटिन्थ्यो । गहना लगाउनेहरुले गहना नहुनेहरुलाई ब्यङ्ग्य गरिरहेको अनुभुति हुन्थ्यो त्यतीबेला । यद्यपी, वर्षदिनसम्म एउटै साडीले गुजरा चलाउने महिलाहरु पनि त्यही जम्मा हुन्थे । उनीहरुले नयाँ साडी लाउन नपाएको दुखेसो गीत मार्फत पोख्थे ।
एक वर्ष काट्नु पर्छ खद्दरको साडीले
त्यही पनि फाटिसक्यो घाँसको भारिले…..
खद्दरको साडीसंगै फाटेको मन सम्हाल्न तीजमा गीत बनाएर गाइन्थ्यो र नाचिन्थ्यो । पराई घर गएपछि घाँँस दाउरा र चुलो चौकोमै रुमल्लिएका चेलीहरु माइती घरको अगनमा उन्मुक्त भएर नाँच्ने दिन तीज भए पनि समयक्रमसंगै यो भड्किलो बन्दै थियोे ।
गाउँघर तिर तीज मनाउने बेग्लै परम्परा थियो । साउने संक्रान्तिदेखि नै गाउँको तीज सुरु हुन्थ्यो । संक्रान्तिदेखि हरितालिका तीज र पन्चमीको दिनसम्म हरेक साँझ प्राय जसो जोर मादल बजेकै हुन्थ्यो । दिन भरि काम गरेर घर फर्केपछि साँझको खाना खाएर सबैजना एउटा घरमा जम्मा भई रातभरि नाँच गान गर्थे । के बुढा–बुढी, के केटा–केटी, युवा–युवती सबैजना रमाइलोमा झुम्थे । रमाइलो मात्रै हुन्थेन, महिला, दिदी–बहिनीका पीडा, बेदना, र समाजको समसायीक बिकृति बिसंगती पनि गीतमा झल्किएको हुन्थ्यो । सासुबाट हेलित हुनु परेको, श्रीमान बाट प्रताडित भएको, पराई घरमा झेल्नु परेको दुःख, राम्रो लाउन र मिठो खान नपाएको जस्ता प्रसंगलाई तीजमा गीत मार्फत व्यक्त गरिन्थ्यो । तर, बिस्तारै गाउँघरको तीजमा थुप्रै बिकृति देखा पर्न थाले । तीजमा अस्वभाविक प्रतिस्पर्धा र तडक भडक देखिन थाल्यो ।
म सानै थिएँ । तीज नजिकिँदै थियो । एकदिन आमाले बुवासंग गुनासो गर्नु भयो । “सबैका लाउने र फेर्ने गहना छन् । तर, मसंग तीजमा लगाउने एकसरो राम्रो गहना पनि छैन, यसपाली केही गहना किन्न पाए नि हुन्थ्यो ।” यसको जवाफमा बुवाले भन्नु भएथ्यो, “गहना नलगाएर कोही मरेका छैनन्, पर्याछैन गहना किन्न ।” त्यस दिनदेखि आमाले गहना लगाउने इच्छा व्यक्त गर्नु भएन । जे छ त्यसैमा चित्त बुझाउनु भयो । मैले जान्दासम्म आमा तीजमा माइत गएको पनि थाहा पाइन । बुवा जागिरमा, हामी साना भएकाले पनि होला । घर ब्यवहार र बस्तु भाउ सम्हाल्दैमा आमालाई भ्याइ नभ्याई थियो ।
अरु महिलाहरु नयाँ साडीमा सजिएर माइत गएको देख्दा आमालाई पनि रहर लाग्दो हो । तर, आमाले त्यो रहर कसैसंग ब्यक्त गर्नु भएन । पुरानै साडीमा पनि आमा राम्री देखिनु हुुन्थ्यो । किन किन, नयाँ साडी र गहनामा सजिएका अरु महिला भन्दा मेरी आमा निकै सुन्दर लाग्थ्यो ।
तीज सकिएको हप्तौँसम्म डाडाँमा आउने महिलाहरुको चर्चा हुन्थ्यो । कसले कति गहना लगायो, कसले कस्तो साडी लगायो, आदि इत्यादी । “फलानीले कति राम्रो साडी लगाएकी, कहाँबाट किनेकी होली, कति पर्यो होला ? डिस्कानीले चाहीँ किन नलगाएकी होली ? तीजमा एउटा राम्रो साडी लाउन नसक्नेले के को फुर्ति लगाउनु ?” मेलापात जाँदा गरिने यि र यस्तै अस्वभाविक तर्क बितर्कले समाजलाई गिजोलेको थियो ।
हुन त, संस्कृति मानवको जीवनशैली पनि हो । तर, यही संस्कृति मानव जीवनको उत्सव बन्नुपर्नेमा विभेद कोर्ने काँडा बनिरहेको छ । यसले महिला–महिलाबीच विभेदको पर्खाल खडा गरिदिएको छ । तीजका बेला रमझम गरेर हिँडेको देख्दा आवरणमा महिलाहरू स्वतन्त्रजस्ता देखिएता पनि भित्रीरूपमा भने झनै बन्धनमा बाँधिएका छन।
विद्यालयको पढाई सकिए पछि म उच्च शिक्षाका लागि शहर आए । शहरका महिलालाई पनि तीज आउथ्यो । तर, शहरमा मनाइने तीज र गाउँमा मनाइने तीजबीच तात्विक फरक भेटिन । गाउँको परम्परागत तीज भन्दा शहरको तीजमा असमानताका घेराहरु प्रशस्तै थिए । तर, महिला महिलाबीचको असमान प्रतिस्पर्धाबाट शहर पनि अछुतो थिएन । गाउँमा भन्दा बढी तडकभडक शहरमा थियो ।
दरका नाममा चन्दा बटुल्ने, लाखौ खर्चिएर विभिन्न पार्टि प्यालेसमा भोजको आयोजना गर्ने र वाइन र दारुमा झुम्ने शहरिया तीजको एक झलक थियो । पाँचतारे होटल र डान्सबारमा तीजका भाकाहरु रत्यौलीमा रुपान्तरित भएका थिए । परम्परागत रुपमा हिन्दु महिलाहरुले महान चाड भनेर मनाउदै आईरहेको तीज तडकभडक सहित महिना दिन अघि देखि मनाइनु एक सकिसिमको बिकृति जस्तै बनेको थियो ।
सासु, नन्द–आमाजुले दिएको दुःख–पीडा साटासाट गर्ने, गुनासा पोख्ने चाड भनिएपनि तीज कस्को साडी कति महँगो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको थियो । तीजमा हैसियत प्रदर्शन गर्दा सम्पन्न परिवारमा त रमाईलै होला तर विपन्न पविारमा झै–झगडा र आत्महीनता बोध गराउँन सक्छ । पछिल्लो समय तीजले वर्ग बिभाजनमा ठुलो भुमिका खेलेको पाइन्छ । विपन्न घरका दिदीबहिनीहरुलाई पर्वको गर्जो टार्न र जोहो जुटाउन मुस्किल हुने गर्छ । गरिबका घरमा त चाढपर्वहरु पीडा र चोट बोकेर आएका हुन्छन् ।
यद्यपी, तीज हिन्दु महिलाहरुको मात्रको चाढ हो । नारी मुक्तिको गीत गाउने स्वतन्त्रताको चाड भनिए पनि यसले अन्य धर्ममा आस्था राख्ने महिलालाई जोड्न सकेको छैन । हिन्दु धर्मको पौराणिक कथा अनुसार पार्वतीले शिवलाई पतिको रुपमा पाउनका लागि निराहार ब्रत बसेर शिवलाई प्राप्त गरेको भन्ने धार्मिक बिंवदन्ती छ ।
त्यहि पौराणिक कथाको अनुसरण गर्दै हिन्दु महिलाहरुले आफ्नो पतिको दिर्घायुको तथा सु–स्वास्थ्यको कामना गर्दै निराहर ब्रत बस्ने चलन चलिआएको पाईन्छ । हिन्दु धर्मग्रन्थमा पतिलाई परमेश्वरको रुपमा मान्नुपर्ने उल्लेख छ । त्यसकै निरन्तरता स्वरुप तीजमा आफ्ना पतिको लामो आयुको कामना तथा योग्य बर पाउने अपेक्षा स्वरुप ब्रत बसिन्छ ।
तीज पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक प्रथालाई समाजमा वैद्यता दिने चाड हो । यो पर्व पुरुषको प्रभुत्वलाई आत्मसाथ गर्दै पतिलाई श्रेष्ठ ठान्ने, पतिलाई प्रत्यक्ष देवता मानेर पूजा गर्ने, पुरुषलाई लौकिक देवताको रुपमा पूजा गर्ने परम्परागत चाडको रुपमा बिकसित भएको पाइन्छ । युगौंदेखि महिलालाई दासको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन र स्वयंम महिलाहरु पनि तीज जस्ता पर्वहरुको माध्यमबाट पितृसत्तात्मक प्रबृतिलाई समाजमा स्थापित गराउन चाहान्छन् । यो चिन्तनले साँस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक पक्षलाई पनि प्रभाव पारेको पाइन्छ ।
यद्यपी, पितृसत्तात्मक चिन्तनले भरिएको समाजकै चिन्तन परिवर्तन हुनुपर्छ मान्यता पनि नराखिएको होइन । महिला र पुरुषबीचको विभेद हटाई समान सहभागिता खोजिनु पर्छ भन्ने आमुल आवाज बेला बेलामा उठ्ने गर्छन् । नारी मुक्तिको प्रश्न संस्कृतिसँग मात्र जोडिएको छैन ।
राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रुपमा पनि पहुँच हुनु पर्ने बहस चलेको देखिन्छ । वर्गीय मुक्ति विना नारी मुक्ति संभव हुन सक्दैन भन्ने महिलावादी चिन्तन पनि एकाथरि महिलाहरुमा देखिन्छ । तर, अधिकांश महिलाहरुले यो कुरा मान्न तयार छैनन् । दुई सयको फरिया फेर्न नपाएर माईत जान नपाउने र बीस हजार भन्दा बढी मुल्य पर्ने सिताराजडित साडीमा सजिने महिलाका बीचको वर्गीय खाडल मेटाउने तर्फ आजको बहस चल्नु पर्छ ।
तीज महिला र पुरुष वीचको विभेद अन्त्यको चाढ बन्नु पर्नेमा त्यसो हुन सकेको छैन । तीजमा श्रीमानको लामो आयुको कामना गर्दै श्रीमतीले निराहार ब्रत बस्दा श्रीमानले पनि श्रीमतीको नाममा ब्रत बस्नु पर्ने खालका प्रसंग पनि यदाकदा सुनिने गर्छन । तर, कसैको नाममा ब्रत बस्दा आयु लम्बिने, नबस्दा छिटो मृत्यु हुने भन्ने कुुनै बैज्ञानिक तथ्य भने भेटिँदैन ।
तथापी, तीज महिला मुक्तिको पर्व बन्न सक्नु पर्छ । महिला र पुरुषबीच समानताको पर्व बन्नु सक्नु पर्छ । हुने खाने र हुँदा खाने महिलाबीचको दुरी मेट्ने चाढको रुपमा बिकसित हुनु पर्छ ।