काठमाडौं, १३ भदौ । भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार घनेन्द्र अधिकारीले मुद्दा मिलाइदिन्छु र जिताइदिन्छु भन्दै प्रतिवादीसँग घुस लिएको खुलाशा भएको छ । सम्बन्ध विच्छेदको मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीसँग ५० हजार असुलेको आरोपमा अधिकारी विरुद्ध सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासम्म उजुरी पुगेको छ ।
छानबिन र कारबाहीका लागि प्रधानन्यायाधीश जबरालाई संबोधन गर्दै सर्वोच्च अदालतमा दर्ता गराइएको निवेदनमा दर्ता भएको हो ।
‘वादीले तारेख गुजारेको र प्रतिवादीले स्वतः मुद्दा जित्ने अवस्थामा घनेन्द्रले प्रतिवादीका आफन्त महेन्द्र प्रजापतिमार्फत न्यायाधीशको नाम भजाएर मुद्दा जिताइदिन्छु भनी साउन १५ गते ५० हजार खाएका हुन्,’ उजुरीमा भनिएको छ ।
वादी रमेश कसलवत र प्रतिवादी तुल्सीदेवी भैल रहेको मुद्दा नम्बर ०७५–सिपी–१०१८ को सम्बन्ध विच्छेद सम्बन्धी झगडामा वादीले तारेख गुजारेकी थिइन् । उनले मुद्दा छाडिदिएपछि स्वतः प्रतिवादीले जित्ने व्यवस्था रहेको भए पनि घनेन्द्रले झगडियाको अज्ञानता र सोझोपनको फाइदा उठाई ५० हजार लिएको आरोप लागेको छ। न्यायाधीश रमेशप्रसाद अधिकारीको फाँटमा रहेको यो मुद्दामा वादीले नै तारेख गुजारेपछि स्वतः खारेज हुने भए पनि जिताइदिने भन्दै अधिकारी थरकै स्रेस्तेदारले ५० हजार लिएको आरोप लागेको हो । श्रेष्तेदारले घुस लिएपछि न्यायधीश अधिकारी समेत विवादमा तानिएका छन् ।
घनेन्द्र देव गुरुङ कानुनमन्त्री भएको बेला ०६५ सालमा काठमाडौं जिल्ला अदालतमा बस्दा माओवादी हुँ भन्दै अतिरिक्त कमाइ गर्न सकिने तहसिल शाखामा बसे ।
दुई वर्षमा प्रावधानबमोजिम सरुवा भयो तर प्रभाव प्रयोग गरी त्यहीं जमे । त्यहीं बस्दा अदालतको कोष हिनामिना गरेको आरोपमा अहिलेसम्म पनि सफाइ लिएका छैनन् ।
बझाङ जिल्ला अदालत भवन करोडौं लागतमा निर्माण हुन लागेको थाहा पाउनासाथ बसिरहेको कार्यालयमा दुई वर्ष नपुग्दै गए ।
दुई वर्ष पुगेपछि नियमित सरुवा त भयो तर रमाना नबुझी एक वर्षजति बसेर निर्माण सम्पन्न भएपछि मात्र हिँडेका हुन् । अहिले पनि पोस्टिङ भएको तीन महिनामै वरिष्ठ उपसचिवहरूलाई जिल्याएर भक्तपुर जान सफल भएका छन् ।
भक्तपुर जिल्ला अदालतको १३ करोडजतिको नयाँ भवन निर्माण भइरहेको छ । १३ करोडको भवन निर्माणमा पनि धनेन्द्रले गिद्दे नजर लगाएको स्रोतको भनाई छ ।
के भन्छन् अधिकारी ?
दियोपोस्टको सम्पर्कमा आएका श्रेष्तेदार अधिकारीले आफ्नो चरित्र हत्या भएको बताए ।
‘पहिलो कुरा त्यो न्युज दिने मान्छेसँग सत्य तथ्य न्युज लिएर समाचार प्रकाशन गरिदिनुहोला । यो प्रधानन्यायधीशकोमा पनि छलफलको विषय भएको छ,’ अधिकारीले भने,‘म यो मान्छे पक्ष कोहीलाई चिन्दिनँ । त्यो पीडितलाई बोलाएर सोध्नु भयो भने पनि वास्तविकता आउँछ । सत्य तथ्य न्युज लेख्नु होला । नखाएको मान्छेलाई घुसको आरोप लगाइयो ।’
आफू बारे गलत समाचार आएपछि स्तब्ध भएको उनले बताए । दियोपोस्टले एक साप्ताहिकबाट खबर साभार गरेको समेत उनले बताए ।
उनले आफ्नो खण्डन ननिकाले कानुनी रुपमा मुद्दामा जाने समेत चेतावनी दिए ।
प्रकाशित निवेदनमा आफूमाथि भौतिक कारबाहीको चेतावनी समेत रहेको उनले बताए ।
उनले आफू संवैधानिक मुद्दा महासाखामा डेढ वर्षसम्म प्रमुख भएर चलाएको समेत बताए ।
‘मलाई पनि पत्रकारीता थाहा छ । धेरै कम्प्लीकेशन मुद्दाहरु अध्ययन गरेको छु । नेपाल पत्रकार मञ्च (नेपाल पत्रकार मञ्च भन्ने कुनै पत्रकार संघ वा संस्था छैनन्) कै कतिवटा मुद्दाहरु छन्,’ अधिकारीले भने,‘संवैधानिक मुद्दा महासाखाको सुपरिटेन्डेन्ट को थियो भनेर बुझ्नुस् । मै हुँ । तपाईंको व्यावसायीकता र मर्यादा होला नी ?’