काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली फेरी विवादमा आएका छन् । उनले आगामी संघ तथा प्रदेश सभा निर्वाचनका परिचालनका लागि एक विवादास्पद व्यापारीबाट घर नै उपहार लिएको पाइएको छ ।
दरबारमार्ग सामुहिक बलात्कारको रुपमा चर्चित एक घटनाको मुख्य अभियुक्त विकास गौतमले किनिदिएको दमकस्थित घरमा ओली निर्वाचन अवधिभर उक्त घरमा बस्नेछन् ।
आफ्नो नामको सबै सम्पत्ति केपी ओली फाउन्डेशनलाई दिएको भन्दै कुनै पनि निजि सम्पत्ति नजोडेको दाबी गर्ने ओलीलाई गौतमले घर नै उपहार दिएपछि सामाजिन सञ्जालमा चर्को विरोध र बहस हुन थालेको छ । अनलाइन खबरमा विनु सुवेदीले लेखेको खबर अनुसार गौतमले डेढ करोडमा किनेको घरलाई ८५ लाख खर्च गरेर मर्मत सम्भार गरिएको छ । ओली प्रवेश गर्ने गेटलाई रिमोट कन्ट्रोलबाट सञ्चालन हुने बनाइएको छ ।
को हुन् ओलीलाई घर दिने विवादास्पद गौतम ?
मकवानपुर घर भएका गौतम पेशाले निर्माण व्यावसायी हुन् । तर, उनी आपराधिक घटनामा समेत जोडिएका पात्र हुन् ।
२०७४ माघमा भएको दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका आरोपीमध्ये गौतम पनि एक थिए ।
कैलालीकी २२ वर्षीया युवतीलाई प्रेमी रामेछापका शैलेश कार्कीले घटना भएको दिन भेट्न भन्दै लाजिम्पाट बोलाएका थिए । दिनभरि मादक पदार्थ सेवन गरेर राति सँगै बस्न भन्दै उनीहरु दरबारमार्गको ल्याण्डमार्क होटल गएका थिए ।
तर युवती बेहोसी अवस्थामा रहेका बेला राति शैलेशका साथी दीपक श्रेष्ठ र यिनै ठेकेदार गौतम लगायतले युवती बसेको कोठा नम्बर ४०५ मा पुगेर पालैपालो बलात्कार गरेको भन्दै प्रहरी कहाँ जाहेरी परेको थियो ।
आफूविरुद्ध पनि जाहेरी परेको थाहा पाएपछि ठेकेदार गौतमले प्रहरीकै रोहबरमा ३० लाख रुपैयाँ पीडितलाई दिएर घटना सामसुम पार्न खोजेका थिए । तर बलात्कार जस्तो घटनामा मिलापत्र गराएको सूचना चुहिएसँगै दरबारमार्गका तत्काली डीएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी लगायतका प्रहरी अधिकृतहरु पनि कारबाहीमा परेका थिए ।
गौतम भने भागेर भारत पुगेका थिए । उनी मकवानपुरका एकजना एमाले नेताका छोरासमेत हुन्, उनी मोतीदान कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत हुन् । जिल्ला अदालत काठमाडौंले गौतमलाई १४ महिना कैद सजाय गर्ने फैसला गरेको थियो । फैसलापछि अदालतमा हाजिर भएका उनी कैद भुक्तान गरेर छुटेका हुन् ।