लम्पी स्किन खोप किर्ते काण्डका ‘योजनाकार’ बडाललाई विभागकै उच्च अधिकारीको संरक्षण !

दियो पोस्ट  

काठमाडौं । पछिल्लो समय पशुमा महामारीको रुपमा फैलिएको लम्की स्किन रोगविरुद्धको नक्कली खोप आयात तथा बिक्री  वितरणमा पशु सेवा विभागकै उच्च अधिकारीको मिलेमतो देखिएको छ । कान्तिपुर भेट डिस्टिब्युटर्सले नेपालमा ८ लाख डोजभन्दा बढी खोप आयात गरेको थियो । उक्त खोपको कागजात नै शंकाष्पद र नक्कली रहेको विषयमा दियोपोस्टले खुलाशा गरेपछि यस्तो अपराधमा विभागकै कर्मचारीको संलग्नता देखिएको हो ।  उक्त कम्पनीले नक्कली खोप आयातमा पशु सेवा विभागका उच्च अधिकारीको पनि मिलेमतो रहेको खुलेसँगै विभागले सूचना दिन नै आनाकानी गरेको थियो । पछि सूचनाको हक प्रयोग गरे दियोपोस्टले निवेदन लेखेपछि मात्रै उक्त कम्पनीले आयात र बिक्री तथा वितरण गरेको खोप नक्कली भएको पुष्टि भएको थियो । साथै विभागमा पेश गरिएका कान्तिपुर भेटको कागजात समेत नक्कली भएको तथ्य खुल्यो ।
पशुमाथिको अपराध र किसानमाथिको ठगीमा विभागका उच्च कर्मचारीको ठूलो भूमिका देखिएको छ । औषधि आयतका लागि विभागबाट यस्ता कम्पनीहरुले अनुमति लिएपछि मात्रै आयात तथा विक्री गर्न पाउने मापदण्ड छ । तर कान्तिपुर भेट डिस्टिब्युटर्सका मालिक ऋषी बडालले कम्पनीको सम्पूर्ण कागजात नै नक्कली पेश गर्दा विभागका केही अधिकारीहरुले अनुमति दिएका हुन् । यो विषयमा विभागका पूर्व महानिर्देशक सम्झना कुमारी काफ्लेसँग पटक–पटक सम्पर्क  गर्न खोज्दा उनी सम्पर्कविहीन छन् । यो कम्पनीले नक्कली कागजात पेश गरेर खोप आयात गर्न अनुमति पाउदा काफ्ले नै विभाग प्रमुख थिइन् । यो विषय बाहिरीएसँगै उनलाई मन्त्रालय तानिएको छ । विभागमा हाल उमेश दाहाल महानिर्देशक छन् । तर, उनले समेत छानबीन गर्न आँट गर्न सकेका छैनन् । स्रोतका अनुसार विभागको महानिर्देशक बनाउन उनै नक्कली कागजात बनाउने र गुणस्तरहिन खोप विक्री गर्ने ऋषी बडाल लगायत समुहको भूमिका थियो ।
नक्कली खोप आयात तथा बिक्री वितरण गर्ने कान्तिपुर भेटका मालिक ऋषी बडाल नेकपा एमालेका नेता पूर्वमन्त्री केशव बडालका भतिजो नाताका व्यक्ति हुन् ।  ऋषीले आफूलाई केशवको छोरा हुँ भन्दै यस्तै नक्कली धन्दा गर्दै आएका छन् । नक्कली कागजातको आधारमा खोप आयातको अनुमति दिन भेटेनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला बुढानिलकण्ठका कर्मचारी नविन उपाध्यायको भूमिका पनि शंकाष्पद छ । तर, उनले आज प्रकाशित नागरिक दैनिकमा भने आफू अन्यौलमा परेको बताए । ‘हामी नै यो विषयमा अन्यौलमा परेका छौँ । राम्रो होला भनेर खोप खरिदको अनुमति दिइयो तर, विवाद आयो । यसको परिक्षण गर्ने नेपालमा प्रविधि छैन । त्यसकारण हामी अन्यौलमा परेका हौँ,’ उनले भनेका छन् ।
विश्वभरका मुलुकमा पशुका लागि दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको सहयोग केन्द्रका रुपमा स्थापित प्रयोगशालाबाट प्रमाणित भएको हुनुपर्छ । विश्व पशु स्वास्थ्य संगठनले यसरी स्थापित गरेको प्रयोगशालामध्ये अफ्रिकन युनियनले स्थापना गरेको एयु प्यान भ्याक नामक प्रयोगशाला ईथिओपियामा छ । सोही एयुको प्रमाणपत्र नक्कली बनाएर कान्तिपुर भेट डिस्टिब्युटर्सले आम किसानको पशु जीवनमा नक्कली भ्याक्सिन वितरण गरिरहेको खुलेको हो । कान्तिपुरले विभागमा पेश गरेको एयुप्यान भ्याकको सर्टिफिकेट हामीले एयुका आधिकारीक प्रतिनिधिलाई भेरिफाई गराएका थियौँ । ती प्रतिनिधिले उक्त सर्टिफिकेट नक्कली रहेको जवाफ दिएका छन् ।
विभागमा कान्तिपुरले हेस्टर बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियादवार उत्पादिन खोप सर्टिफाइड भएको प्रमाण पेश गरेको छ ।
 जसमा रिपोर्टको डिटेल क्युसिआर अर्थात क्वालिटी कन्ट्रोल रिपोर्ट २१०७ मा डिटेल रहेको बताइएको छ । तर, उक्त रिपोर्ट गायब छ । दियोपोस्टले विभागका सूचना अधिकारी ढकालसँग क्युसिआर रिपोर्ट खै भनेर प्रश्न गर्दा उनी जवाफविहीन भएका छन् । उनले पशुसेवा विभागकै भेटेनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला बुढानिलकण्ठका कर्मचारी नविन उपाध्यायलाई सम्पर्क गर्न भने । तर, विभागका उपाध्यायको मोबाइल तीन दिनदेखि स्विच अफ छ । स्रोतका अनुसार प्रकरणबारे दियोपोस्टले खोज गर्न थालेदेखि नै उनी सम्पर्क विहिन छन् । उपाध्यायसहित विभागका अन्य कर्मचारीको यो प्रकरणमा संलग्न रहेको देखिन्छ ।
०००
कान्तिपुर भेटले हेस्टर बायोसाइन्स अफ्रिका लिमिटेड किबाह तान्जानियाबाट उत्पादित एलएसडी भ्याक्सिन बिक्री गरिरहे पनि हालसम्म उक्त कम्पनीले एलएसडी भ्याक्सिन उत्पादनको अनुमति नै पाएको छैन । एलएसडी भ्याक्सिन हेस्टरले पाएको हालसम्मको अपडेटमा देखिँदैन । तर, दियोपोस्टलाई हेस्टरबाट प्राप्त खण्डनमा भने आफूहरुले एलएसडी लाइभ भ्याक्सिनको अनुमति पाएको उल्लेख गरिएको छ । तर, एयु प्यानभ्याकबाट कुनै सर्टिफिकेट प्राप्त हामीलाई प्राप्त भएको छैन । विभागबाट हामीलाई प्राप्त कागजातलाई आधार मान्ने हो भने यो सरासर किर्ते कार्य हो ।
 कान्तिपुर भेटले पेश गरेको सर्टिफिकेटमा भ्याक्सिनको नाम (एलएसडी लम्पी सिल्ड—एन) उल्लेख छ । जबकी यो जोभ्याक नामक कम्पनीले उत्पादन गरेको भ्याक्सिन हो । जोर्डन बायोईन्डस्ट्रिजले उत्पादन गदैै आएको छ । एयु प्यानभ्याकले उपलब्ध गराउने सक्कली प्रमाणपत्रमा क्युसिआर रिपोर्टकोे डिटेल हुने गरेको छ । तर, उनले पेश गरेका काजगजातमा क्युसिआरको रिपोर्ट नै गायब छ ।
‘एयु प्यानभ्याकले त्यस्तो प्रमाण पत्र दिने गरेको छैन । यो पनि नोट गर्नुहोला । हामीले दिने सर्टिफिकेटमा सबै डिटेल हुने गरेको छ,’ दियोपोस्टको प्रश्नको जवाफ दिँदै एयुप्यान भ्याकका प्रतिनिधि इथेल चित्संगोले भनेका छन्,‘जो यो रिपोर्टमा देखिएको छैन । यो सर्टिफिकेट आधिकारीक होइन ।’
यो भाइरसका कारण नेपालमा अर्बाैको क्षति भएको छ । विभिन्न मुलुक हुँदै पूर्वी नेपालमा देखिएको यो रोग पछि देशका ७७ वटै जिल्लामा फैलियो । यो रोगका कारण नेपालमा हजारौं पशुहरु मरे भने, अहिले पनि करिब १ लाख पशु संक्रमित छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करिब एक महिनाअघि सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ । अहिलेसम्म आउँदा उक्त संख्या बढेको देखिन्छ ।
नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति पुगेको छ ।
एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार १ सय ३५ रूपैयाँ नोक्सान भएको छ ।
विगत ५ महिना यता संक्रमित भएका पशुको संख्या १५ लाख १९ हजार ७७९ छ भने त्यसमध्ये उपचारपछि निको भएको पशुको संख्या १३ लाख ९३ हजार ५९५ रहेको छ ।
लम्की स्किन रोगविरुद्धको खोप आयात भइरहे पनि अझै ७३ हजार ६३६ पशु संक्रिय संक्रमित नै छन् भने, ५२ हजार ५४८ पशु मरिसकेका छन् ।
हालसम्म उक्त रोगविरुद्ध ९ लाख १९ हजार ४१६ पशुलाई खोप लगाइसकेको पशु सेवा विभागको प्रतिवेदनमा उल्लेख छ । विभागको प्रतिवेदन अनुसार हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएर सातै प्रदेशका विभिन्न जिल्लाहरुमा ९ लाख १९ हजार ४१६ पशुहरुमा खोप कार्य सम्पन्न भएको छ ।
समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिने नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनको निष्कर्ष छ । यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ ।