
काठमाडौं । निःसन्तानदम्पतीलाई सन्तानोत्पादन गराइदिने प्रलोभनमा किशोरीको डिम्बको अवैध करोबार गर्ने दुई आइभिएफ (इन भिट्रो फर्टिलाइजेसन) क्लिनिकका सञ्चालकविरुद्धको अभियोजन प्रक्रिया रोकिएको छ ।
प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)ले एक महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विगत दुई हप्तादेखि रोकेर राखेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरी काफ्लेले हालसम्म पनि अभियोग पत्र अदालतमा दर्ता नभएको स्विकार गरे । उनका अनुसार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले हेरिरहेको छ । ‘हामी हेरिरहेका छौँ,’ उनले भने,‘अहिले केही निर्णय भएको छैन ।’
अभियोग लागेकाहरुलाई ७५ हजार रुपैयाँ र तीन वर्षसम्मको कैद सजाय माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।
किशोरीबाट अवैध डिम्ब निष्काशनमा डा. स्वस्ति शर्मा, डा. असिम अधिकारी, डा. मलिनी चौधरी, अलिशा ओली, जस्टिना प्रधान, सकिल भण्डारी र सबिना गुरुङलाई प्रतिवादी बनाइएको छ । उनीहरूमध्ये डा. स्वस्ति, डा. मलिनी र प्रत्युशा क्लिनिकका सञ्चालक हुन् । जस्टिना र सबिना किशोरी उपलब्ध गराइदिने बिचौलिया हुन् । डा. असिम भने होपमा चिकित्सकका रूपमा कार्यरत छन् । स्रोतका अनुसार डा. शर्मासहितका व्यक्तिहरुले चलखेल गरि अदालतमा मुद्दा अभियोजन नगराउन चलखेल गरेका छन् । उनीहरुले विभिन्न उच्चस्तरका व्यक्तिहरुबाट सरकारी वकिल कार्याृलयमा दबाव दिएका छन् । सोही दबाव खेप्न नसकेर सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा अभियोजन नगरेको आरोप छ ।
यता अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरिक्षक युवराज खड्का भने आफूहरुले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको र बाँकी काम सोही कार्यालयको हुने बताउँछन् ।
अभियोग लागेकाहरुलाई बालबालिकासम्बन्धी ऐन, ०७५ को दफा ६६(थ) अनुसार मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको थियो । गरिएको छ । उक्त दफामा कसैले पनि बालकालिकामा औषधि वा अन्य कुनै परीक्षण गर्न नहुने व्यस्था छ । ‘औषधि वा अन्य कुनै परीक्षणका लागि बालबालिकालाई प्रयोग गर्नु हुँदैन,’ उक्त दफामा भनिएको छ ।
यदि कसैले कानुन उल्लंघन गरे कसुरदारलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्मको कैद सजाय हुने व्यवस्था सोही ऐनको दफा ७५(३) ख छ । ‘दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ङ), (ण) वा (थ) वा उपदफा (३)को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ)बमोजिमको कुनै कार्य गरेमा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुनेछ,’ उक्त दफामा भनिएको छ ।
सिआइबीले उनीहरूलाई गत २८ असारमा बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक र महाराजगन्जस्थित एन्जल फर्टिलिटी क्लिनिकका सञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा डा. स्वस्ति, डा. असिम, डा. मलिनी, अलिशा र जस्टिना थिए । म्याद थपका लागि अदालत लैजाँदा नै उनीहरुलाई अदालतले साधारण तारेखमा छाडिदिएको थियो ।
होपले प्रति किशोरी १० हजार रुपैयाँका दरले पैसा दिएर किशोरीको डिम्ब निष्काशन गर्दै आएको थियो । त्यहाँसम्म पुर्याएर विचौलियाको काम गर्ने जष्टिनाले भने ५० हजार रुपैयाँ कमिशन बुझ्ने गरेको थिइन् ।