छोराछोरीको हत्याले अपराधबोध भएको भन्दै कृषि मन्त्री अधिकारीद्वारा राजिनामा

दियोपोस्ट संवाददाता

काठमाडौं । कृषि मन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका छन् । धादिङबाट निर्वाचित सांसद समेत रहेका मन्त्री अधिकारीले सरकारले नयाँ पुस्तामाथि गरेको दमनको विरोध गर्दै मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

हिजो भदौ २३ गते छोरा छोरी पुस्ताले गरेको देशभरका विभिन्न स्थानमा व्यप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रणको विरुद्धमा खबरदारी गर्ने क्रममा भएको हत्या र दमन प्रति आफूलाई समेत अपराधबोध भएको भन्दै उनले राजिनामा दिएका हुन् ।

‘हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु,’ उनले लेखेका छन्,‘ देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।’

सम्बन्धित खबर