
काठमाडौं । केहीदिन अघि जेनजी समुहको नेतृत्वको प्रतिनिधित्व गर्दै विवादित पूर्वडिएसपी गोविन्द पन्थी र किर्ते मुद्दामा पक्राउ परेका सञ्जिव दाहालबारे आफूलाई थाहा नभएको अभियान्ता समेत रहेकी जस्मिन ओझाले बताएकी छिन् ।
उनका अनुसार गृहमन्त्री ओम प्रकाश अर्याललाई उनले लामो समयदेखि चिनेकी थिइन् । उनले नै समय लिएपछि मन्त्री अर्यालको सचिवालयले समय दिएको थियो । जेनजी नेपालको तर्फबाट ५० प्रतिशत सरकारसहित भन्सार, मालपोतमा समेत सहभागिता सुनिश्चित गर्न भन्दै जस्मिन पनि मन्त्री अर्याललाई भेट्न पुगेकी थिइन् । भन्सार र मालपोतमा समेत भागबण्डा मागेपछि उनी निकै विवादमा समेत आएकी छिन् । तर, उनले भने सबै माग आफूले ड्राफ्ट नगरेको बताउँछिन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन लगायत राजनीतिक माग बाहेक अन्य मागहरु विभिन्न व्यक्तिले थपेको र सहभागीहरु समेत स्वतस्फूर्त आएकोले आफूले उनीहरुको विगत र विवाद थाहा नपाएको उनको भनाई छ ।
जेनजी समुहमा सहभागी भएका पूर्वडिएसपी गोविन्द पन्थीबारे मन्त्रालयमै पुगेपछि उनको विगत थाहा पाएको जस्मिनको भनाई छ । ‘मैले उहाँलाई अधिवक्ताको रुपमा चिनेको थिएँ । तर, उहाँ त पूर्व डिएसपी पो हुनुहुँदो रहेछ । मन्त्रालयमै पुगेपछि परिचयको क्रममा मैले थाहा पाएको हुँ,’ जास्मिनले दियोपोस्टसँग भनिन्,‘अन्य सहभागी हुनेहरुको विगत र इतिहास सोध्ने विषय पनि रहेन । सबैको विगत मलाई थाहा हुने विषय पनि भएन ।’
महिलामाथि हुने हरेक हिंसाको घटनामा सडकमा अग्रभागमा आन्दोलनमा उत्रिने गरेकी जास्मिन जेनजी आन्दोलनमा पनि सक्रिय थिइन् । उनकै सहारामा केही विवादित पात्र समेत गृहमन्त्रालय पुगेका थिए । वास्तविक जेनजी हुँ भन्दै गृहमन्त्रालय पुगेका पूर्वडिएसपी गोविन्द पन्थीले आफूलाई श्रम मन्त्रीको रुपमा केही अनलाईनमा प्रचारप्रसार गराएका थिए । गृहमन्त्रीलाई भेट्न पुगेका अर्का नक्कली जेनजी सञ्जिव दाहाल तत्कालिन खानेपानी मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरि सिम निकाल्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्ति हुन् । उनी प्रेस काउन्सिलको नक्कली कर्मचारी बनेर समेत बैंक तथा वित्तिय संस्थामा फोन गर्ने पात्र हुन् ।