बहुविवाह मुद्दाका फरार अभियुक्तको हातबाट गुण्डुमा केपी ओलीलाई खादामाला !

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत भदौ २३ गते १९ जना जेनजी पुस्ताका युवाहरुको हत्या गरेपछि भएको विद्रोहबाट विस्थापित भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले भक्तपुरको गुण्डुमा बसेका छन् ।
एमाले युवा संघका पूर्वअध्यक्ष समेत रहेका महेश बस्नेतको संयोजनमा ओली अहिले गुण्डु क्षेत्रमा आफ्ना अनुयायीहरुसँग भेटघाटमा व्यस्त देखिन्छन् । उनलाई भेट्न गुण्डादेखि उनका फ्यान फलोअर्स त्यहाँ पुगिरहेका छन् । बुधबार एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाती महासंघका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाको नेतृत्वमा एउटा समुहले ओलीलाई भेटघाट गरेको थियो ।

शेर्पाको समुहले ओलीलाई खादा मालाले देवत्वकरण गर्ने कोशिस समेत गरेको तस्विर उनले सामाजिक सञ्जालमा राखेका छन् । शेर्पाले सामाजिक सञ्जालमा आफूले ओलीलाई भेटेको तस्विर र समय उल्लेख गर्दै लेखेका छन्,‘सम्माननीय पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेको श्रद्देय अध्यक्ष क. केपी शर्मा ओलीज्यूसँग आज लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपालको प्रतिनिधी मण्डलले उहाँको निवास गुण्डु भक्तपुरमा पुगी भेटघाट गरेको छ । भेटघाटको क्रममा समसामयिक राजनीतिक घटनाक्रमको बिषयमा अध्यक्ष कमरेडलाई महासँघको तर्फबाट सुझावहरु राख्नुका साथै अध्यक्ष कमरेडबाट महासँघका अगुवाहरुलाई महत्वपुर्ण निर्देशन सहित सक्षिप्त सम्बोधन गर्नुभएको छ ।’ ओलीलाई खादा मालासहित देवत्वकरण गर्न पुगेका शेर्पा ओलीकै कृपाका करण एउटा फौजदारी मुद्दामा कैद सजाय नै तोकिँदा समेत खुलमखुल्ला हिँड्न पाउने पात्र हुन् ।

शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर गरेको थियो । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको थियो । उच्च अदालत पाटनले २०८१ असोज ६ र जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका हुन् ।

शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको थियो । ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ,’ जिल्लाको फैसलामा भनिएको छ ।

शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ ।

शेर्पाकी जेठी श्रीमती करिश्मा खरेलबाट छोरी प्रेरणा शेर्पा र छोरा प्रतीक शेर्पा छन् । कान्छी श्रीमती पूजा परियारतर्फबाट छोरी पेमा डोमा शेर्पा र छोरा छिरिङ शेर्पा छन् ।

खरेलले शेर्पा र परियारबीच भएको विवाह बदर गर्न माग गरेको भए पनि जिल्ला अदालतले बदर गर्न अस्वीकार गरेको छ । जिल्ला अदालतको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पा र पूजा परियारबीच भएको विवाह मुलुकी अपराध संहिता, २०७४ को दफा १७६(३) बमोजिम बदर गरी पाऊँ भन्ने व्यहोरा अभियोगपत्रमा उल्लेख भए पनि निज प्रतिवादीहरूबीच भएको विवाह मुलुकी अपराध संहिता २०७४ लागू हुनुपूर्वको देखिँदा उक्त विवाह बदर गरी पाऊँ भन्ने दाबी पुग्न सक्दैन ।’

 

उच्च अदालत पाटनले पनि जिल्लाको फैसलालाई नै सदर गरेकाले शेर्पा र परियारको विवाह भने बदर गरेको छैन ।