काठमाडौं, भदौ १५ । कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्णले आज नक्कली तमसुक बनाउँदै सर्लाहीका एक व्यक्तिले गरेको अतिचारबारे मुख्य समाचार बनाएका छन् । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) नामका व्यक्तिले नक्कली तमसुक बनाउँदै गाउँलेलाई ठगेका हुन् ।
उनले एउटै ऋणका १९ वटासम्म तमसुक बनाएको पाइएको छ । अन्नपूर्णका अनुसार, परदेशीले १–२ जना मात्र नभएर ३०० जनासँग जबरजस्ती असुली गरेका छन् । समाचार अनुसार, नतिर्नेलाई धम्क्याउने तथा अदालतमा मुद्दा हाल्नेसम्मका हर्कत उनले गर्ने गरेका छन् । यस्तो अतिचारपछि केहीले आत्महत्या समेत गरेको पाइएको छ ।
पटक–पटक ठगिएको गुनासो गर्दा पनि न्याय नपाएपछि गाउँलेहरू न्यायका लागि दोस्रोपटक काठमाडौं आएको कान्तिपुरले लेखेको छ । परदेशीले फर्जी कागज बनाएर लिएकोभन्दा बढी ऋण तिर्न बाध्य पारेर अदालतमा मुद्दा हालेपछि दुई वर्षअघि पनि उनीहरु यसरी नै राजधानी आएका थिए । तर, न्याय पाउनुको साटो उल्टै असुली यथावत रहेपछि उनीहरू पुनः आफ्नो न्यायका लागि राजधानी आएका हुन् ।
नागरिक दैनिक लेख्छ,
तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो। कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौं आइपुगेका छन्।
स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्। कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ। ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन्। उनीहरूका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका–३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन्। राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए। पीडित परिवार समस्या बोकेर काठमाडौं आएपछि सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरूलाई न्याय दिलाउन सक्रिय भएका छन्।