
दियोपोस्ट संवाददाता
काठमाडौं, भदौ १८ । लतिलपुरको पुल्चोकस्थित निदान अस्पतालमा मृगौला तस्करी हुने गरेको पाइएको छ । मृगौला तस्करीमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा निदान अस्पतालका लगानी कर्ता समेत रहेका डा. पुकारचन्द्र श्रेष्ठको प्रत्यक्ष समलग्नता रहेको रहस्य समेत खुलेको छ ।
निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको घटना बाहिर आएपछि यस्तो खुलाशा भएको हो । निदान अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले एक व्यक्तिको मृगौला प्रत्यारोपण गरेको समेत पाइएको छ ।

रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर २ घर भएका विरामी शंकरलाल लामा योञ्जनको मृगौला गैरकानुनी तरिकाले प्रत्यारोपण गरेको खुलाशा भएको छ । आरोग्य प्रतिष्ठानको महासचिव समेत रहेका डा. श्रेष्ठले प्रतिष्ठानकै रकम समेच गोलमाल गरेको खुल्न आएको छ । श्रेष्ठ नेतृत्वको टोलीले एक व्यक्तिको मृगौला गैरकानुनी ढंगले प्रत्यारोपण गरेको खुलाशा हुँदा समेत कुनै कारबाही भएको छैन । पारिवारिक सदस्य बाहेक अन्य व्यक्तिबाट मृगौला निकालेर विरामीलाई प्रत्यारोपण गर्न पाइँदैन । अस्पतालले आर्थिक प्रभावमा परेर अर्को व्यक्तिको गैरकानुनी रुपमा मृगौला झिकी योञ्जनलाई प्रत्यारोपण गरेको हो ।

विरामी योञ्जनलाई मृगौला दिन उनका भान्जा सञ्जिव घिसिङ तयार दिए । त्यसैका लागि गाउँपालिकाको २ नम्बर वडाध्यक्षले नाता प्रमाणित समेत गरिदिएका थिए । तर मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको पाइएको छ ।
स्रोतका अनुसार अस्पतालले अन्य व्यक्तिबाट जम्मा ५ लाखमा मृगौला किनेर महँगोमा विरामीलाई बेचेको थियो ।
अस्पतालमा भान्दा घिसिङले आफू मृगौला दिन तयार रहेको पत्र समेत बुझाएका थिए । ५९ वर्षिय मृगौला पीडित घिसिङलाई मृगौला तस्करहरुले दाङबाट एक व्यक्तिको मृगौला झिकेर प्रत्यारोपण गरिएको छ । दियोपोस्टले उनलाई मृगौला दिने व्यक्तिको तस्विर समेत फला पारेको छ ।
गत असार २० गते दोरम्बा गाउँपालिका वडा नम्बर २ को कार्यालयले शंकारलाल लामा र उनको भान्दा दिदि र भान्जीको नाता प्रमाणित गरिदिएको थियो ।
नाता प्रमाणित गरेपनि अस्पतालले नाटकिय र तरिकाले निदान अस्पतालले कंलंकी बस्ने केदार कार्की नाम गरेका व्यक्तिले दाङबाट खोजेर ल्याएको व्यक्तिको मृगौला झिकेर घिसिङको शरीरमा प्रत्यारोपण गरेको थियो । अस्पतालले मृगौला झिकिएको व्यक्ति र गाउँपालिकाले सिफारिस गरेको नाता प्रमाणित कागजात समेत हेरेन । आर्थिक प्रभावमा उनको मृगौला झिकेर घिसिङलाई प्रत्यारोपण गरेपछि अस्पताल भित्रको डरलाग्दो धन्दा बाहिर आएको हो ।

रातारात विरामी तस्करी !
मृगौला पीडित घिसिङलाई उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा राखिएको थियो । डायलाइसिस अन्य अस्पतालमा गराई रहेका उनीहरु कसरी एकाएक निदान अस्पतालमा पुगे भन्नै यकिन भएको छैन । डा. पुकारचन्द्र श्रेष्ठकै योजनामा उनीहरुलाई रातारात पुल्चोकस्थित निदान अस्पतालमा ल्याइको थियो । विरामीका आफन्तका अनुसार उनीहरुले अस्पताललाई ४५ लाख रुपैयाँ भन्दा बढी रकम बुझाएका छन् । तर अस्पताल र तस्करहरुले भने मृगौला निकालिएको व्यक्तिलाई ५ लाख रुपैयाँ दिएर घर पठाएका छन् ।