दियोपोस्ट संवाददाता
काठमाडौं, भदौ २३ । नेपाल प्रहरीका एक डिएसपीले आधा करोड मुल्य पर्ने एउटा गाडी एक व्यक्तिको नाममा उपहारको नाममा ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचविखन व्युरोमा कार्यरत डिएसपी राजकुमार सिलवालले चितवन घर भएका कृष्ण प्रसाद पाण्डेबाट फोर्ड कम्पनिको इको स्पोर्ट गाडी उपहारको नाममा ठगी गरेको पीडितको आरोप छ ।
पीडित पाण्डेका अनुसार उनलाई डिएसपी सिलवालले लाखौँ मुल्य पर्ने गाडी ठगी गरेका छन् ।
स्थायी घर चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ भएका सिलवालले पाण्डेको गाडी २०७५ सालमा उपहार र बकसको रुपमा पाएको कागजमा देखिन्छ ।
१८ वर्ष जापान बसेका पाण्डेले जापानबाट कमाएको पैसाले भरतपुर चितवनकै ‘बाबाधाम ट्रेडर्स’बाट फोर्ड इकोस्पोर्ट गाडी खरिद गरेका थिए । खैरो कलरको उक्त इकोइस्पोर्टलाई उनले नगद ४५ लाखमा खरिद गरेका थिए । बा १२ च ५६९५ नम्बरको इको स्पोर्ट गाडी अहिले डिएसपी सिलवालले चढ्दै आएका छन् ।
‘गाडी किनेको केही महिनामै जापान जानुपर्ने भयो । घरमा गाडी चलाउने मान्छे कोही थिएनन् । चिनजानकै साथी भएकाले डिएसपी राजकुमार सिलवाललाई बेचेँ । मैले ३२ लाख रुपैयाँमा उसलाई गाडी बेचेँ । मैले गाडी पास गर्ने बेलामा एक पैसा पनि लिइन । तर, म जापान गएको अवधीमा घरमा ७ लाख रुपैयाँ भने दिएको रहेछ,’ पीडित कृष्ण प्रसाद पाण्डेले दियोपोस्टसँग भने,‘तर म जापानबाट आएको लामो समय सम्म पनि पैसा दिएन । उसले विभिन्न ठाउँमा गएर गाडी पुरै पैसा दिएर किनेको भन्दै हिँडेको थियो । म प्रहरीको उच्च तहमा पनि पुगेँ । न्यायको लागि तर प्रमाण अभावमा केही गर्न सकिएन ।’
निकै लामो संघर्ष पछि पाण्डेले गाडी पास गरेको कागजात हात पारेका छन् । उक्त कागजातमा भने डिएसपी पसिलवालले उक्त गाडी ‘उपहार बकस’ को रुपमा पाएको उल्लेख छ । सरकारी कर्मचारीले उपहार र बकसको रुपमा लिनु भनेको एक प्रकारको घुस नै हो ।
डिएसपी सिलवालले पाण्डेसँग ३२ लाख दिन्छु भनेर गाडी किनेको तर पास गर्दा भने उपहार र बकसको रुपमा उल्लेख गरेको विषयमा प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो ।
पीडित पाण्डेको उजुरीको चाङ !
पीडित पाण्डेले जिल्ला प्रशासन कार्यालय चितवन, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमा पीडित पाण्डेले लेखेका छन्,‘नीज अन्यायीले आफ्नो नाममा गाडी पास गरिसकेपश्चात मलाई दिनुपर्ने रुपैयाँ माग्दा निज अन्यायीले पटक पटक भाका सार्दै आएको र अहिले आएर रुपैयाँ पैसा पनि नदिने गाडी फिर्ता गर भन्दापनि गाडी फिर्ता नगर्ने ब्यहोरो गर्दै आएको र निज अन्यायीलाई भेटी आफ्नो रुपैयाँ पैसा माग्दा म ‘म को हो तैँले चिनेको छस् भनि धाक धम्की लगाई, मैले तलाई दिनुपर्ने रु २५ लाखमा एक रुपैयाँ पनि दिन्न जानेको गर भनि भनेको हुँदा मेरो लिनुपर्ने रुपैयाँ निज अन्यायीबाट दिलाई गराई पाउँ भनि यो निवेदनसाथ यस कार्यालयमा उपस्थित भएको छु, ।’
प्रहरी प्रधान कार्यालयमा तत्कालिन डिआइजी मनोज न्यौपानेले छलफल समेत गराएका थिए ।
कारोबार डिटेल म्यासेजमै !
पीडित पाण्डे र डिएसपी सिलवालबीच म्यसेजमै हिसाब किताव भएको भेटिएको छ ।
पीडित पाण्डेलाई सिलवालले पठाएको सन्देशमा गाडीको रकम ५ लाख रुपैयाँ जापानमै पठाएको र २÷२ लाख गरेर दिएको उल्लेख गरिएको छ ।
यता पीडित पाण्डेका अनुसार उक्त रकम जोडेर जम्मा ७ लाख मात्रै उनले पाएका छन् । बाँकी पैसा माग्दा भने डिएसपी हुँ भन्दै धम्काउने गरेको उनको आरोप छ ।
के भन्छन् डिएसपी सिलवाल ?
यता डिएसपी सिलवाललाई यस विषयमा बुझ्दा उनले आफू जग्गा कारोबार गर्दा पाण्डेसँग ठगिएको आरोप लगाउँछन् । तर पाण्डेका अनुसार डिएसपी सिलवाल दिवंगत डिआइजी सुशीलराज भण्डारी लगायतको पार्टनरसिपमा चितवनको शक्तिखोरमा एक विघाहा एक कट्टा जग्गा किनिएको थियो । उनीहरुबीचको ब्यापारिक साझेदारीको कुरा गोप्य राख्नु पर्ने भएकाले तेस्रो व्यक्तिलाई खडा गरिएको थियो । उक्त जग्गा खरिद गर्न डिएसपी सिलवालले ५ लाख रुपैयाँ हालेका थिए ।
चितवनको तत्कालिन जुटपानी गाविस १ हालको शक्तिखोरमा कित्ता नम्बर, १५, १८ र १९ मा एक विगाहा एक गठ्ठा जग्ग खरिद गरिएको थियो । त्यस मध्ये १६ धुर श्याम शर्माको नाममा थियो बाँकी भने डिएसपी सिलवाल र डिआइजी सिलवालले लिएका थिए ।
डिएसपी सिलवालले ५ लाख, डिआइजी भण्डारीले ८ लाख र श्याम शर्माले २३ लाख रुपैयाँ गरी जम्मा ३६ लाखमा उक्त जग्गा खरिद गरिएको थियो । उक्त जग्गामा चुनढुङ्गा खानी खोल्ने उनीहरुको योजना थियो । तर स्थानियको विरोधका कारण सफल नभएपछि जग्गाको भाउ घटेको पीडित पाण्डेले बताए । तर डिएसपी सिलवाल भने उक्त जग्गामा आफूलाई पाण्डेले फसाएको दाबी गर्दै आएका छन् ।