हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती माग्ने गृहमन्त्रीका साईला भाई नरेश थापा पक्राउ

दियो पोस्ट  

काठमाडौं, भदौ २६ । गृहमन्त्री रामबहादुर थापाका साईला भाई नरेश थापा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली हानेर हत्या भएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।
समीरसँग गृहमन्त्री थापाका आफ्नै साईँला भाई नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

सुन्धारामा रहेको केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गएको साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । स्रोतका अनुसार, गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ ।

अनुसन्धान अधिकारीले यो ‘मिलेर’ काम गर्नुलाई समीरकै योजनाअनुसार व्यापारी र व्यवसायीलाई धम्काएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन् ।

सम्बन्धित खबर