नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौं हिड्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गालिगलौज भएको छ ।
बुद्ध एयरको जहाज मन्त्री भट्टराईलाई कुर्दा उड्न एक घण्टा ढिला भएपछि यात्रुहरु आक्रोशित भएका थिए ।
मन्त्री भट्टराईले ढिला गर्दा काठमाडौं जान नपाएको भन्दै एक समूहले मन्त्री भट्टराई जहाजमा चढ्ना साथ गालीगलौजमा उत्रिएका थिए । उनीहरुले संस्कृति मन्त्रीलाई संस्कार समेत सिकाएका छन्।
पटक पटक भीआईपी सवारी र भीआईपीका नाममा जहाज ढिला उडाउने लगायत हवाइ मार्गमा समेत हैरानी बेहोरेर आजित भएका यात्रुले अहिलेसम्मको सबै झोंक मन्त्री भट्टराईलाई पोखेका थिए ।
युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो ।
काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।
शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’
मन्त्री भट्टराईले मागे माफि
यसैवीच मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।
मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।
सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ ।
नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो ।
एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’
मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।