रमेश विश्वकर्मा
हिन्दु समाजमा प्रत्येक वर्ष भाद्र पदमाहको शुक्लपक्षको चतुर्थीमा विश्वकर्मा पुजा गरिन्छ । विश्वकर्माको सम्बन्ध वास्तुसँग भएको कारण फलाम, काठ, सुन चाँदीसँग सम्बन्धित सबै साधनहरुको पुजा गरेर विश्वकर्मा पुजा मनाउने गरिन्छ । विश्व पुराणको पहिलो अंशमा भगवान विश्वकर्मालाई वास्तु कलाको जनश्रीको रुपमा उल्लेख गरिएको छ । अझै अगाडी भनिएको छ,–‘विश्वकर्मालाई दैवि युगका इन्जिनियर भनेर प्रष्ट्याएको छ ।
दैवियुगका इन्जिनियर विश्वकर्माले जलयोगको निर्माण गरेको पनि किंवदन्ती छ । यतिमात्र होइन हिन्दु धर्म शास्त्रमा द्वारिका, हस्तिनापुर, ईन्द्रप्रस्थ, सुधामापुरी, रावणको श्वर्ण नगरि लंका र स्वर्ग पनि विश्वकर्माले नै निर्माण गरेको उल्लेख छ ।
विष्णुको चक्र, शिवको त्रिशुल, कर्णका कुण्डल र यमराजको कालदण्ड पनि विश्वकर्माले नै निर्माण गरेको शास्त्रमा आख्यान गरेको पाइन्छ । त्यसैले भगवान विश्वकर्मालाई वास्तुकलाका आदित्य आचार्यको नामले पनि पुकारिन्छ ।
सत्य युगमा राजाहरु धर्मादेशको पालक थिए । धर्मले दिएको आदेशमा राजा राज्य गर्थे । ऋषिमूनिको सल्लाह राज्यको कानुन हुन्थे । ऋषिमुनिहरुले धर्मको जे व्याख्या गर्थे राजाले त्यहि शूक्तिलाई कानुनिक मान्यता दिन्थे ।
राजाहरु धर्मको आदेशभन्दा एक इन्च पनि दायाँ बाँया चल्न पाउँदैन थिए । मानिसले समाजका अगाडी ईश्वरीय शक्ति र धर्मलाई मात्र देख्दा समाजका विभिन्न काल खण्डमा संघर्षहरु भए । संघर्षमा हार्नेहरु उत्पीडनमा पर्दै गए । राज्यले उत्पीडन र विभेदलाई सस्कृतिसँग र सस्कारसँग जोड्दै गयो । कालन्तरसम्म राज्यका विधिहरु पनि असमान रुपमा विकास हुँदै गए ।
राजा रामले धर्मादेशको पालना गर्ने नाममा शुद्र जातीका गुरु समुखको बध गरेको हिन्दु धर्म शास्त्रमा उल्लेख गरिएको छ । हिन्दु धर्मले शास्त्रको अध्यायन, वेदको जप र तप गर्नु ब्राहमणको एकल पेशाको रुपमा विकास गर्यो ।
संघर्षका विभिन्न कालखण्डमा राज्य र समाजको विभेद र उत्पीडनमा परेको समुदायलाई शास्त्रको अध्यायनबाट बन्चित गरियो । सत्य युगकालिन राजा रामको राज्यमा शुद्र जातीका समुखमहर्षी ऋषिले धर्मशास्त्रको अध्ययन र तप गरेकै कारण हत्याभएको किंवदन्तीले सत्य युगमा पनि समाजमा विभेद विद्यमान थियो भन्न सकिने आधारहरु छन । यस पश्चात इतिहासले निर्माण गरेको नजिरलाई उल्लंघन गर्ने हिम्मत कुनै उत्पीडित वर्ग जातिले गर्न सकेन । उत्पीडित वर्गहरु शासनको मुल प्रवाहमा आउन नसक्दा सामाजिक उत्पीडनका पर्खालहरु भत्काउन सकिएन । बरु धर्म र वर्गका आडमा समाजमा विभिन्न नामका सामाजिक उत्पीडनका श्रृंखलाहरु बढ्दै गए ।
द्वापर युगमा पाण्डु पुत्र अर्जुन आफु एक महान धर्नुरधन बन्न चाहान्थे, अर्जुनको धम्कीलाई सहन नसकेर महर्षि द्रोणाचार्यले एकलभ्यको औलागुरु दक्षिणाको रुपमा मागे । यस पश्चात शुद्र जातिले कहिल्यै एक लव्य बन्ने साहस गर्न सकेन । उत्पीडितहरु दैविक कालबाटै शिक्षा र बौद्धिकता बाट बन्चित भएको भएको प्रष्टिन्छ ।
बौद्धिकता समाजको सच्चा आवाज हो । आधुनिक समाज होस वा परम्परागत समाज, धनी समाज होस वा गरिव समाज, उपल्लो जाती होस वा तल्लो जातीको । समाजले कुनै न कुनै समुहलाई बौद्धिक समाजको रुपमा स्विकार गरेको हुन्छ । राज्यले पनि निश्चित समुदायलाई राज्यको क्रिम नागरिकको उपमाको रुपमा विकास गरेको हुन्छ ।
भलै नेपालको बौद्धिकतामा दासबौद्धिकता हावि भएको छ । राज्यलाई जब गाह्रो अप्ठयारो पर्दछ, बौद्धिक समुदाय वा समुहको आवश्यकता पर्छ । बौद्धिक जगतको रचनात्मक आलोचना र सृजनात्मक सल्लाहकै आधारमा राज्य वा सरकारका गतिविधिहरुलाई जनमुखी बनाउने हो । यति मात्र होईन राज्यलाई कहिले काहि आलोचनात्मक सल्लाहको पनि अतावश्यकता महशुस हुदाँ बौद्धिक समुदायको रचनात्मक विचारको प्रतिक्षा राज्यले गर्छ । वैदिककाल देखि नै राज्य सल्लाहकारको रुपमा निश्चित व्यक्तिलाई राख्ने परम्परा चलिआएको छ । प्राचिनता देखि आधुनिकता र पश्चिमा देखि पुर्वीय दर्शनमा विकास भएको बौद्धिकता पछिल्लो समय राज्य र समाजको सम्पत्तीको रुपमा विकास भएको छ ।
तर, हिन्दु धार्मिक समाजद्धारा विद्यालाई धर्म ग्रन्थको ज्ञान आर्जनको क्षेत्र भित्र सिमित पारियो । वेद, पुराणको अध्ययन नै हिन्दु राज्यको शिक्षा बन्यो । जसले शास्त्रको अध्ययन गर्ने अवसर पाए । त्यो समाज वा जाती शिक्षित, बौद्धिक जाती र समाजको रुपमा विकास हुदै गए । हिन्दु राज्य र समाजमा बौद्धिकताले स्वतस्फुर्त रुपमा विकास हुने अवसर पाएन । सदियौ देखि उत्पीडनमा परेको समुदायले बौेद्धिकताको महत्वका सवालमा बुझ्नै सकेको पनि देखिदैन ।
के दलित पनि बौद्धिक हुन्छन? हाम्रो समाजले, राजनितिले, चेतनाले अझै दलितहरुका सवालहरुलाई गम्भिर रुपमा किन ग्रहण गर्दैन? दलितहरु तार्किक रुपमा कमजोर, शैक्षिक रुपमा पछाडी भएकै कारणले भएका होईन्न?
वैदिक समाज शिक्षाको सवालमा कठोर थियो, वेदमा आधारित वैदिक शिक्षालाई सामाजिक सिस्टमले केवल अभिमानि वंश र जातीलाई मात्र शास्त्र वा शिक्षामा अनुमति दिएको थियो ।
जुन समाज र वंशले शास्त्र अध्ययनमा अनुमती पाए तिनीहरु समाजमा उच्च जाती र उच्चवर्ग तथा बौद्धिक वर्गको रुपमा विकास हुदै गए, जुन समाज र वंशलाई शास्त्रअध्यायन बाट बन्चित गरियो ती समाज र वंशको बौद्धिकता विकास बाट बन्चित भए । ईतिहासका कयौँकाल खण्डहरुमा, धर्मग्रन्थका कयौँ पृष्ठहरुमा, महाभारत, रामायणका कैँयौ घटित पर्वहरुमा यस्ता कृत्यहरु मञ्चन भएको देखिन्छ ।
हिन्दु समाज भित्रको मुख्यतः दलित समुदाय यहि मियोमा सदियाँैदेखि मिचिएको समुदायको रुपमा विकास भयो । समाजको यहि सिस्टमका कारण इतिहासका काल खण्डमा दलित समुदायले क्रुर उत्पीडन सहनु प¥यो ।
अहिलेको नेपाली राजनीति, सामाजिक सवाल र समाजले कुनै विषयका सवालमा कार्यक्रम वा समारोह हुँदा दलित प्रतिनिधिहरुको बोलि, विचार र योजनाले खासै महत्व पाउँदैन । दलित समुदायले भोगेको उत्पीडनका कुरा कुनै बौद्धिकताको पगरी गुथेका मनुले बोल्दा राज्यका संरचना र संचार मध्यमले प्राथमिकता दिन्छ । तर, जसले हजारौ वर्ष देखिको उत्पिडन सहेर समाजमा संघर्षशिल जीवन विताई रहेको उत्पिडित योद्धाले बोल्दा महत्व पाउदैन ।
उत्पििडनका सवालमा, छुवाछुतका सवालमा, अधिकारका सवालमा एउटा दलित लेखकले लेख्दा संञ्चार माध्यमहरुले महत्व र चासो राख्दैनन्, स्थान पाउदैन । हिन्दु सभ्यता भित्र विकास भएका राज्य र राज्यले निर्माण गरेका प्रत्येक संरचनाले हामी बाँचेको सताब्दिको यो दशक सम्म पनि दलित मुद्धालाई समस्याका रुपमा स्विकार गर्न सकेन । दलित समुदायका व्यक्तिलाई बौद्धिक व्यक्तिको रुपमा स्विकार्न नसकेको तितो यर्थाथता यहि हो ।
हिन्दु समाज भित्रको दलित समुदाय उत्पीडित वर्गको आधारभुत वर्ग हो । अहिलेको समयको राजनैतिक र सामाजिक आन्दोलनको प्रमुख समाजमा विद्यमान छुवाछुतको मुद्धा हा । दलित समुदायले भोगेको सामाजिक व्यवहारको मुद्धा हा । आर्थिक र राजनीतिक असमानताको मुद्धा हो । तर, आधुनिक समाजसँगै यस्ता सामाजिक दुरासय र व्यवहारहरु कमजोर हुदै जानु पर्नेमा शिक्षित समाज भित्र दलित समुदायले प्राप्त गरेको शिक्षा र प्राप्त गरेको संवैधानिक अधिकार टाउको दुखाईको विषय किन बन्दै छ ।
त्रेता युगको विशाल धर्मयुद्ध, द्वापर युगको भिषण भरत वंशिय शक्ति संघर्षले तत्कालिन समाजको संरचनामा के प्रभाव पार्यो र वर्ग तथा जातिहरुको विकास कसरी भयो, उत्पिडित समुदायका सवालमा अधयन गर्ने सिंगो तप्का र दलित अध्याताले अनुसन्धान गर्नु पर्ने विषय बनेको छ ।
शिक्षाको प्रभाव अन्तः समाजमै पर्छ । शिक्षाको महत्व मानव सभ्यतका विभिन्न काल खण्डमा थियो र छ । प्राचिनतामा शिक्षा र ज्ञानलाई समाजको उपल्लो जाति र वर्गको अधिनस्त बनाइयो भने उत्पीडित र विभेद्ध अरुलाई ज्ञान प्राप्त गर्ने अधिकारबाट विमुख गराइयो ।
इतिहासले दलित समुदायलाई श्रमजीवि वर्गको रुपमा सिद्ध गरिसकेको छ, यतिमात्र होइन दलित समुदायले सिंगो समुदायलाई शिल्पी, कर्मी र धातु वैज्ञानिकको रुपमा प्रमाणित गरिसकेको छ ।
इतिहासका प्रत्येक सामाजिक संघर्षमा सहभागी बनेको दलित समुदायको क्षमता र बौद्धिकता माथी अहिलेको राज्य, राज्यनिर्मित संरचना र राज्यको व्यवहारमा गुणात्मक परिवर्तन ल्याउदै दलित समुदायको बौद्धिक क्षमताको मुल्यांकन गर्नैपर्छ । राज्यका संरचनागत व्यावहारले दलित समुदाय कभित्रको बौद्धिकतालाई हेयको दृष्टिले होइन सम्मानको दृष्टिको रुपमा विकास गर्न जरुरी छ ।