विष्णु विश्वकर्मा
काठमाडौँ, १० असोज । सरकारले विरामी पदयात्री पर्यटक र विमामा हुने ठगी नियन्त्रण गर्न गत वर्ष भदौ १छ देखि ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि–२०७५ लागु गर्यो । केही पर्यटन व्यवसायी, अस्पताल र हेलिकप्टर कम्पनीले मिलेमतोमा ‘फेक रेस्क्यु धन्दा’ नै चल्ने गरेको आरोपले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत स्थान पायो । सोही धन्दाका कारण अन्तराष्ट्रिय बजारमा नेपाली पर्यटन व्यवसायको छवि धमिलियो । सरकारले समयमै छानबीन तथा कारबाही नगर्दा केही अन्तर्राष्ट्रिय विचौलियाले नेपालको बदनामी मात्रै गरेनन् । ‘फेक रेस्क्यु धन्दा’ हडप्ने दाउ नै चाले ।
कार्यविधि लागु भएपछि पर्यटकको खोज ,उद्धार र उपचारका लागि सरकारले तोकेबमोजिमको शुल्क लिनुपर्ने र त्यसको सम्पुर्ण विवरण पर्यटक प्रहरी मार्फत पर्यटन विभागलाई उपलब्ध गराउनु पर्ने व्यवस्था लागु गरियो ।
पर्यटन विभागमा दर्ता भएका विभिन्न ट्रेकिङ कम्पनीहरु मार्फत हिमालमा पदयात्राका लागि गएका पर्यटकहरुलाई बाटोमै औषधी खुवाएर विरामी बनाउने समेतका धन्दा नै चलाएको आरोप व्यावसायीमाथि छ ।
अधिकांश रेस्क्युहरु वास्तविक हुन वा होइनन् भन्ने छुट्टयाउन सक्ने सरकारी संयन्त्र छैन । कार्यविधि लागु भएको वर्ष अर्थात सन् २०१८ को विन्टर सिजनमा १ सय ७१ जना पर्यटकको रेस्क्यु गरिएको पर्यटन विभागको रेकर्डमा उल्लेख छ । तर, यो विवरण र वास्तविकतामा फरक रहेको व्यावसायीहरुकै भनाई छ । स्रोतका अनुसार व्यावसायीहरुले फरक कम्पनिबाट रेस्क्यु गर्ने गरेका छन् । अधिकांश रेस्क्यु विवरण लुकाइएको छ । तर, रेस्क्यु गर्नुअघि सरकारी प्रक्रिया झन्जटिलो भएका कारण कतिपय विरामीको हिमालमै मृत्यु हुने गरेको समेत छ ।
स्वाकन अस्पतालमा सबैभन्दा धेरै बिरामी पर्यटक
सन् २०१८ को विन्टर सिजनमा रेस्क्यु गरिएका विरामी पर्यटकहरुलाई राजधानीको विभिन्न अस्पतालमा राखेर उपचार गराइएको थियो । त्यसमध्य बत्तिसपुतलीमा रहेको स्वाकन अस्पतालले सबैभन्दा धेरै बिरामीको उपचार गरेको छ । सो वर्ष उद्धार गरिएका १ सय ७१ जना विरामीमध्ये ७१ जना बिरामीको उपचार स्वाकन अस्पतालमा भएको थियो । सो अस्पतालमा उचाई र रगत वान्ता गर्ने बिरामीहरुको संख्या अधिकतम थियो ।
त्यस्तै लैनचौरमा रहेको सिविक अस्पतालमा सोही वर्ष ४३ जना बिरामी पर्यटकको उद्धार गरि उपचारको लागि पुर्याइएको विवरणमा उल्लेख छ । सोही बर्ष बल्खुको वयोधा अस्पतालमा १० जना पर्यटकलाई उद्धार गरि उपचारको लागि राखिएको थियो । त्यस्तै नर्भिकमा ७, ग्राण्डीमा २ मेडिसीटीमा २, इरा हेल्थ केयरमा २ जना पर्यटकलाई बिरामी अवस्थामा उपचारको लागि पुर्याइएको थियो । बाँकी बिरामीहरुलाई स्थानिय तथा अन्य अस्पताल पुर्याइएको पर्यटन विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । तर अधिकांश ठूला अस्पतालले भने विवरण लुकाएको पाइएको छ । दर्जनौँ विरामी उपचार गराइरहेको भएता पनि विवरण भने नबुझाइएको पाइएको छ ।
हेलिकोप्टर कसले कति उद्दार गरे ?
विरामी पर्यटकलाई हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरि अस्पताल पुर्याउँछन् । सन् २०१८ मा एयर डाइनास्टीले सबैभन्दा धेरै पर्यटकको उद्धार गरेको छ । विभागको विवरणमा सो बर्ष एयर डाइनास्टीले ४६ जना बिरामी पर्यटकको उद्धार गरेको उल्लेख छ । त्यस्तै सिम्रिक एयरले २० जना पर्यटकको उद्धार गरि अस्पताल पुर्याएको रेकर्डमा उल्लेख गरिएको छ । सोही वर्ष अल्टिच्युड एयरले २४ जनालाई उद्धार गरेको पाइएको छ ।
त्यस्तै कैलाश एयरमार्फत १३ जना बिरामी पर्यटकको उद्धार भएको थियो । मनाङ हेलिकप्टरले १३ जना बिरामी पर्यटकको उद्धार गरि अस्पताल पुर्याएको छ । यसैगरि एभरेष्ट हेलिले ११, प्रभु हेलिकप्टरले ५, माउन्टेन हेलिकप्टरले ४, फिस्टेल एयरले ६, श्री एयरले ५ र समिट एयरले ७ जना पर्यटकको उद्धार गरेको थियो । स्रोतका अनुसार हेलिकाप्टर कम्पनिहरुले पनि विवरण लुकाएका छन् ।
विवरण नै अपूर्ण !
पर्यटन विभागले सार्वजनिक गरेको बिबरणमा दर्जन भन्दा बढी उद्धारको पुर्ण बिवरण नखुलाइएको पाइएको छ । करिब १० वटा उद्धारमा अस्पतालको नाम नै खुलाइएको छैन । कार्यविधि अनुसार पर्यटकको स्वास्थ्य विवरण देखि उपचार खर्चसम्म खुलाउनुपर्ने व्यवस्था भएपनि विभागले सार्वजनिक गरिएको विवरणमा भने सो सम्बन्धी कुनै विवरण उल्लेख गरिएको पाइँदैन ।
विभागले सार्वजनिक गरेको विवरणमा केही पर्यटकहरुको मात्र स्वास्थ्य अवस्थाको बारेमा उल्लेख गरिएको छ । केही बिरामीहरुको स्वास्थ्य अवस्थामा रगत वान्ता गरेको, उचाईको कारण बिरामी परेका, हातखुट्टा भाँच्चिएका देखाइएपनि अधिकांश बिरामीको स्वास्थ्य अवस्थाका बारेमा केही उल्लेख गरिएको छैन ।
उपचार खर्च र उद्धार शुल्क अपुष्ट !
बिरामी पर्यटकलाई उद्धार र उपचारको लागि हेलिकप्टर कम्पनी र अस्पतालले उठाउन सक्ने शुल्कको विवरण नै बुझाउनुपर्ने कार्याविधिमा उल्लेख छ । तर, हेलिकप्टर कम्पनी र स्वास्थ्य संस्थाले विदेशी विमा कम्पनिसँग लिएको शुल्कको विषयमा पर्यटन विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छैन । १ सय ७१ जना पर्यटकलाई उद्धार गरि उपचारका लागि महंगो महंगो अस्पताल पुर्याइएको भएतापनी उपचार खर्च र उद्धार शुल्कको बारेमा भने औँलामा गनिने गरि रेकर्ड राखिएको छ ।
२०१९ मा रेस्क्यु घट्यो ?
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकमा २०१८ को तुलनामा २०१९ मा निकै कम संख्यामा बिरामी पर्यटकको उद्धार भएको पाइएको छ । ०१८ मा १ सय ७१ जनाको उद्धार हुँदा ०१९ मा जम्मा २२ जना पर्यटकलाई मात्र उद्धार गरिएको छ । २२ जनामध्ये ६ जना पर्यटकको उपचार स्वाकन अस्पतालमा भएको थियो भने ६ जनालाई नै सिविक अस्पताल पुर्याएको थियो । त्यस्तै मेडिसिटीमा २, नर्भिकमा १, इरा हेल्थ केयरमा १ र वयोधामा १ जनाको उपचार गराइएको छ । विभागको तथ्यांकमा ६ जना पर्यटकको कुन अस्पतालमा उपचार भएको हो भन्ने विषयमा खुलाइएको छैन ।
त्यस्तै २०१९ को सिजनमा सबैभन्दा धेरै एयर डाइनास्टीले ७ जनालाई उद्धार गरेको छ । त्यस्तै अल्टिच्यूड एयरले ६, मनाङ एयरले ४, श्री एयरले १, सिम्रिक एयरले २, समिट एयरले १ र हेलि एयरले १ पर्यटकलाई उद्धार गरि उपचारको लागि अस्पताल पुर्याएको उल्लेख छ ।
बिरामी पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको भएतापनी हेलिकप्टरले लिएको शुल्क र उपचार खर्चको बारेमा कुैनैपनि विवरण उल्लेख गरिएको छैन ।
उद्दारमा समस्या पर्यटकको मृत्यु !
आपतकालिन उद्दारका लागि हेलिकोप्टर, एम्बुलेन्स जस्ता साधन चल्ने हुन् । तर विरामीको उद्दारमा जानुअघि सरकारी झन्जटका कारण उद्दारमै समस्या भएको व्यावसायीको गुनासो छ । कुनै पनि विरामी पर्यटकको उद्दार गर्न जानुअघि हेलिकोप्टर कम्पनि वा ट्रेकिङ कम्पनिले गृहमन्त्रालयको आपतकालिन विभागको स्विकृति लिनुपर्ने हुन्छ ।
‘विरामीको अवस्था गम्भिर हुन्छ । तर गृहमन्त्रालयमा स्विकृति लिन झन्जट हुन्छ,’ एक पर्यटन व्यावसायी भन्छन्,‘हाम्रो सरकारी सिस्टम निकै झन्जटिलो छ । त्यसै झन्जटका कारण पनि कयौँ विरामीले ज्यान गुमाउनु परेको छ ।’
पर्यटक विभागको रेकर्ड अनुसार कार्याविधि लागु भएदेखि हालसम्म १७ जना विदेशी नागरिकको मृत्यु भइसकेको छ ।
‘हाई अल्टिच्युड सिक्नेशकै कारण अधिकांश विदेशी नागरिकको मृत्यु भएको रेकर्डमा उल्लेख छ ।
‘फेक रेस्क्यु मुलनाइके’ले गरे ८ रेस्क्यु !
सरकारले फेक रेस्क्युको छानबीन थालेपछि सबैभन्दा चर्चा र विवादमा थिए ‘राम प्रसाद सापकोटा’ ।
हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एयरका निर्देशक रहेका सापकोटाको कालोधन्दा बारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत पर्दाफास गरेका थिए ।
उनै सापकोटाको कम्पनि हिमालयन सोसियल जर्नीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले समेत छानबीन गरेको थियो । तर, पर्यटन विभागमा बुझाइएको विवरणमा भने सापकोटाको कम्पनिले थोरै मात्रै रेस्क्यु गरेको उल्लेख छ ।
सन् २०१८ अक्टोबर ५ मा उनले हेलि एभरेष्ट मार्फत न्युजिल्याण्डका एक नागरिकको रेस्क्यु गरेका थिए । यो सहित उनले सन् २०१८ मा जम्मा ५ वटा मात्रै रेस्क्यु गरेको विभागमा रेकर्ड छ । सन् २०१९को विन्टर सिजनमा ३ वटा रेस्क्यु गरेको विवरण विभागमा उल्लेख छ ।
उनले बुझाएको विवरणबारे विभागले रकम भने उल्लेख गरेको छैन ।