को हुन् दलित आन्दोलनका प्रथम नेता ‘भगत सर्वजित विश्वकर्मा ?’

दियो पोस्ट  

-सज्जन कुमार सिंह

नेपाली दलित आन्दोलनको इतिहासमा भगत सर्वजित विश्वकर्मालाई पहिलो व्यक्ति मानिन्छ। उनले प्रजातन्त्रको स्थापना हुनुपुर्व नै सांगठिक रुपमा दलित मुक्तिको आन्दोलन छेडेका थिए। तत्कालिन कठिन अवस्था र जहाँनिया राणा शासनकालमै समाजमा रहेको थिचोमिचो, जात व्यवस्था र छुवाछुतजस्ता कुरीतीविरुद्ध डटेर विरोध गर्नु सानो कुरा थिएन। तत्कालिन अवस्थामा दलित समुदायले नयाँ कपडा लगाउन पाउने थिएनन्। कथित उपल्लो जातसँग छोएपछि छिटो हालिन्थ्यो। बाटो हिड्दा पनि कथित दलितहरु पाँच मिटरभन्दा टाढैबाट हिड्नुपथ्र्याे। धार्मिक क्रियाकलाप गर्न पाइने थिएन। कुनै धार्मिक अनुष्ठानलगायका ठाउँमा कुनै मन्त्र वा ज्ञान सुन्न र प्रसाद खान दिँइदैनथ्यो। धार्मिक र साँस्कृतिक रुपमा चरम विभेद थियो। आर्थिक तथा शैक्षिक रुपमा पनि उत्पीडित दलित समुदायमाथि दासता थुपरिएको थियो।

यस्तो बेलामा उनले १९९७ सालमा विश्व सर्वजन संघ नामक संगठन स्थापना गरे। यो नै दलित मुक्तिका लागि स्थापना गरिएको पहिलो सांगठिनक संस्था थियो। यो सांगठनिक इतिहासको सुरुवात थियो। बागलुङ जिल्लाको हाल बागलुङ नगरपालिका–७ र साविकको मुलपानी गाविसको गैरागाउँमा वि.सं. १९५० मा जन्मिएका सर्वजित विश्वकर्मा सानैदेखि विद्रोही स्वाभावका थिए। अन्याय अत्याचार सहनु पाप हो भन्ने ज्ञान भएका उनी धार्मिक क्रियाकलापमा रुची राख्थे किनकी उनका वरपरका ब्राम्हण समुदाय विभिन्न धार्मिक क्रियाकलाप गर्थे त्यो कार्य गर्न दलितलाई छुट थिएन।

नेपालमा दलितलाई पढ्ने वातारण थिएन तर उनले बनारसमा पढ्ने अवसर पाए। संस्कृत आचार्य उपाधी पाएपछि उनको नामको अगाडि भागवत प्राप्त व्यक्ति भनेर भगत पद्वी प्राप्त भयो, त्यसपछि उनलाई भगत सर्वजित भन्न लागिएको हो।

उनले हिन्दु धर्म ग्रन्थको गहिरो अध्ययन गरे। वेद, उपनिषद, पुराण, मनुस्मृतिलगायतका ग्रन्थ पढे र सँस्कृतमा आचार्य गरेपछि नामका अगाडि भगत र थरको ठाउँमा बृन्चि लेखेका थिए।

धर्म सँस्कृतीका विद्वता प्राप्त गरेपछि उनले धर्मिक ग्रन्थमा कहिँ पनि उचनिच छैन, धर्मका आधारमा कसैले पनि कसैलाई अपमानित गर्न मिलदैन भन्ने बहसमा उत्रने उनी नै पहिलो दलित नेता हुन्।

उनीसँगै आन्दोलनमा होमिएका जिउँदो प्रमाणका रुपमा रहेका रामशरण विकका अनुसार, उनले आफ्ना छोराको न्वारन धार्मिक विधिअनुसार गरेका थिए। शंख घण्टा बजाएपछि उनलाई तत्कालिन शासकले सानो जात भएर ब्राम्हणको कर्म गरेको भन्दै पक्राउ गरिएको थियो। उनले आफूले पनि जनै धारण गर्न पाउनुपर्छ भन्दै जनै लगाएका थिए। जनै मन्तर्न आफैंले मन्त्र उच्चारण गर्दै जाँदासमेत उनलाई आक्रमण गरिएको थियो।

उनले बागलुङको ओम प्रसादको चौतारीमा विभिन्न श्लोकसहितका पर्चा छापेर बाँड्दै आन्दोलनको सुरुवात गरेका थिए। ‘बटौलीको बजारमा लाह छ कि छैन, दहिको ठेकी सरोबारी थाहा छ कि छैन’जस्ता गद्यात्मक गीत लेखेर तत्कालिन अवस्थाको समाजमा सबै मान्छे एकै हो भन्ने सन्देशसमेत जोडदार रुपमा उठाएका थिए।

उनले १९९७ सालमा सर्वजन संस्था स्थापना गरेर दलित मुक्ति आन्दोलनलाई एकीकृत रुपमा उठाएका थिए। दलित समुदायलाई आर्थिक रुपमा उन्मुक्ति दिन बालिघरे प्रथाका नाममा भएको श्रम शोषणको विरोध गरेका थिए। उनले बालिघरे होइन तत्कालै नगद पाउनुपर्छ भन्ने आवाज उठाउँदै सबैलाई सचेत बनाएका थिए। यो मागलाई पुरा गराउन उनले चर्चित कामी र सुनाकारको टुँडो भाँच्ने, दर्जीका कल बन्द गर्ने, सार्कीहरुको छालाका काम बन्द गर्ने र पेशा बहिस्कार गर्ने, हडतालका आन्दोलन गर्न लगाएका थिए।

दलित समुदायलाई शिक्षामा अग्रसर बनाउनुपर्छ भन्ने उहाँमा चेत थियो। जसको फलस्वरुप भारतबाट शिक्षा आर्जन गरि फर्केका हिक्मतसिँह विश्वकर्मा र सहयोद्धा लक्ष्मीनारायण विक, मनविर विक र रामशरण विकको सहयोगमा गैरागाउँको भालुमारेमा विश्वकर्मा प्रावि विद्यालय स्थापना गरेका थिए।

विद्यालयको अध्यक्षमा मनविर, कोषाध्यक्षमा रामशरण थिएभने अंग्रेजी भाषासमेत जानेका हिक्मत सिँह विश्वकर्मा शिक्षकका रुपमा काम गरेका थिए। उक्त विद्यालय अहिले १२ कक्षासम्म पढाई हुन्छ भने विद्यालयको परिसरमा भगतसर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले भगत सर्वजित विश्वकर्माको शालिक निर्माण गरेको छ। उनले दलितलाई सामाजिक, धार्मिक, शैक्षिक तथा आर्थिक रुपमा सबल पारेमा मात्र समाजमा दलितको अवस्था माथि उठ्न सक्छ भन्ने मान्यता राख्दै सोहीअनुसार आन्दोलन छेडेका थिए।

कट्टर जात प्रथामा विश्वास गर्ने वर्णवादी समाज सर्वजितको क्रियाकलापप्रति खुसी थिएनन्। जसको कारण कथित उच्च जात र अहंकारवादी, पण्डित पुरौहित तथा सामन्तहरुले उनीमाथि षडयन्त्र रचे। उनको घरगोठ भत्काएर उनीमाथि पटकपटक आक्रमण गरिएको थियो। गादगद्दी ताकेको र समाजमा व्यवस्था भाँडेको आरोप लगाउदै उनलाई जेलमा हालिएको थियो। उनलाई बागलुङमा ६ महिना जेल हालिएको थियो र उनीका सहपाठीलाई पनि जेलमा हालिए पनि उनलाइ बागलुृङबाट पाल्पा जेल लगिएको थियो। १७ महिनासम्म ठुडुका ठोकेर यातना दिईएको थियो।

यातनाकै क्रमममा उनका अघिका सबै दाँतसमेत झरेका उनीसँगै आन्दोलनमा सहभागी कान्छा आन्दोलनकर्ता पद्मसिँह विश्वकर्माले बताएका थिए। विभिन्न नामुद पण्डितसहित बडा हाकिमले जेलमा उनलाई भिडाएका थिए तर उनको अघि कोही पनि टिक्न सकेनन्। उनले धर्ममा भएका सबै व्यवस्था फेहरिस्त बताउँदा नामुद पण्डितहरु पनि तै चुप मैचुप भएका थिए। उनले बडाहाकिमसँग दलित समुदायको मुक्ति र मर्यादासहित आत्मसम्मानका लागि आत्मशुद्धीका लागि आव्हान गरेका थिए। सौलीडोली, भातभान्सा सबै सराबरी हुन पाउने नारा लगाएर जनै धारण गर्न पाउनुपर्ने र शिक्षादिक्षा ग्रहण गर्न पाउनुपर्ने माग राखेका थिए।

तत्कालिन दलित आन्दोलनलाई अझै सशक्त रुपमा अघि बढाउनका लागि भन्दै उनी छोरासहित भारतमा निर्वासित भएका थिए। उनको भारतमै २०१२ सालमा निधन भएको थियो। २००३ सालमा एक विशेष जात सँगठन भएर संगठित रुपमा सुरु गरेको आन्दोलन २००४ सालमा पुग्दा पहाडका सबै दलितहरु संगठनमा बस्न सक्ने भए। नेपालमा राणाविरुद्ध कांग्रेस नलाग्दै वा दलहरु निर्माण नहुँदै दलितका अगुवा भगत सर्वजितले यति ठुलो साहस देखाएका थिए।

सर्वजितको योगदानलाई सम्मान गर्दै माधवकुमार नेपाल नेतृत्वको सरकारका सञ्चार मन्त्री शंकर पोखरेलले हुलाक टिकटमा भगत सर्वजितको तस्बिर अँकित टिकट सुरु गराएका थिए। त्यस्तै, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरिएको थियो। नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटी भगत सर्वजित शिल्प विकास केन्द्र स्थापना गरि परम्परागत पेशाको आधुनिकरण गर्न करिव ५० लाख बजेट विनियोजन गरिएको थियो।

बागलुङ, बुटबल लगाएतका ठाउँमा भगत सर्वजितको सम्झनामा प्रतिष्ठान स्थापना गरि विभिन्न कार्यहरु गरिदै आएको छ। बागलुङ नगरपालिका तथा प्रदेश सरकारको सहयोगमा भगत सर्वजित प्रतिष्ठानको भवन बनाउन १० लाख बजेट छुट्याइएको छ। त्यस्तै, भगत सर्वजित आयआर्जन कार्यक्रममार्फत विभिन्न सिपमुलक कार्यक्रम पनि सन्चालन गरिदै आएको।

(सिंह भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङका संस्थापक सचिव र आजिवन सदस्य हुन्।)