गायक राजेन्द्र बुढाथोकीले सार्वजनिक गरे ‘भन्नु हुन्थ्यो बा’ले’ (भिडियोसहित)

diyopost.com
दियो पोस्ट  शनिबार, भाद्र १९, २०७८ | २१:३७:५४

भदौ १९, काठमाडौँ । गायक राजेन्द्र बुढाथोकीको आधुनिक गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत आज सार्वजनिक भएको हो ।

‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गायक बुढाथोकीले जानकारी दिए । गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ ।

गायक बुढाथोकीले आफ्ना दिवंगत बुवा गोपाल बुढाथोकीको सम्झनामा यो गीत गाएको बताए । उनले भने, ‘बुवा हाम्रो प्रेरणाको स्रोत हुनु हुन्थ्यो । उहाँको देह अवशान भए पछि बुवाको महत्व कति हँदोरहेछ भन्ने बुझेँ । अहिले बुवाको महत्व झनै खड्किएको छ । वास्तवमा सबै बुवाहरु हामी सबैका प्रेरणाका स्रोत हुनु हुन्छ ।’

गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो गीत रचना गर्दा आफु कैयौँ पटक भावुक बनेको बताए । उनले भने, ‘बा सन्तानको लागि अभिभावक मात्र होइन साथी पनि हुन् । मार्ग दर्शक र सन्तानको भबिस्यको चित्रकार पनि हुन् । त्यसै गरि सन्तान बा आमाका लागि आशा र खुशी हुन् । त्यसैले सबै बा’हरुलाई सम्मान गर्दै मैले यो गीत रचना गरेको हुँ ।’

गीतको भिडियोमा बुढा-पाकाका अर्ति उपदेश सबै सन्तानका लागि प्ररणादायी हुने र आफ्ना बुवा-आमालाई सधै सम्मान गर्नु पर्ने सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा आकाश अधिकारी, संगम भण्डारी, जेल्सन अधिकारी, दियान गौतम, सुमन बैरागी पण्डित, ज्योती प्रकाश तथा दिप्त प्रकाश अधिकारी लगायतकोे अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालले छायांकन गरेको गीतको भिडियोमा प्रकाश धितालले परिकल्पना तथा निर्देशन गरेका छन् । मार्मिक शब्द, सुमधुर स्वर, उत्कृष्ट संगीत संयोजन र यथार्यपूर्ण भिडियोका कारण पनि गीतले सबैको मन जीत्न सक्ने बिश्वास राखिएको छ ।

सम्बन्धित खबर