टाढा टाढा एउटा गाउँमा
बाजे बराजु मरेकै ठाउँमा
म पनि अचानक अस्ति खसेको छु
त्यसैले आफू आफै किरिया बसेको छु ।
ए कोही नआओ बोलाउन मलाई
मभित्र आफै कोलाहल छ
निषेधै निषेधको कोरा बारी बसेको छु
आफै वियोग वेदनाको हलाहल छ ।
आठ हरफे ‘सुसाइड नोट’ अर्थात् यिनै पङ्क्तिहरूलाई पढिरहँदा नेपाली हास्य व्यङ्ग्य लेखनको नायक तीर्थराज अर्जेल (पछि भैरव अर्याल) र उनको भयावह मृत्युको कल्पनाले हृदय उकुसमुकुस हुन पुग्छ । मस्तिष्क विचलित बन्न पुग्छ ।
वि.स. २०३३ साल असोज १९ गते, मध्यरातमा अर्यालले आफैं माथि व्यङ्ग्य गरे । ४० वर्षको उमेरमा आत्महत्या गरेर उनले आफ्नो इहलीला समाप्त गरे ।
समाजका विकृति र विसङ्गतिमाथि प्रहार गर्न सक्षम एक कुशल लेखक, अध्ययनशील व्यक्ति र विश्लेषक अर्यालले गोकर्ण मन्दिरनेरको काठे पुलबाट आफूलाई बाग्मतीमा बजारेर नेपाली साहित्य जगतलाई आघात पुर्याए ।
उनको आत्महत्याको खबर यति अपत्यारिलो थियो कि अर्को दिन बिहान अर्याललाई पर्खिरहेका रोचक घिमिरे लेख्दछन्, “भैरवको आत्महत्याले हामी उसका साथीसँगातीत मर्माहत भयौँ नै, सम्पूर्ण नेपाली बौद्धिक क्षेत्र यसबाट स्तब्ध भयो।”
घिमिरे अझ थप्छन्,
“त्यो भैरव जो मेरा अगाडि आफ्नो अन्तर्व्यथालाई नलुकाई उदाङ्ग पारिदिन्थ्यो र म आफू पनि उसका अगाडि सङ्कोचरहित भएर व्यक्तिन सक्थेँ, चुँडायो उसले त्यसरी निर्मम भएर घनिष्ठ मितेरीको बलियो गाँठोलाई सधैँका लागि । ऊ बिते पनि उसको अस्तित्व बेला-बेलामा मेरो वातावरणमा आएर रङ्गमङ्गीरहन्छ । नेपाली हास्यव्यङ्ग्य विधा, समसामयिक राजनीति, सामाजिक-साहित्यिक सन्दर्भ र आफ्ना साथीभाइका गतिविधिबारे छलफल गर्न नपाउँदा अनि कैयौँ रमाइला प्रसङ्गमा उसलाई सामेल गर्न नपाउँदा अहिले पनि हामी भैरवका साथीसँगातीलाई छटपटी र उकुसमुकुस हुन्छ। ”
नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित र सर्वमान्य शिखर पुरुष अर्याल वि. सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिए । नेपालीमा एम. ए. साहित्यरत र संस्कृतमा मध्यमा सम्मको अध्ययन गरेका अर्यालले पत्रकारिता (डिप इन जर्नालिज्म) पनि गरे ।
उनले ‘हालखबर दैनिक’बाट पत्रकारिता सुरु गरेका थिए। उनी हालखबर दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहाँ पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्रको सम्पादन समूहमा रहे। मधुपर्कलाई स्तरीय बनाउन उनी निकै खटे। रचना पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो । सहलेखन र सम्पादनमा पनि उनको योगदान उल्लेखनीय छ।
नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्यालले सर्वप्रथम वि.स. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता राखेर लेखन यात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि.सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो।
००५ सालमै अचानक स्वर मासिएर स्त्रीको स्वर जस्तो मसिनो भएको थियो- अर्यालको । राजकुमार बानियाँ ‘भैरव दुखान्त’मा लेख्छन्, “पुराण बाँचेर या पुरेत्याइँ गरेर छोराले जीविका चलाउला भन्ने सोचेको थियो परिवारले । त्यो पनि भएपछि उनले अलग बाटो लिए।”
अमेरिकी सहयोगको शिक्षक तालिम लिएर पोखराको कम्पनीस्थित भवानी प्राविमा दुई वर्ष पढाए उनले । त्यहाँ उनी नारायणदत्त रानाभाट (पूर्व सभामुख तारानाथ रानाभाटका पिता) को घरमा बसेका थिए । वनभोज जाँदा आफ्ना एक विद्यार्थी दहमा डुबेर मरेपछि भावविह्वल भएर पोखरा छाडेर पासिखेल (साँखु) को इन्द्रायणी प्राविमा ०१३ देखि ०१५ सम्म पढाए।
बानियाँका अनुसार,
२०१४ को कृषि प्रदर्शनीमा उनले प्रधानमन्त्री टेकप्रसाद आचार्यलाई विद्यार्थीसहित घेरा हालेर नाराबाजी गरे अनि स्कुल भवन बनाउन कबोल गराए । त्यसपछि उनी ‘कम्युनिस्ट भैरव’ कहलिए । त्यसभन्दा अघि त्यस क्षेत्रमा ‘काँग्रेस बद्री (बद्रीनाथ आचार्य) ‘चल्तीमा थियो ।
०२० मा घाँटी दुखे पुरानो रोगले झन् सतायो उनलाई । डाक्टरको सल्लाहअनुसार उपचार गर्न दिल्ली जानुपर्ने भयो । दरबारका तत्कालीन जनसम्पर्क अधिकारी पूर्णप्रसाद ढुङ्गेलले सहयोग गरे। दिल्लीमा यदुनाथ खनाल राजदूत थिए भने सूर्यविक्रम ज्ञवाली सांस्कृतिक सहचारी ।
त्यतिबेला उपचारार्थ भैरवसित आफू पनि सँगै गएको रोचक सुनाउँछन्, ‘घाँटीका रोगीले चुरोट र रक्सीको अम्मली हुनु हुँदैनथ्यो । तर भैरव पर चेनस्मोकर”, उनी भन्छन्, “दिल्लीमा पनि उपचार हुन नसकेपछि निराश भए । ”
“दिल्लीकै जमुना नदीमा डुबुल्की लगाउने सुर थियो, बाबुराम पौडेलले छेके। बनारस पनि गङ्गामा हाम फाल्ने विचारले नै गएको थिएँ तर पुगेदेखि फर्कुन्जेल नै शिव भट्टराईले छाड्दै छाडेनन् र मोकै मिलेन। रक्सौलसम्म आउँदा पनि रेल दुर्घटना भइदेओस् भनेर कति चिताएँ, अहँ भएन । वीरगन्जदेखि काठमाडौंसम्म आउँदा पनि बसमा नचढेर थोत्रो ट्रक खोजेर त्यसमा चढेर आएन, त्यो पनि सबुतै आइपुग्यो । अझै कति सास्ती खानुपर्ने हो, किन मर्थे चाडै?’, रोचक घिमिरेको पुस्तक ‘सम्झनामा फक्रिएका थुँगाहरूमा भैरवको स्वीकारोक्ति छ, ‘हेर मैले एउटा मानिसले आफ्नो जीवनमा भोग्न चाहने अनुभव जति भोगिसकेँ । दुःख-सुख, नाम-बदनाम नोकरी-चाकरी, देश-विदेश र घर-बास आदि साराको अनुभव मैले पाइसकेँ।”
तिनताका गोरखापत्र संस्थानमा पत्रकारिता पढ्न विदेश जाने कोटा गाउँथ्यो । तर अङ्ग्रेजी जानेको छैन भनेर भैरवलाई कहिल्यै मौका दिइएन । त्यहीँ झोकमा उनले सरस्वती कलेजबाट अङ्ग्रेजीमै स्नातक गरे । ०२९ मा पूर्वी जर्मनी जाने मौका पनि पाए ।
त्यही मेसोमा उनले घाँटीको शल्यक्रिया पनि गराए। पहिलेको स्त्रीजस्तो मसिनो स्वर झन् धोद्रो भयो । जर्मनले ‘गधाको स्वर हालिदिएको’ गुनासो गर्थे भैरव । त्यसले उनमा चर्को मानसिक अवसाद ल्याइदियो ।”
“भैरवलाई उनका सुन्दर लेख, निबन्ध र कथाहरूमा धेरैले उति पत्याएनन्। सहलेखन र सम्पादनमा पनि उनको योगदान उल्लेख्य छ । तर त्यतापट्टि उनलाई खोजिँदैन । साझा कथा, झा निबन्धजस्ता महत्त्वपूर्ण कृतिहरूका सम्पादक पनि भैरव नै थिए भन्ने कुरा हामी कमै सम्झन्छौँ । उनले स्वतन्त्र लेखन मात्र गरेनन्, पारिश्रमिक लिएर पाठ्यपुस्तकहरू पनि लेखे । त्यति मात्र होइन, उनले ज्याला लिएर अरुकै नाममा सिर्जनात्मक कृति पनि लेखिदिएको कुरा उनले नै कतै चुहाएका पनि छन् । साहित्यको क्षेत्रमा लागेर उसबेला के नै कमाइ हुँदो हो?
त्यसबेला पनि नेपालीमा एम.ए., ए डिप इन जर्नालिज्म गरेका उच्च शिक्षा प्राप्त व्यक्ति थिए उनी । अध्ययनशील र सुन्दर विश्लेषक पनि तर..” लेखक एवं उपन्यासकार कृष्ण धरावासी ‘अरूलाई हँसाएर नथाक्ने मान्छे आफूचाहिँ किन रुन्छ?’ स्मरण लेख्दालेख्दै बिचमा लामो पज लिन पुग्दछन् । ”
लेखक एवं उपन्यासकार धरावासी अगाडि लेख्छन्-
“जब मैले उनले आफ्ना छोराछोरीलाई सम्बोधन गरे लेखेका पत्र पनि कतै पडेँ । अचम्म लाग्यो । मानिसले कसरी आफ्नो मृत्युको पनि योजना बनाउन सक्छ होला । मनोवैज्ञानिकहरूले भनेको सुनिन्छ, ‘आत्महत्या त क्षणिक निर्णयबाट हुन्छ ।’ कुनै तरिकाले त्यो क्षणलाई टार्न सके फेरि त्यस्तो नहुन सक्छ । तर भैरवको पत्रले यो कुरालाई मान्दैन । उनले त छोराछोरीलाई सोची-सोची चिठ्ठी लेखेर घर छोडेर हिँडेका छन्। उनले छोराछोरीलाई सम्बोधन गरी लेखेको चिठ्ठी यस्तो छ-
‘मेरा प्यारा रसी, शशी, दीपू टाटी, किनु, शौरभ,
मलाई तिमीहरूको पाप लाग्यो । म कहाँबाट कहाँ पुगेँ, तिमीहरू कहाँ पुग्यौँ । ठुलो भएपछि तिमीहरूले बुझौँला- म कस्ताकस्ता जालमा परेर मरेँ । मैले जानीजानी कुनै पनि अपराध गरेको थिइनँ तर बेहोस बेहोसमा दुनियाँभरिका पाप मैले आफ्नो थाप्लोमा थाप्नुपर्यो । अरूकै लहैलहैमा लागेर मलाई तिमीहरूले पशु नसम्झ- म मान्छे नै थिएँ । पढेलेखेको थिएँ । तर मनले साह्रै काँतर भएकाले म मेरो यो अवस्था भयो । कुनै अपराध गरिनँ तर धेरै अपराध लाग्यो । ’ (२०३८, असोज ८)
यो चिठ्ठीमा धेरै कुरा त खुल्दैन तर उनलाई कुनै गहिरो तनाव थियो भन्ने बुझिन्छ । उसो त बिनातनाव त्यसै कसले किन पो आत्महत्या गर्ला र । तर फेरी तनाव नभएको मानिस पो यो दुनियाँमा को हुन्छ र । सबैभन्दा ठुलो कुरा हो, आत्मबल । आफूमाथि निर्भर । त्यत्रा प्रतिभाले त्यस्तो केको तनाव सहन होला । मलाई यो धेरै अघिदेखिको जिज्ञासा हो। त्यसो ।त उनको यो कविता पढ्दा पनि बुझिन्छ, उनको निराशाको दह निकै पहिलेदेखि नै जमिरहेको थियो ।”
सन्तोष ?
चाहिन्न बादल तेरी पानी
मसँग आफ्नै आँसु छ
लिन्नँ म तेरो ताप भास्कर
मसँगै महान् सन्ताप छ।
फिर्ता छ तेरो उन्माद शशी
विस्माद भारी मेरै छन्
के देलास् र सास पवन तँ
कति सुस्केरा यी मैसँग छन् ।
चाहिन्न ईश्वर तेरो दुनियाँ
मैले अर्कै सिर्जिसकेँ
यो नमिठो बिपनादेखि
अब म साँच्चै पन्छिसकेँ ।
– प्रहरी पत्रीका