काठमाडौं । सहकारीको रकम मिटरब्याज धन्दा चलाएको आरोप लागेका ओस्कार बचत तथा ऋण सहकारीका कोषाध्यक्ष रोजन गुरुङले आफू सम्बद्ध अर्को संस्थामा पनि आर्थिक घोटाला गरेको आरोप लागेको छ ।
उनी महासचिव रहेको रुम्जाटार गुरुङ सेवा समाजको भवन निर्माणका क्रममा सरकारबाट प्राप्त रकम र समाजका सदस्यहरुबाट उठाइएको रकम अपचलन भएको सदस्यहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिका ६ स्थित सरस्वती नगरमा रहेको समाजको भवन निर्माणका लागि सम्पूर्ण रुम्जाटार गुरुङ सेवा समाजका सदस्यहरुबाट जनही रकम उठाइएको थियो । भवन निर्माणका लागि नन्द कुमार गुरुङ र शिव कुमार गुरुङले मात्रै ७० लाख रुपैयाँ भन्दा बढी रकम सहयोग गरेको विवरणम भेटिएको छ । १२६ जना सदस्यहरुबाट २ करोड ३१ लख रुपैयाँ भवन निर्माणका लागि उठाइएको थियो । सदस्यहरुबाट प्राप्त रकमलाई क वर्गको राष्ट्रिय वाणिज्य बैंकमा राख्नुको सट्टा आफू नै कोषाध्यक्ष रहेको ओस्कार बचत तथा ऋण सहकारीमा गैरकानुनी रुपमा जम्मा गर्न पुर्याएको एक सदस्यले दियोपोस्टलाई बताए । सहकारीमा राखिएको समाजको पैसा विभिन्न व्यक्तिलाई मिटरब्याज लगाएको उनीमाथि आरोप छ । मिटरब्याजबाट पीडित भएका एक व्यक्तिले काठमाडौं प्रहरीमा उनी विरुद्ध उजुरी नै दिएका छन् ।
भवन निर्माण कार्यका लागि भने सरकारबाट १ करोड ७८ लाख ३५ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको तर, सरकारबाट प्राप्त रकमको समेत फरफारक गरिएको छैन ।
‘कानुनले संस्था चल्नको लागि वार्षिक लेखापरीक्षण हुनुपर्छ भनेको छ । साधारण सभा सभा पनि भएको छैन । अवधी पुगेको भए नयाँ कार्यसमिति गठन हुनुपर्छ र जिल्ला प्रशासन कार्यालयमा संस्था नवीकरण भएको हुनुपर्छ तर यहाँ त अचम्म भएको छ । यी माथिका कुनै पनि प्रक्रियागत कुराहरू यो वर्ष पूरा भएका छैनन्, तैपनि बजेट ल्याउने सम्झौता कसरी र कुन आधारमा भयो ? यो त कता कता एकादेशको कथा जस्तो भएन र ?,’ ती सदस्यले दियोपोस्टसँग नाम नबताउने सर्त राखेर भने,‘व्यक्ति वा सर्वसाधारणलाई अल्मल्याउनु र भ्रमको खेती गर्नु त नेपालीहरुको पुरानै रोग हो, तर सिधै सरकारलाई नै अल्मल्याउने र गुमराहमा राख्ने आँट कहाँबाट आउँछ? यो कतिसम्म जोखिमपूर्ण खेल हो, सायद बुझेर पनि बुझ पचाउने काम भइरहेको छ ।’
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार गुरुङलाई समेत गुम्राहमा पारेर कोषाध्यक्ष रोजन गुरुङले हस्ताक्षर दुरुपयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी परेको छ ।
‘५ हजार ६ सय ४९ फिटको भवन बनाउँदा के कति खर्च भयो । बिल भौचर के कतिको छ भन्ने विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन,’ समितिका एक सदस्य भन्छन्,‘एक्कासी ४ करोड ४९ लाखको हिसाब देखाइयो त्यो आफैमा अपारदर्शी छ ।’