लेखन जमिरहने तलाउ होइन, निरन्तर बगिरहने नदी हो

दियो पोस्ट  

कास्कीको पोखरामा जन्मिएकी प्रभा बराल पचासको दशकदेखि साहित्य लेखनमा सक्रिय छन् । नेपाली साहित्यमा एमफिल गरेकी उनी हाल प्राध्यापन पेसामा संलग्न छन् । उनका शब्दहरू अविराम यात्रामा कवितासङ्ग्रह (२०५७), तृष्णाको पहाड (गजल सङ्ग्रह (२०७०), असिनाको कथा बालकविता सङ्ग्रह (२०७१), आत्महत्याको जङ्गल नियात्रा सङ्ग्रह (२०७२) र फिलिङ्गो उपन्यास (२०७७) गरी पाँचवटा कृति र आधा दर्जनभन्दा बढी सम्पादित कृति प्रकाशित छन् । 

प्रस्तुत छ, नियात्रा समाज नेपालकी महासचिव समेत रहेकी बरालसँग दियोपोस्टका लागि राजु झल्लु प्रसादले कुराकानीको सम्पादित अंश:

प्रभा बरालसँग लेखनका कुरा

आम पाठकका माझमा उपन्यास निकै लोकप्रिय छ । ‘फिलिङ्गो’ पनि लोकप्रिय रह्यो है ?  ‘नेपाली साहित्यको लोकप्रियतावाद’लाई तपाईँ कसरी हेर्नुहुन्छ ?

आम पाठकका माझमा उपन्यास लोकप्रिय हुनाका कारण छन् । त्यहाँ एउटा रचनात्मक संसार निर्माण गरिन्छ । शब्दहरूको रङ्गीचङ्गी फूलहरू फुलाएर कल्पनाशक्तिको सुवास फैलाएर एउटा रचनात्मक बगैँचा तयार गरिएको हुन्छ । उपन्यासबाटै पाठकले एकभन्दा बढी जीवन बाँच्न पाउँछन् । एउटा अभिनेता सरह फरक फरक भूमिकामा पाठक बाँच्न पाउने भएकोले उपन्यास लोकप्रिय भएको होला । 

फिलिङ्गो पनि लोकप्रिय भयो होला भन्ने लाग्छ । धेरै भन्दा धेरै पाठकको सकारात्मक प्रतिक्रियाले यसो भन्ने आधार म पाउँछु । कसैप्रति पूर्वाग्रही नभई साक्षी भावले फिलिङ्गोको कथा लेखेँ । बिदेसिएका सारा नेपालीहरूको साझा कथा यसमा छ । अहिले हाम्रो समाजमा विदेश नजाने घर पाउनु मुस्किल छ । त्यसैले पनि पाठकहरूलाई आफ्नै कथा लाग्न सक्छ । 

लोकप्रियताको कुरा गर्दा लेखक जहिले पनि जिम्मेवार हुनुपर्छ । उसको लेखनीमा इमानदारी हुनुपर्छ । राम्रो लेखनले कैयौँ कालखण्ड असर पार्न सक्छ । लोकप्रियताको नाममा नकारात्मकता भर्ने खालका लेखनमा जानु हुँदैन । लेखकीय मूल्य मान्यताको ख्याल पनि गर्नुपर्छ । लेखन स्वाभाविक हुनुपर्छ । लेख्नका लागि लेखिन हुँदैन ।

गजल, कविता, नियात्राकार हुँदै उपन्यासकार हुनु भयो । यसपछि कता ? र, त्यसपछि ? 

जीवनमा जो पनि एकपटक कवि बन्छ, त्यही अनुरूप मेरो लेखनी कविता, गजल हुँदै अघि बढ्यो । आखिर यही समाजलाई नै लेख्ने हो, विधा फरकफरक भए पनि । के लेख्ने भन्ने कुरा त्यसको विषयवस्तुले पनि निर्धारण गर्ने रहेछ । नियात्रालाई आख्यानमा ढाल्दा त्यति प्रिय नहुन सक्छ । त्यसैले आख्यानमा आएँ । फेरि जीवनको लामो कालखण्ड अटाउने विधा पनि त आख्यान हो । विषयवस्तुले माग गरेपछि नै निर्धारण हुने रहेछन्- साहित्यका विधाहरू भन्ने अनुभूति गरेँ । अबको मेरो लेखनी नियात्रा र आख्यानतिर उन्मुख हुन्छ । 

गणतन्त्रपश्चात् राजनीतिले मात्र नभएर साहित्यले पनि मुद्दा उठाइरहेको सवालमा तपाईँ (फिलिङ्गो)को पनि त्यो प्रयास रह्यो ? साहित्य मुद्दा केन्द्रित बन्दै जाँदा साहित्य मर्‍यो भनिएको सुनिन्छ । तपाईंको मत ? 

लेखनीमा चुनौती र सङ्घर्ष दुवै छन् । अरूलाई खुसी र आनन्दित बनाउन लेखिने कुरा हो यो । अरूका लागि प्रिय बन्ने कुरा लेख्न चुनौतीपूर्ण छ । लेखन एउटा सङ्घर्ष हो । विरोध र विद्रोह पनि हुन्छ । जतिबेला राजनीति थिएन, त्यतिबेला साहित्य मात्र थियो । साहित्यले नै समाज डोर्‍याएको हुन्छ । साहित्य समाजको ऐना पनि हो । साहित्य व्यापक छ । साहित्य कुनै समय काल र परिस्थिति अनुकूल वा प्रतिकूल बन्दैन । 

फिलिङ्गोले उठाएको मुद्दा कुनै राजनैतिक मुद्दा होइन । यो महिला मात्रको मुद्दा मात्रै पनि होइन । यो त मान्छेको अस्तित्वसँग जोडिएको कुरा हो । जन्मेपछि हरेक व्यक्तिले निर्बाध रूपले सास फेर्न पाउनु पर्छ । यो र त्यो बहानामा उसको घेरा वा परिधि तय गर्न मिल्दैन । हामी नेपाली समाजमा छौँ । स्वाभाविक रूपमा महिलाका विषय उठ्छन् । जहाँ समस्या छ त्यही लेख्ने विषय छ । फिलिङ्गोले जीवनका आधारभूत विषयमा बोलेको छ । समाजले नै दोषी चस्माले हेरेपछि विभिन्न विषय उठान हुन्छ नै । महिलाको कुरा गर्दा सत्त्वको सुनिश्चितता नै स्थायी खुसी प्राप्त गर्ने आधार हो । यो नै फिलिङ्गोको विषय हो । फिलिङ्गोमा द्वन्द्व बढाउने र फैलाउने कुरा छैनन् । 

विदेश बसाइ छाडेर पुनः अध्यापन पेशामै आउनुभयो । नेपाल आए लगतै उपन्यास ‘फिलिङ्गो’ लिएर देखिनुभयो । पुस्तक मदन पुरस्कारका लागि सूचिकृत पनि भयो । यो सब फटाफट भएजस्तो देखिन्छ, त्यसो हो र ? ‘फिलिङ्गो’को रचनागर्भबारे बताइदिनुहोस् न । 

शिक्षण पेसा मेरो रुचिको विषय हो । आंशिक प्राध्यापन गरेर भए पनि सन्तोष मानेकी छु । विदेश बस्ने सोच नै थिएन, छाड्ने भन्ने कुरै भएन । केही समयको लागि गएकी थिएँ । जापान पहिला पनि दुईपटक गइसकेकी थिएँ । जापानलाई अझ नजिकबाट बुझ्नै बाँकी थियो । पछिल्लो पटकको बसाइ फरक ढङ्गले बिताउँछु भन्ने थियो । अधुरा पाण्डुलिपिहरू थिए, त्यसलाई पूरा गर्छु भन्ने सोचेकी थिएँ । तर त्यस्तो भएन । जापानमा गएपछि त्यहाँका नेपालीसँग भेट्ने अवसर मिल्यो । उनीहरूका भोगाइ सुनेँ । श्रमशालाका पीडाहरू सुने, देखेँ, रोबोट दैनिकी अनुभव पनि गरेँ । मेरो दुई वर्षको बसाइ थियो । यस्ता अनुभव मर्न दिन हुन्न भन्ने सोचेँ अनि पात्रहरू खेलाएर हिँड्न थालेँ । नेपाल आउन बित्तिकै लेख्न थालिहालेँ । यो फटाफट भएको होइन । पाठकहरूको  अपार माया र सद्भाव पाएँ । खेमलाल लामिछाने साहित्य पुरस्कार प्राप्त गरेँ । मदन पुरस्कार छनौट सूचीमा पनि पर्‍यो । लेखकको नाताले खुसी र आनन्दित हुने ठाउँ प्रशस्त पाएँ । 

जापान (राज्य सत्ता, परिवार दुवै) ले महिला, पुरुष र फरक लिङ्गी व्यक्तिहरूलाई कसरी हेरिरहेको पाउनुभयो ? सँगै, त्यहाँ रहेका नेपाली महिलाहरू (श्रीमानको डिपेन्डेन्ट भिजामा जानेहरू सहित) को अवस्था कस्तो छ ? 

फिलिङ्गोमा यो विषय उठान गरिएको छ । जापानी राज्यसत्ताले महिला पुरुषमा कुनै विभेद गरेको छैन । कतिपय सवालमा महिलालाई अझ बढी अधिकार दिइएको छ । तर पनि पारिवारिक रूपमा पुरुष मानसिकता त्यहाँ पनि चर्कै छ । महिलाको पीडाको समानान्तर नदी त्यहाँ पनि बगेकै छ । जापानमा बस्ने नेपाली महिलाहरूले देश सुहाउँदो जीवनशैली भोग्न पाएका छैनन् । नेपाली मानसिकता जुन देश गए पनि उस्तै छ । त्यसैले त आत्मसम्मान र आत्मस्वाभिमानको फिलिङ्गो बाल्न परेको हो । आफ्नो लागि आफैँ बाँचौँ है भन्ने चेतनाको फिलिङ्गो जगमगाउन परेको हो ।

नेपाल र जापानबिच औपचारिक कूटनैतिक सम्बन्ध स्थापना भएको त लामो समय भयो । तर नेपाली-जापानी साहित्यको आदानप्रदान उत्ति भएको पाइन्न । भाषाको समस्या मात्रै कारण हो र? सँगै, जापानी कला-साहित्य र नेपाली कला-साहित्यबिच के-कति समानता/असमानता भेट्नुहुन्छ ? 

जापानीले आफ्नो भाषालाई औधी माया गर्छन् । मोबाइल, कम्प्युटर, बैङ्कका भौचरदेखि राज्यलाई तिर्ने राजस्वका सारा बिलहरू जापानी भाषामै हुन्छन् । कला, साहित्य, प्रविधि आदि आफ्नै भाषामा खोज्छन् । देश विकास हुनुमा मुख्य कारण यो पनि एक हो । हरेक विषयमा शोध गर्छन् । हरेक कुराको गहिराइमा पुगेपछि मात्र काम गर्छन् । नेपालीहरूलाई असाध्य माया गर्छन् । मन पराउँछन् । धर्म संस्कृतिका कतिपय कुराहरू हाम्रा समान छन् । त्यति हुँदाहुँदै पनि भाषाका समस्याले चाहेजति साहित्यको आदानप्रदान हुन सकेको छैन । जापानी साहित्यलाई छिचोल्न निकै गाह्रो छ । जापानी लिपि कठिन छ बुझ्न । बोल्न जाने पनि लेख्न जानिन्न । 

नेपालका केही पुस्तक जापानीमा र जापानका केही पुस्तक नेपाली भाषामा अनुवाद भएका त छन् तर सोचेजति अनुवाद हुन सकेको देखिँदैन । फिलिङ्गोको अनुवाद पनि जापानीमा होस् भन्ने मेरो चाहना छ तर सजिलो छैन । प्रकियागत झमेला छन् । लेखक मात्रले चाहेर नहुने रहेछ । 

समयतालिकामा रोबोटजस्तै खटिने जापानी र ढिलासुस्तीमा रमाई बस्ने नेपालीहरूको सामाजिक, सांस्कृतिक, राजनीतिक या भौगोलिक मानसिकताबारे तपाईँलाई बोल्ने मुड छ ? उनीहरूबाट हामीले के सिक्ने र हामीबाट उनीहरूले के सिक्ने ?

ढिलासुस्तीमा रमाइ बस्ने छुट पाइने भनेको यहीँ मात्र हो । संसारका समृद्ध मुलुकमा पुगेपछि त्यो गर्ने छुट हामीलाई पनि हुँदैन । सिस्टममा चलेको देशमा हाम्रो मानसिकता हाबी हुन पाउँदैन । उनीहरूको साँचोमा ढल्नै पर्छ । नेपालीहरूले लापरबाही गर्ने स्वभावका कारण साना साना कमजोरीमा पनि कल्पनै गर्न नसक्ने पीडाहरू भोगेका छन् । व्यक्तिगत स्वतन्त्रतालाई एकदमै ख्याल गर्छन् । फिलिङ्गोमा यी विषय पनि समावेश छन् ।

एउटा नारी लेखकले नारीका कमजोरी पनि देखाउनुभयो,  यो जोखिम कमैले मोल्छन् । या भनौँ इमानदारिताको सवालमा तपाईँको प्रशंसा होइरहेको छ । एउटा लेखकको इमानदारिताको पक्षलाई तपाईँ कसरी हेर्नुहुन्छ ? महिलासँग सम्बन्धित विषयवस्तुहरू (वादी समुदाय, छाउपडी प्रथा, महिनावारी विभेद लगायत), माओवादी द्वन्द्व या पछिल्ला सामाजिक विषयवस्तुहरूमाथि थुप्रा पुस्तकहरू लेखिए, इमानदारिताको सवालमा ती पुस्तकहरू कहाँनेर भेट्नुहुन्छ ? 

लेखन जमिरहने तलाउ जस्तो होइन । यो त निरन्तर निरन्तर बगिरहने नदी हो । लेखकीय नदीले मानवीय विकारलाई घुलाउन सक्ने क्षमता राख्नुपर्छ । त्यसैले पनि लेखक इमानदार बन्नै पर्छ । महिला र पुरुषको कित्ताभित्र लेखक उभिन हुँदैन । हो पछिल्लो समय महिलासँग सम्बन्धित विषयवस्तुहरू, माओवादी द्वन्द्व र समसामयिक विषयमाथि थुप्रै किताब लेखिए । लेख्ने क्रम जारी नै छ । लेखक कति इमानदार भए वा भएनन् गहन पाठकहरूले बुझ्नु हुन्छ । लेखकीय क्षमता, लेखनमा मौलिकता, लेखनमा सकारात्मकता, लेखनका सङ्घर्ष र चुनौतीहरू आजका पाठकले राम्ररी छाम्न सक्नु हुन्छ । त्यसैले होला बेलायती लेखक फ्रान्सिस बेकनले भनेका छन्, ‘केही किताबहरू चाख्नका लागि हुन्छन्, केही निल्न, केही चपाउन र पचाउनका लागि ।’ लेखनमा इमानदारिता छ भने ती पुस्तकहरू मज्जाले चपाउन र पचाउन लायक हुन्छन् । जीवनप्रतिको बुझाइ प्रस्ट हुन्छ । त्यहाँ बढी स्वभाविकता पाउन सकिन्छ । 

नियात्रा ‘आत्महत्याको जङ्गल’को बारेमा थोरै जान्नु थियो..! नियात्रा र उपन्यास, नियात्रा र कविताबिच तपाईँ केकति समानता-असमानता भेट्नुहुन्छ ? विधागत रूपमा तपाईँको सहजता कता रहेछ ? 

पाठकको रोजाइमा परेको नियात्रा कृति हो- ‘आत्महत्याको जङ्गल’ । यसमा पनि पुरै जापानी विषयवस्तु छ । जापान भ्रमणको पछिल्लो यात्रानुभूति जोडेर पुनः संस्करण निकाल्ने योजनामा छु । नियात्रा, उपन्यास र कविताका विधागत भिन्नता र समानताका बारेमा थुप्रै कुराहरू छन्, तिनका बारेमा यहाँ लेख्न थाल्दा विषयान्तर होला । लेखनमा रुचि जागेपछि लेखनमा सहजता भेटिन्छ । यसरी हेर्दा मलाई यी विधाहरू प्रिय लाग्छन् । 

थकाइ भनेको त मनको भ्रान्ति रहेछ भन्नुहुन्थ्यो । थकाई के रहेछ ? विश्राम के रहेछ ? थकाइ र विश्रामबिच लेखनलाई कसरी परिभाषित गर्नुहुन्छ ? 

थकाइ भनेको मनको भ्रान्ति रहेछ । हाम्रो शरीर त रबर जस्तै रहेछ, जति तन्काए पनि तन्किने । सुरुमा चार घण्टा उभिएर काम गर्न नसक्ने मैले, पछि पछि कहिलेकाहीँ दिनकै दश घण्टा पनि सजिलै उभिएर काम गर्न सकेँ । शरीरले सबै पचाउँदै गयो । कति दिदीबहिनीहरूले चौध घण्टासम्म पनि दैनिक काम गर्थे । त्यसैले मैले गर्न सक्दिनँ, थकाइ लाग्छ, गाह्रो हुन्छ भन्ने बहाना मात्र हो भन्ने सोचेँ । विश्राम भनेको चाहिँ कामकै सन्दर्भमा बिच बिचमा खाजा, पानी आदिका लागि गरिने आराम हो । यो बिना त काम गर्ने ऊर्जा प्राप्त हुँदैन, विश्राम गर्नै पर्छ । थकान र विश्रामको यो प्रसङ्ग लेखनका हिसाबले पनि गर्न सकिन्छ । लेखनमा पनि थकान भन्ने हुँदैन । लेखनको बिच बिचमा विश्राम अवश्य लिनु पर्छ । यसले झन् लेखनमा निखार ल्याउँछ । थप ऊर्जाशील बनाउन सघाउँछ ।

तपाईँले खोजेका किताबहरू कत्तिको भेटिएका छन् ? तपाईँ कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू? 

इच्छा त संसारले उत्कृष्ट मानेका पुस्तक पढ्ने हुन्छ नि । तर पढेर नसकिने विषयवस्तुहरू छन् । मनमा सकारात्मकता भरिने, उत्साह जाग्ने, प्रेरणा दिने खालका पुस्तक पढ्न मन पर्छ । मलाई दर्शनका पुस्तक पनि पढ्न रुचि लाग्छ । यस्ता पुस्तक पढ्दा आनन्दित महसुस गर्छु । 

पछिल्ला किताबहरूलाई केवल ‘लेखकको एकाङ्गी अनुभूतिमा सीमित भएको’ आरोप लागिरहेको छ । तपाईँको मत ? 

सबै त्यस्तो छैन । कतिपय गहन लेखन पनि आएका छन् । सस्तो लोकप्रियता खोज्नेहरूले त्यस्तो गर्लान् र सिङ्गो लेखनलाई नजरअन्दाज गर्लान् । यो पोखरीमा डुबुल्की नमारी छलाङ लगाएजस्तै हो । कुनै पनि विषयमा आफ्नो धारणा र अनुभवलाई केन्द्रमा राखेर लेखनी सुरु गर्न नराम्रो होइन । हरेक लेखनमा लेखकीय भावना, विचार र अनुभव पृथक् नै हुन्छ । त्यसैले लेखनमा चुनौती र सङ्घर्ष दुवै छ । 

‘लेख्नका लागि पढ्नुपर्छ’ या  ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ, ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य छ । तपाईँको मत ? तपाईँ किन लेख्नुहुन्छ? तपाईँ किन पढ्नुहुन्छ ? 

लेख्नका लागि पढ्नै पर्छ, नत्र लेख्ने बनिँदैन । लेख्ने बानीको विकास हुँदैन । लेखनमा लगाव आउँदैन । लेखनमा अभ्यास पनि बन्दैन । अनि राम्रो लेखक बन्न सकिँदैन । पढेन, लेख्ने, लेख्ने, पढेन यो अत्यन्त स्वाभाविक घटना हो लेखकका लागि । पढ्दै गएपछि लेख्नै पर्छ भन्ने भाव आउँछ । नलेखी बस्नै नसकिने हुटहुटी चल्छ मनमा । म नयाँ नयाँ विषयवस्तु खोज्न, जीवनजगतलाई बुझ्न र लेख्नका लागि पनि पढ्ने गर्छु ।

मैले त सक्काएँ, तपाईँको पो केही प्रश्नहरू छन् कि?

मेरो लेखनी र साहित्यका बारेमा यति धेरै प्रश्नहरू राखिदिनुभयो । मैले आफ्ना भनाइहरू राख्ने मौका पाएँ । तपाईँको साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

सम्बन्धित खबर