गौहत्याले निम्ताएको बहस !

उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो

- राजु झल्लु प्रसाद  

मानव जातिले नखाएको सायदै कुनै जनावर होला । पेरुमा बिरालो, चीनमा सुँगुर र कुकुर, भियतनाम, दक्षिण कोरिया र जापानमा भ्यागुतो, थाइल्यान्डमा किराहरू, भारतमा खसी, गाईदेखि कुकुरसम्म खाने समुदाय छन् । भारतको ओडिसा राज्यले आफ्नो प्रदेशका किसानहरूलाई प्रोटिनको मात्रा पूरा गर्न मुसा खान आह्वान नै गरेको थियो । 

विश्वमा हरेक वर्ष ६५ अर्ब विभिन्न जनावरहरू मासुका लागि मान्छेद्वारा मारिन्छन् र खाइन्छन् । अर्थात् विश्वमा हरेक वर्ष एक जना मानिसले औसतमा ९ वटा जनावर मारेर खान्छ । मासु उत्पादन सन् १९६० को ७ करोड टनको तुलनामा सन् २०१७ मा पाँच गुणा बढी ३३ करोड टन पुगेको तथ्याङ्क छ। 

मासुको उच्च खपत पश्चिमा मुलुकहरूमा प्रस्ट देखिन्छ। पश्चिम युरोपेली मुलुकहरूमा प्रतिव्यक्ति खपत ८० देखि ९० किलो प्रतिवर्ष छ। संसारका गरिब मुलुकहरूले असाध्यै कम मासु खान्छन्। इथियोपियामा प्रतिव्यक्ति खपत सात किलो प्रतिवर्ष छ, रवाण्डामा आठ किलो, नाइजेरियामा नौ किलो छ- जुन युरोपेली मुलुकको खपतको तुलनामा दश गुणासम्म कम हो। सबैभन्दा धेरै मासु खपत हुने देश अमेरिका हो। उसो त, पश्चिममा मासुको खपत बढेको बढ्यै गरेको या केही बढेको देखिएपनि खाने मासुको प्रकारमा भने परिवर्तन भएको छ। रातो मासु अर्थात् गाईको र सुँगुरको मासु कम र कुखुराको मासु धेरै खाने गरिएको छ।  (बीबीसी)

अब यहाँनेर प्रश्न गर्न सकिन्छ, के हामी प्रकृतिमैत्री हुनका लागि शाहकारी हुन् आवश्यक छ ? या ‘वातावरणमैत्री मांसाहारी’ हुने छुट पनि हामीसँग छ ?

यो प्रश्नको उत्तर खोज्नका लागि एक तथ्याङ्कलाई हेरौँ- गाइको एक किलो मासु उत्पादन गर्दा १६ किलो कार्बन डाइअक्साइड पैदा हुन्छ । भेँडाको १ किलो मासु उत्पादन गर्दा १३ किलो कार्बन डाइअक्साइड पैदा हुन्छ ।  सुँगुरको मासु उत्पादन गर्दा झन् थोरै अर्थात् त्यसको आधा जसो कार्वनडाइ अक्साइड उत्पादन हुन्छ । कुखुराको एक किलो मासु उत्पादन गर्न केवल ४.४ किलो कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ । यदि साँच्चीकै ‘वातावरणमैत्री मांसाहारी’ हुन चाहने हो भने मानव प्रजातिले प्रतिदिन १ सय ग्राम भन्दा कम मासु खानु आवश्यक हुन्छ । जो विश्वको अहिलेको दैनिक प्रतिव्यक्ति मासु खपत भन्दा आधा हो । र, यहाँनेर अर्को प्रश्न उब्जिन्छ, के मानिस आफ्नो भोजन संस्कृतिबाट आधा जसो मासु त्याग्न इच्छुक छ ? 

अझ,अर्कको तथ्याङ्क पनि हेरौँ- नेपाल सरकार पशु विकास मन्त्रालयले सन् २०१७ को जुलाईमा तयार गरेको प्रतिवेदन अनुसार नेपालमा गाई गोरुको सङ्ख्या ६४,३०,३९७ रहेको छ भने अन्य जनावरहरू जस्तो- भैँसी राँगाको सङ्ख्या ३१,७४,३८९ रहेको छ । चौँरी गाईको सङ्ख्या ४८,८६५, भेडाको सङ्ख्या ६,१२,८६४, बाख्राको सङ्ख्या १,१२,२५,१३० र सुँगुरको सङ्ख्या ८,७०,१९७ रहेको देखिएको छ । तीमध्ये अन्य जनावर काट्न मार्न र तिनको मासु उपयोग हुन सक्छ । वि.स. २०४९/०५० को तथ्याङ्कमा नेपालमा ६८.३८ लाख गाई र ३२.७८ लाख भैँसी रहेको उल्लेख गरेको थियो। (नेपाल कृषि अनुसन्धान परिषद्, २०५४) 

यसै गरी, नेपाल माछामासु व्यवसायी सङ्घको तथ्याङ्क अनुसार (०७३) राजधानीमा दैनिक २० करोडको मासु खपत हुने गर्दछ । खसीबोका, कुखुरा, बङ्गुर, राँगाभैँसी र माछा गरेर दैनिक करिब ६ लाख २३ हजार केजी खपत हुने गरेको उसले बताएता पनि गाइको मासुबारे भने तथ्याङ्कले चुपी साँधेको छ। राजधानी गाईको मासु खाँदै नखाइने भन्ने होइन । यसकारण तथ्याङ्क स्वयंले आफूप्रति संशय व्यक्त गर्ने ठाउँ स्वयं छोडेको छ ।  

संसारमा मांसाहारीको दबदबा छ- यो पक्का कुरा हो । बहुमतको कदरको कुरा छ- म पनि यतै छु । शाकाहारीहरूका लागि यो धर्ती बनेकै होइन भन्ने काइते तर्क चाहिँ मेरो छैन ।  खैर,  मांसाहारी-शाहाकारी बहसलाई अहिलेलाई किनारा लगाउँदै कुराको पोयू फुकायौँ । 

मकवानपुर घटना :

गाईको मासु भन्ने बित्तिकै राहुल सांकृत्यायनमा जागेको ‘ब्राह्मण’ होस् या  मोदीको हिन्दु ‘धार्मिक अतिवाद’ होस्- ब्राह्मणिकल राष्ट्रवाद र ब्राह्मणिकल प्रभुत्व पटक-पटक साथमा देखिएकै हो । नेपाली हिन्दू समाज (उच्च जातीय हिन्दू?) पनि यस प्रवाहबाट अछुतो छैन  । भारतले झैँ नेपालले आफूलाई हाकाहाकी ‘म शाहकारी हुँ’ नै त भनेको छैन तर नेपाल बेलामौकामा आफू ‘अण्डा खाने शाकाहारी’ भएको लिच्चड स्वभाव चाहिँ देखाइराख्छ । 

राजतन्त्र फालेर गणतन्त्रमा प्रवेश गरेको सङ्घीयता (सहयोगी सङ्घीयता?)अपनाएको नेपालमा राजतन्त्रात्मक धङधङी चेतन रूपमै कुन हदसम्म जीवित छ भन्ने कुराको स्पष्ट उदाहरण हो- असोज ४ को मकवानपुर घटना । 

गौहत्याको आरोपमा एकजना दलितसहित ९ जना तामाङलाई मकवानपुरमा पक्राउ गरिएपश्चात् ‘मासु बहस’ पुनः सतहमा छचल्किएको छ । गाई गोरुको संरक्षणको विषयलाई संवैधानिक तथा सांस्कृतिक दृष्टिबाट के कसरी हेरिनु पर्छ भन्ने छलफल सुरु भएको छ । 

घटनास्थल आफ्नो छिमेकी गाउँपालिका भएकाले स्थानीय सूचना प्राप्त भएको बताउँदै मुक्तान थेबाले सामाजिक सञ्जालमा लेखेका छन्, “व्यापारीले मधेस लगेर बेच्न गाउँमा सङ्कलन गरेर धपाउँदै ल्याएको गाई-गोरुहरुमध्य एउटा गाई बिरामी परेर हिँड्न नसक्ने भएपछि व्यापारीले स्थानीयलाई बिक्री गर्‍यो । उक्त गाईलाई गाउँलेले मासुको निम्ति काटे । गाईलाई माता मान्नेहरू(गैर जनजाति)मध्यको गाउँको सुराकीले  जिल्ला प्रहरीलाई फोन गरेर सूचना दिए । त्यसपछि बागमती गा.पा. फापरबारिस्थित इलाका प्रहरी, हात्तिसुँढे, जुन घटनास्थलबाट नजिकको प्रहरी चौकी र जिल्ला प्रहरीको विशेष टोलीसहितको झन्डै अढाई सयको प्रहरी टोलीले सिङ्गै गाउँ घेरा हाले । सोझा तामाङ एकजना दलितसहित १० जनालाई निर्मम दमन गर्दै पक्रेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्‍याए । आफ्नो गाउँमा यति ठुलो बर्बर दमन हुँदा पनि त्यहाँका जनप्रतिनिधिहरुले चुपचाप समर्थन गरे । बरु उल्टै सोझा तामाङ र दलितलाई मान्छेको हत्यारालाई जसरी घिसार्दै लाँदा तिनै जनताका मत पाएर जितेका जनप्रतिनिधिहरू ताली बजाएर बसे । र, हिजो गाई काटेर खान लगाउने र सामूहिक भोज गर्ने स्थानीय तत्कालीन समयका माओवादी र अहिलेका स्थानीय नेता भनिएका हनुमानहरू प्रतिरोध गर्नुको सट्टा मूकदर्शक भएर बसे । अब प्रश्न उठ्छ । जरुर उठ्छ । उठ्नुपर्छ । उठाइन्छ । यो देश कसको हो? के यो देश तिनै तागाधारीहरूको मात्रै हो ? के यो राज्य अझै एकल जातीय हिन्दूराज्य होइन ??”

थेबा दियोपोस्टसँग भन्छन्, गैर-हिन्दूहरूले आफ्नो घरमा पालेको जनावर हो- गाई। उसले आफ्नो आहार उपभोग गर्न पाउनुपर्छ । धर्म निरपेक्ष राष्ट्रमा संविधानसँग बाँझिएको कुरा गर्न मिल्दैन । गाई पुज्ने  व्यक्तिहरू (हिन्दू)को घर,आँगनमा या मन्दिरमा गएर मासु खानु भएन, कसैको आस्थामाथि प्रहार गर्नु भएन तर गाई खानेहरूलाई खान दिनुपर्छ ।  यसमा कुनै पनि समस्या हुनु भएन ।”

यता, तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले मरेको गाईलाई व्यवस्थापन गर्ने क्रममा पक्राउ परेका निर्दोष स्थानीयहरूको तत्काल बिना शर्त रिहाइको माग गरेको छ ।

May be an image of text

 

गौवध सम्बन्धी थप घटनाहरू :

गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबिच हजारौँ वर्षदेखि राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय बनेको यो पहिलोपटक होइन। गाई मारेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन्।  उदाहरणस्वरूप केही घटनाहरूलाई अगाडि सारौँ-

१.सन् २०१२ मा भारतको ओस्मानिया युनिभर्सिटीको फुड फेस्टिभलमा बिफ स्टल राखिएको थियो। सो बिफ स्टल दलित विद्यार्थीले आफ्नो संस्कृति प्रवर्द्धन गर्ने हिसाबले राखेका थिए। कार्यक्रम सुरु भएको केही समयमै अखिल भारतीय विद्यार्थी परिषद् (भारतीय जनता पार्टीद्वारा सञ्चालित एक विद्यार्थी युनियन)ले युनिभर्सिटीमा हमला गर्‍यो। कार्यक्रम संयोजकलाई हातपात गर्‍यो र करिब पाँच जना विद्यार्थीहरू घाइते भए।

२. २०७७ भाद्र १० गते गोरु काटेको निहुँमा झापा जिल्लामा प्रहरीद्वारा एकजना व्यक्ति (३८ वर्षीय) को गोली हानी हत्यासमेत भएको थियो । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको थियो । 

३. यसैगरी, २०७८ भदौ २१ मा मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा स्याङ्जा प्रहरीले भेर्कोट नगरपालिका-८, ढापुकफेदीका तीनजना गुरुङहरूलाई पक्राउ गरेको थियो । यसैगरी, २०७७ माघ २७ गते मुस्ताङस्थित थासाङ गाउँपालिका–४ घाँसाका गोरु काटेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यी पछिल्ला केही घटनाहरू, यस्ता घटनाहरू थुप्रा छन् । 

गौवध बढ्दै:

‘नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५-७६ मा गौहत्या आरोपमा ७५ जना पक्राउ परेका ७५ जनामध्ये ३३ जनालाई गौहत्या गरेको कसुरमा मुद्दा चलाइयो । असार ०७६ देखि माघ ०७७ सम्म गौ वध कसुरमा २ सय ४६ जना पक्राउ परेको प्रहरी अभिलेख छ । यीमध्ये १ सय १४ जनाविरुद्ध मुद्दा चल्यो ।  ०७६-७७ मात गौहत्या र गाईगोरु कुट्ने वा मार्ने कसुरका १ सय १७ थान मुद्दा अदालतमा दायर भए । २०७२ देखि २०७७ सम्म ५ वर्षमा देशभरका जिल्ला अदालतमा ३ सय नौ वटा मुद्दा दर्ता भए । यी मुद्दामा ९ सय २७ जनालाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनायो । यसअघि ०६७ देखि ०७१ सम्म गौहत्याका जम्माजम्मी १ सय ५० वटा मात्र मुद्दा अदालत पुगेका थिए । धर्मनिरपेक्षतासहितको संविधान जारी भएपछि गौहत्यासम्बन्धी मुद्दा बढेको तथ्याङ्कले देखाउँछ ।’ (सागर चन्द, शिलापत्र) 

भारतको अवस्था पनि सोही छ, इस्वीको २०१९ को तथ्याङ्कअनुसार  गौ सम्बन्धित एक सय २८ वटा हिंसा भएका छन्। स्वभावतः त्यस हिंसाका पीडित गरिब दलित र मुस्लिमहरू नै हुन्, जसरी नेपालमा जनजाति, आदिवासी र गैरहिन्दूहरू रहेका छन् ।

संसारभर नै भौगोलिक, सामाजिक रीतिथिति, धार्मिक  बनोट एवं संस्कारअनुसार नै मासु तथा पशुपक्षीको भोग गर्ने चलन छ । यसकारण मासु खाने संस्कार (भोजन संस्कार नै) मा विविधता हुनु स्वाभाविक हो । तर यस कुरालाई जानाजान भुलिदिएर ‘हिन्दुत्वको राजनीतिकरण’ गरिनु र राज्यद्वारा कसले के खान हुने र के खान नहुने भनेर पटक-पटक निर्देशित गरिइनु हिन्दूवादी अहङ्कारको अभिव्यक्ति सिवाय अर्कोथोक केही होइन । 

गौवध र गोमांस :

सयौँ वर्षदेखि नेपाल, भारत लगायत देशका सांस्कृतिक, परम्परागत तथा धार्मिक जीवनमा सम्मान पाईआएको  गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय हो या बनाइएको हो ? भन्ने प्रश्नको उत्तर खोज्नुपूर्व ऐतिहासिक तथ्यहरूलाई हेरौँ ।

१. आदिम कालमा मानिस झुण्ड बनाएर जनावरहरूको शिकार गर्थे । फलफूल र घाँसपात सँगसँगै विभिन्न जीवजन्तुलाई भोजनको प्राथमिक स्रोतको रुपमा प्रयोग गर्दथे (यो सर्वमान्य कुरा हो) । कृषि युग सुरु हुनुभन्दा अगाडिका मानिसहरू आफ्नो गुजारा चलाउनका लागि हरिण, मृग, गाई, भैँसी, सुँगुर अथवा कुकुर; जे भेटे पनि शिकार गर्थे, तिनको काँचो मासु नै खान्थे । त्यतिबेला शिकार गर्ने जनावरको छनोट गर्नुभन्दा पनि त्यसको उपलब्धता महत्त्वपूर्ण थियो । 

२. दलितहरूको भोजनको हिस्सा गाई हुनुमा अम्बेडकरको मत सर्हानिय छ ।  अरूको (उच्च हिन्दू जातिसहित)  घरमा मरेको वा बिरामी भएको गाईबस्तुको ठेगाना लगाउने जिम्मेवारी दलितहरूको थाप्लोमा हालिएको थियो। ब्रमाहणवादको कारण घरमा अन्नको दाना पनि नहुने भएपश्चात् दलितहरूले मरेको गाईबस्तुको मासु खान बाध्य भए। यो पेसा उनीहरूले आफैँ रोजेको भने पक्कै थिएनन्, न त‌ उनीहरूमा गाईको‌ मासु खाने इच्छा नै थियो। यो त केवल भोकसँग जुध्ने निर्विकल्प एउटा संयन्त्र थियो, अम्बेडकरले लेखका छन्। (स्रोत : बिफ, ब्राहमीनस एन्ड ब्रोकन म्यान)

Hinduism has "well-establshed, traditional system" of disposing of dead cows, says VHP, invites Dalit ire
मरेको गाईबस्तु भोजनको लागि लग्दै, भारत

 

 

 

‘सिनो आन्दोलन’ : यता, नेपालमा  विशेषगरी दलितभित्र सार्की र चमार थर भएकाहरुलाई छालाको पेशा जबर्जस्ती तोकिएको थियो। गाई लगायत मरेका जनावर व्यवस्थापन गर्नु पर्ने, त्यस बाट जुत्ता लगायत छालाको अन्य सामाग्री उत्पादन गरिदिनु पर्ने उनीहरुको बाध्यता थियो। विरोधस्वरुप नेता बलदेव रामको अगुवाईमा ‘सिनो आन्दोलन’ समेत विगतमा भएका छन। सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा दलितहरुले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाई गरेका रामले तराईका जिल्लामा सिनो फाल्नु पर्ने कुरितीजन्य प्रथाको अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित संगम मधुपट्टि र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरिय भुमिसुधार आयोग २०६५ को सदस्य समेत भएका थिए । उनको ०७४, साउनमा निधन भएको थियो । 

३. लगभग तीन सय पुस्ता अगाडिका पुर्खाहरूले जीवन धान्नका लागि के–के खाए होलान्, कसरी खान्थे होलान् भन्ने कुरा अनुमानको कुरा हो । तर विभिन्न समयमा भएका खोज अनुसन्धान (हरारीको अनुसार)ले भोजन सामाग्री, ढुङ्गा/माटोको पकाउने भाडावर्तन नष्ट भइसकेका कारण र सहज बसाइसराइ प्रचलन (सामान्य जीविकोपार्जनको समानहरूसहित) कारण त्यतिबेलाका वस्तुहरूको हाडखोर यतिबेला भेट्न मुस्किल छ ।  

यद्यपि जति भेटिएका छन्, भेट्नेहरूले बताइरहेका छन् कि-भारतीय उपमहाद्वीपमा गोमांस अर्थात् गाई खाने प्रचलन थियो । क्याम्ब्रीज विश्वविद्यालयमा पुरातत्त्व विज्ञानमा पिएचडी एवं फ्रान्समा पोस्ट-डाक्टोरल फेलो ए सूर्यनारायणले सिन्धु घाँटी सभ्यताको अवधिका मानिसहरूको खानपानको तौर-तरिकामाथि अनुसन्धान गर्ने क्रममा यस सभ्यता मानिसहरूको मनपसन्द मासु बिफ एवं मटन रहेको उल्लेख गरेका छन् ।  ( स्रोत:  आर्कियोलोजिकल साइन्स)

यसैगरी, प्रसिद्ध भारतीय लेखक नीरद चौधरीको ‘द कन्टिनेन्ट अफ किर्की एनएस्से अन द पिपुल अफ इन्डिया’ तथा डीएन झालेको ‘द मिथ अफ द होली काउ’मा प्राचीन भारतमा उच्च जातका हिन्दु ऋषिहरूले समेत गोमांस खाने गरेको उल्लेख गरेका छन् । 

 

 

‘द मिथ अफ द होली काउ’, ‘द कन्टिनेन्ट अफ किर्की एनएस्से अन द पिपुल अफ इन्डिया’ र ‘हिस्ट्री अफ धर्मशास्त्र’ र ‘हिस्ट्री अफ कल्चरल पोइटिस’ पुस्तक

 

 

 

त्यस्तै ‘हिस्ट्री अफ धर्मशास्त्र’ र ‘हिस्ट्री अफ कल्चरल पोइटिस’ लगायत किताबका लेखक तथा संस्कृतिविद डा. पान्दुराम बमन काणेले गाईलाई पवित्र मान्नुभन्दा पहिला हिन्दु समाजमा गोमांस चल्थ्यो भनेर उल्लेख गरेका छन् । वैदिक कालमा गाई पवित्र मानिन्थ्यो र पवित्र भएकै कारण गोमासको सेवन गर्नुपर्छ भन्ने धारणा समाजमा व्याप्त थियो । चौधरीका अनुसार वेदमा गाईप्रतिको लगाव त्यसको आर्थिक उपयोगितासँग मात्र जोडिएको थियो न कि धर्मशास्त्रसँग ।

. वैदिक कालको हिन्दु विधिशास्त्र ऋग्वेदमा तत्कालीन आर्यहरूले गोमांस सेवन गरेको दृष्टान्त नै छ । ऋग्वेद १०.८६.१४ मा ईन्द्रले सम्बोधन गर्दै एक पल्ट ५ भन्दा बढी गोरु पकाए भनिएको छ । ऋग्वेद १०.९१.१४ मा अग्निका लागि घोडा, गोरु, साँढे, थारो गाई र भेडाको बलि दिइएको कुरा स्पष्ट उल्लेख छ । ऋग्वेद १०.७२.६ मा गाईलाई तरबार या कुल्हाडी प्रयोग गरी बध गर्न सकिने लेखिएको छ । ऋग्वेदमा उल्लेखित यी सन्दर्भहरूलाई आधार मान्दा तत्कालीन समयमा ब्राह्मण र गैरब्राह्मण हिन्दुहरूले गोमांस सेवन गरेको कुरा स्पष्ट हुन्छ ।    (स्रोत : क्या हिन्दू कभी गोमांस नहीं खाते थे?)

. डा. भीमराव अम्बेडकरले ‘को‌ हुन् अछुत र किन भए?’ भन्ने आफ्नो किताबमा लेखेका छन्, ‘ऋग्वेद’ कालमा आर्यनहरू मासु खान गाई मार्थे भन्ने कुरा वेदमै भनिएको छ। ‘ऋग्वेद’ ९१०।८६।१४० मा इन्द्र भन्छन्, ‘आफूले एकपल्ट पाँच वटाभन्दा बढी गोरु पकाएको थिएँ।’ सोही वेदको ९१०.९१.१४० पृष्ठमा अग्निका लागि घोडा, गोरु, साँढे, बाझो गाई र भेडाको बली दिइने गरेको प्रसङ्ग उल्लेख छ।’ अम्बेडकरले वेदका ऋचाको व्याख्या गर्दै हिन्दू धर्मका भगवान्लाई बली दिन गाई र गोरुबाट छान्ने गरेको बताएका छन्। कुन भगवानलाइ गाईको र कसलाई गोरुको बली दिने भन्ने कुरा विधिबमोजिम हुने अम्बेडकरको उल्लेख छ। उनकाअनुसार भगवान् विष्णुलाई गोरुको बलि चल्ने, वृतासूरका लागि सिङधारी चमकदार साँढे, पुसनका लागि कालो गाई, रुद्रलाई रातो गाई बलिको रूपमा चढाइन्थ्यो। (स्रोत: नो डेमोक्रेसी विथ आउट बीफ, बिनिता भण्डारी )

६. सप्तसिन्धु आउँदा नै इन्द्र मान्ने वैदिक आर्य र इन्द्र नमान्ने आर्यहरू छुट्टिइसकेका थिए । सप्त सिन्धुमा यिनै इन्द्र मान्ने आर्यहरूको बहुलता थियो । वेदका ऋचाहरू एक समान नहुनु र विचारमा विविधता या द्वन्द्व हुनुको कारण यही जातीय पृथक् मत हो । उदाहरणको लागि गोमांस भक्षणलाई लिन सकिन्छ । शितोष्ण प्रान्तबाट आएका आर्यहरूले वेदमा गोमांसको समर्थन गरे । हिमाच्छादित प्रदेशमा धेरै टिक्ने भएकोले अधिक मांसधारी गोरु काटिनु स्वाभाविक हो र यसैको स्वाद प्रचलनका कारण गोमांस भक्षण मान्य भयो तर यसको विपरीत उष्ण प्रदेशबाट आएका या रैथाने जातीको लागि भने यो अमान्य भयो । यसैले वेदमा गोमांसलाई लिएर पृथक् विचार वोकेका ऋषिहरूले पृथक् ऋचाहरू लेखेका छन् । (स्रोत : वैदिक इन्द्र’ ईश्वरीकरणदेखि पतितसम्म)

७.अमरनाथ पाल (१९९६) का अनुसार उत्तरवैदिक कालमा हिन्दुबीच पाहुनालाई गोरु काटेर खुवाउने चलन थियो। अमरनाथको यो विश्लेषणलाई लोड्रिक (२००५)ले आफ्नो अनुसन्धानमा पुनर्पुष्टि गर्दै हिन्दुहरुले गाईलाई लक्ष्मीको स्वरूप, माता मान्ने प्रचलनको प्रारम्भ ‘इशाको चौथो शताब्दी’देखि प्रारम्भ भएको व्याख्या गरेका छन्।  डा. उमेशचन्द्र पाण्डेयले आफ्नो पुस्तक गौतमधर्मसूत्राणी (संवत् २०६९०) मा हिन्दुहरुले गाई र गोरुको मासु खान्थे भन्ने कुराको खण्डन पनि गरेका छन्। (स्रोत: राजकुमार ढुंगाना, गाई : पवित्र र समृद्धिको प्रतीक किन?)

गोमांसमा प्रतिबन्ध कतिखेर लाग्यो ?

एक समय गाइको वध गर्ने र यतिखेर गाइको वध गर्नेलाई देखिनसहने हिन्दुहरूले गोमांसमा प्रतिबन्ध कतिखेर लगाए भनेर जान्नु उपयुक्त हुनेछ ।

भारतवेष्ठित हिन्दू धर्मको हकमा :

वैदिक कालमा प्रचलनमा रहेको गोमांसमा प्रतिबन्ध गौतम बुद्ध (अनिश्वरवादी)को उदयपश्चात् लागेको पाइन्छ । बुद्ध प्रेरित विचारधाराले तत्कालीन भारतीय समाज (वैदिक संस्कृति)लाई निकै चुनौती थप्यो । गौतम बुद्धले आर्यहरूद्वारा गरिने यज्ञ-यज्ञादी (ठुला-साना दुवै) र यज्ञमा गरिने पशुवलीको विरोध गरेको थिए। तात्कालिक समाजमा यसको गहिरो प्रभाव पर्यो । बहुसङ्ख्यक मानिस बुद्धधर्म अँगाल्न पुगे । बौद्धहरूको सङ्ख्या बढ्दै जाँदा हिन्दुहरू कमजोर हुने भए । यही भयले धर्म बचाउने नाममा हिन्दूहरूलाई गौमांस छोड्न र शाकाहारी बन्न अभिप्रेरित गर्‍यो । यस कामलाई अम्बेडकरले ब्राह्मणहरूको  इख र युद्धको रणनीति भनेका छन् । यसप्रकार कालान्तरमा यही भाष्य अपभ्रंश हुँदै धार्मिक मान्यताको आधार बन्न गयो । पछि मानिसहरू सूर्यलाई भगवान् ठानेर पूजा गर्न थाले जस्तै गाईलाई पनि ‘गौमाता’ भनेर पूजा गर्न थाले । (द अन्टचेवल्स, अम्बेडकर)

Holy men stir up riots in Delhi – archive | India | The Guardian

 

 

 

इशाको १,००० तिर गाईलाई पवित्र मान्ने चलन ज्यादै सुदृढ भएको बुझिन्छ। यो विश्वास कति बलियो थियो भन्ने कुरा चौधौँ तथा पन्ध्रौं शताब्दीमा भारतका मुस्लिम शासक बाबर तथा अकबरले समेत गाई काट्ने प्रचलन रोक्ने कानुन निर्माण गरेेबाट पनि बुझ्न सकिन्छ। भारतका शासक सिवाजी (ई. १६२७–१६८०) ले गोबध रोक्ने अभियान चलाउँदा उनलाई करोडौँ हिन्दुले समर्थन गरेका थिए। गाईलाई उनीहरुले आफ्नो पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिएका थिए। (स्रोत: राजकुमार ढुंगाना, गाई : पवित्र र समृद्धिको प्रतीक किन?) 

हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरुले गहिरो प्रभाव पारेका हुन्  भन्ने मत यहाँबाट प्रष्ट हुन्छ। विभिन्न संकेतहरूको वर्णन गरिएता पनि  तत्कालिन हिन्दू समाजले अन्य जनवारको तुलनामा गाईलाई यति धेरै महत्व किन दिइयो भन्ने कुरा चाहिँ यद्यपी खोजको विषय नै छ ।

नेपालको हकमा:  

ऐतिहासिक तथ्यहरूले नेपालका आदिवासी जनजाति सबैजसो गोभक्षक भएको बताउँछन् । बीफ उनीहरूको भोजन संस्कृति रहेको उल्लेख गर्छन्। पंक्तिकार नेपालको हकमा प्रथमपटक कहिले गौवध निषेध  गरियो भन्ने प्रमाण भेट्न असमर्थ छ, तर विभिन्न प्रमाणहरू यहाँ राख्दछ;

१. डोरबहादुर विष्ट:

क. मावनशास्त्री डोरबहादुर विष्टले नेपालमा गोमांसको प्रचलन उहिलैदेखि रहेको उल्लेख गरेका छन् । “नेपाल आदिकालदेखि गाईखाने देश पनि हो। अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन्। नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन। नेपाल हिन्दू-अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो।

राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो। यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो।

यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन्। स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन्। यो झगडा गर्ने एउटा निहुँमात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ।” 

(स्रोत: डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार ललितपुर पुगी पत्रकार गुणराज लुइटेलले जनआस्था साप्ताहिकको लागी लिएका अन्तर्वार्ता) ।

ख. स्पोष्टक्ति: यहाँ विष्टले पद्म रत्न तुलाधरको नाम मेन्सन गरेका छन् । यो नामको पछाडि एउटा ठुलो घटना छ, अतिवादी पक्षले पद्मरत्नको टाउको काट्नेलाई इनामको घोषणासमेत गरेका थिए । २०५२ वैशाख ८ गते हिन्दु स्वयंसेवक सङ्घको निमन्त्रणामा काशी हिन्दु विश्वविद्यालयबाट जनकपुर आएका सुदामा शास्त्री उर्फ भरत आचार्यले पद्मरत्नको टाउको काट्नेलाई ५० हजार रुपैयाँको इनाम घोषणा गरेका थिए ।

नेपाल मानवअधिकार सङ्गठनको पाँचौँ साधारणसभा (२०५१ साल फागुन २७) मा तत्कालीन एमाले सरकारका श्रम तथा स्वास्थ्यमन्त्री पद्म रत्न तुलाधरले गरेको सम्बोधनले धार्मिक तथा राजनीतिक वृत्तमा ठुलो खैलाबैला ल्याएको थियो । उनले भनेका थिए, ‘हामी सबैले मानेको कुरा धार्मिक समानता हो, धार्मिक स्वतन्त्रता पनि हो, तर फेरि पनि मुसलमानको जब कुरा आउँछ, फेरि पनि मङ्गोल जातिको मूलको कुरा आउँछ, उनीहरूले गाईको मासु खान पाउने कि नपाउने ?’

वैशाख ९ गते काठमाडौँमा आयोजित कार्यक्रममा योगी नरहरिनाथले पद्म रत्न र गाई प्रकरणमा आफ्नो मत प्रकट गर्दै गाई काट्ने कुरा बोल्नेका जति रौँ छन्, त्यति नै टुक्रा गरी काटिएमा अपराधले माफी पाउने बताए (मूल्याङ्कन मासिक, जेठ २०५२:५-६) ।

२. गोवध प्रतिबन्धको सिलसिला :

गोवध प्रतिबन्धलाई अत्यन्तै कडाइ गरिएको र गोवध गर्दा के कति दण्ड जरिबाना हुन्थ्यो भन्ने ऐतिहासिक तथ्यहरू ‘रेग्मी रिसर्च प्रालि’, लिम्बूवानको ऐतिहासिक अध्ययन’, लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह आदिबाट प्राप्त गर्न सकिन्छ ।

क. वि.सं. १८४३ ज्येष्ठ सुदी २ सोमबार रणबहादुर शाहले लिम्बू सुब्बाहरूको नाममा जारी गरेको एक लालमोहरमा ‘हिजो सीमापारि बसेर लुटपाट गरेको र गोवध गरेकोमा माफी दिएको’ उल्लेख भएकोले रणबहादुर शाहको पालादेखि कडाइका साथ गोवध प्रतिबन्ध लागू गरिएको देखिन्छ । (गोवध प्रतिबन्धको पूर्वकथा, राजकुमार दिक्पाल)

ख. त्यस्तै, सिनो भन्दै विभिन्न मरेको चौपायासमेत नखान भोटे, राई, माझी, मुर्मी (तामाङ) जातिलाई १८७४ बदी ४ मा, गुरुङ जातिलाई १८६७ बदी १२ मा र चेपाङ, सुनुवार, हायु, पहरी, बरामु र थान्सी (थामी ?) जातिलाई १८६२ मा आदेश जारी गरिएको थियो (रेग्मी रिसर्च सिरिज, डिसेम्बर १९७९:१२७-१२८)।

ग. गोवध गर्न निषेध गरी लिम्बूको संस्कृतिमाथि दमन सुरु गरिएको विषयवस्तुमा यसपटकको मदन पुरस्कार विजेता पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ले पनि बोलेको छ । शाहकलामा संवत् १८४३ फागुन सूदी रोज १, ऐ. ज्येष्ठ सुदी २ रोज २ लालमोहरबाट गोवधगर्न निषेध गरी लिम्बू रायको संस्कृतिमाथि दमन गरिएको प्रमाण लेखक भागिराज इङ्नामले अगाडी सारिदिएका छन् । “चुगम राईलाई निजका बाबु-बजेको सेनकालबाटै खाईपाई आएको रीतिथितिमा कायम गरी कर तिर्नु र गोवध गरे मास्नू (जातच्युत) भनी जारी भएको लालमोहर हो । यसले लिम्बू, राईहरू गाई-गोरु काट्ने, मार्ने, मासु खाने गर्दथे भनी बुझिन्छ ।” (सोही पुस्तक, पृ. २८५, लालमोहरको नक्कल प्रमाणस्वरूप) 

घ. लेखक इङ्नामले संवत् १८७८ श्रावण वादी १४ रोज ७ लेखिएको लालमोहर भूमि व्यवस्था तथा अभिलेख विभाग (डिल्लीबजार)लाई प्रमाण स्वरूप पेस गर्दै लेखेका छन्, “अरुण पूर्ण मेची पश्चिमका राई, लिम्बू, सुब्बा याक्खा मझिया आदिका नाउँमा जारी भएको रुक्का/लालमोहर हो । गाई, गोरु मुग्लान लागि नबेच्नु, बेचेमा अधिकारवालाले आफैँ दण्ड गर्नु, नहुनेले मालमा लागि दण्ड गर्नु भन्ने आदेश हो । यस रुक्काले हिन्दूधर्मको रक्षा गर्दै व्यापार व्यवसायमा बन्देज लगाएको देखिन्छ ।” (सोही पुस्तक, पृ. ३३९, लालमोहर प्रमाणस्वरूप) 

अतः गोरखा राज्यमा विलीन हुन पुगेपछि वा गोरखाली शाह राजाहरूको शासन स्वीकार गरेपछि आदिवासी-जनजाति समुदायलाई जबरजस्ती गाईको मासु नखान वा गोहत्या नगर्न बाध्य पारिएको यी स्रोत, सन्दर्भहरूले बताउँछन् ।

संविधान, धर्म निरपेक्षताको र राष्ट्रिय जनवारको सवालमा:

संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकबारे उल्लेख गर्दै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने कुरा प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३२ को उपधारा (३) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी धारा ५१ (ग) मा “स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने राज्यको नीति हुने” कुरा उल्लेख छ ।  

धर्म निरपेक्षताको सवालमा, ‘राज्यको आफ्नो कुनै धर्म हुँदैन; राज्यले धर्मको आधारमा कसैलाई विभेद गर्दैन र धर्मको आधारमा गरिने थिचोमिचो, तिरस्कार, अपहेलना, उपेक्षा तथा असमान व्यवहार गर्दैन । त्यसैगरी धार्मिक आवरणमा गरिने जातीय विभेद, अन्धविश्वास, छुवाछुत एवं अन्याय, व्यक्तित्व विकासमा सिर्जना गरिने अवरोध तथा जबरजस्ती धर्म परिवर्तन गरिने जस्ता कुरालाई राज्यले सहँदैन भन्ने हो ।’ यसलाई पनि मनन गरिओस् । संविधानसँग बाझिने कार्य गर्न कसैलाई पनि छुट छैन । 

एउटाको मूल्यमान्यता अरू सबैले स्विकार्नुपर्छ भन्ने आग्रह (धम्की?) हठ हो । यसले सहअस्तित्वको दर्शनलाई निषेध गर्छ । बहुलतापूर्ण नेपाली समाजको विकासमा यस्तै नीतिनियम, निर्देशकाहरू तगारो बनिरहेका छन् ।

राष्ट्रियता भनेको एक विश्वास हो, जसद्वारा व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । नेपाल बहुराष्ट्रिय देश हो, यहाँ विभिन्न राष्ट्रियताको सम्मिश्रणसहित एकीकृत नेपालको निर्माण भएको छ । यहाँका किरात समुदाय, खस-आर्य समुदाय र थारु–मधेसी समुदाय लगायत समुदाय छन्, यो नै एकीकृत नेपाल हो । वास्तविक नेपाल हो ।  हिन्दू समाजले गाईबाहेकका पशुपक्षी रक्षामा जोड दिएको छैन । जबकि, सारा चराचर जगत् एउटै तत्त्वबाट सिर्जित हुन् भने गाईको रक्षामात्रै यो समाज पटक-पटक मुखरित हुनु र गाईलाई राष्ट्रिय जनावर घोषित गर्नु ‘हिन्दूवादी अहङ्कारको अभिव्यक्ति’ मात्रै हो   । 

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखेको छ ।  संविधानले गाईलाई राष्ट्रिय जनवारले विभूषित गरिदिँदा ‘गाई वर्ग’ लाई वस्तु (Thing) मात्र नमानी जिउने हक भएको प्राणी (Being) मानिएको देखियो भने अन्य जीवहरूलाई वस्तु (Thing) मानिएको देखियो । यस्तो स्वीकारोक्तिले राष्ट्रिय जनावरप्रति राष्ट्रिय कटिबद्धताको हवला दिएर हिन्दू अभिव्यक्तिलाई प्रचारप्रसार गरिएको पनि प्रस्ट हुन् आउँछ ।  यसले सकारात्मक तथा नकारात्मक दायित्वको सिर्जना गर्छ, गरिरहेछ । यसलाई यसरी भनौँ- ‘गाई गोरुको संरक्षण हाम्रो धर्म, परम्परा, संस्कृति र पहिचानसँग जोडिएको विषय हो’ भनेर कानुनद्वारा भनाइरहँदा ‘नेपालमा प्रायजसो आदिवासी जनजातिहरू गोभक्षक थिए/छन्’ भन्ने कुरालाई बिर्सन पाइँदैन । गाईगोरु नखानु नै नेपाली सभ्यता र संस्कृति हो भन्ने मान्यताले भविष्यलके दुर्घटना निम्ताउनेछ ।

राष्ट्रिय जनवार भएकै कारण गाईको मासु खानु हुँदैन भन्ने कुरा ‘कुराको लागि कुरा’ मात्रै हो- राष्ट्रिय फूल लालीगुराँस टिप्न र खान प्रतिबन्धित छैन। अर्कोतिर, अस्ट्रेलिया, स्पेन, स्वीडेन, साउदी अरब, अमेरिका लगायत कतिपय देशमा समेत राष्ट्रिय जनवार खान प्रतिबन्धित छैनन्। अर्कोतर्फ, गाइ ब्याएसम्म बाच्छाबाच्छी ब्याउन लगाउने, दूध दिउन्जेल बाच्छाबाच्छीको भाग समेत खोसेर दूध दुहने तर थारो भए पछि सकेसम्म मियालाई बेच्ने, नसके सडकमा छाडा छोड्ने प्रवृतिले गाईको र हिन्दू धर्मको रक्षा गर्दैन।

र, रमाइलो कुरा के छ भन्दा, धार्मिक तथा सांस्कृतिक कारणले गर्दा गोवध र वृषभ वधलाई सोच्न पनि नसकिने र कानुनी रूपमा समेत वर्जित फौजदारी कसुर भनिरहँदा छाडा पशुचौपायको ठुलो सङ्ख्या, निवृत्तता र निरर्थकता (redundancy) लाई कसरी सन्तुलित र व्यवस्थित गरिराख्ने भनेर सरकारले सोच्न समेत भ्याएको छैन (लज्जास्पद !)।

नेपालमा पालिएका गाईगोरुलाई कसरी स्वस्थ राख्ने भन्ने प्रश्न पनि यस विवाद (मासु बहस) को निरूपणको क्रममा एउटा महत्त्वपूर्ण प्रश्न बन्न पुगोस् ।र,  यो प्रश्नले यथोचित सम्बोधन पाओस् ।

अस्तु !

सिफारिस