म लेखक भएकाले विदेश पलायन भएको होइन

गोपी सापकोटासँग ‘स्रष्टा संवाद’ 

- राजु झल्लु प्रसाद  

गोपी सापकोटा कला र साहित्यमा चिर-परिचित नाम हो । सपकोटाको यस अघि एक अन्त्य एक सुरुवात- कविता संग्रह, पूर्णविराम- नाटक संग्रह, खरानी- नाटक संग्रह, कमिलाको सपना- बाल कथा संग्रह, कालो आकृति – कविता संग्रह, गुलाफको एस्ट्रेमा मृत्‍यु- कविता संग्रह, प्रेम कतिपय- नाटक, अ सुसाइड नोट- अंग्रेजी कविता संग्रह गरी आठ वटा कृती प्रकाशन भईसकेका छन् ।  कविता, बालकथा, नाटकमा कलम चलाउँदै आइरहेका सापकोटाको पछिल्लो समय ‘काँचो कागज’ नामक उपन्यास प्रकाशित छ । ‘काँचो कागज’ उनको पहिलो उपन्यास हो ।

प्रस्तुत छ, दियोपोस्टका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री:

गोपी सापकोटासँग ‘स्रष्टा संवाद’

 

१. गैँडाकोटबाट हराउनुभयो । काठमान्डूबाट हराउनुभयो । स–परिवार बेलायत पुग्नुभयो । ‘काँचो कागज’ मार्फत भेटिनुभयो । यो लुकीछिपीको नेपथ्यमा ‘काँचो कागज’को पृष्ठभूमि कसरी तयार भयो ? 

हो, तपाईँले ठिक भन्नु भयो । समयको गति सँगसँगै म बग्दै गएँ । नयाँ नयाँ अवसरहरू खोज्ने क्रममा कता कता भौँतारिएँ । साँच्चै बाँच्ने जीवनलाई प्राथमिकतामा राख्दा लेखकीय जीवन अलि पछाडि परेजस्तो पनि भयो । तर लेख्न छोडिन । म विशेष गरी नाटक लेख्ने मान्छे हुँ । सामान्यतया: मेरो दिमागमा नाटक कै विषयवस्तु र प्लटहरू खेलिरहेका हुन्छन् । तर एकदिन मलाई अचानक एउटा उपन्यासको प्लटले दिमाग घच्घचायो । त्यही प्लटलाई दिमागमा पकाएँ । त्यो नै ‘काँचो कागज’को रूपमा जन्मियो ।

 

२.कवितासङ्ग्रह र नाटकसङ्ग्रह गरी तपाईँको ८ वटा कृतिहरू पुगे । अगाडिका सङ्ग्रहहरू दाँजोमा ‘काँचो कागज’ कसरी पृथक् छ ? ‘काँचो कागज’ किन लेखियो ? 

खास गरी नेपाली उपन्यास लेखनको सन्दर्भमा मैले एकप्रकारको ‘ग्याप’ देखिरहेको थिएँ । त्यही ग्याप भर्नका लागि ‘काँचो कागज’ लेखेको हुँ । विगत केही वर्षमा ऐतिहासिक विषयमा लेखिएका उपन्यासहरूले मदन पुरस्कार पाएपछि लेखकहरूले पुराना विषयहरूमा खोज अनुसन्धान गरेर उपन्यास लेखेका छन् । त्यो राम्रो कुरा हो । तर मेरो विचारमा नेपाली उपन्यासको मेनस्ट्रिम ऐतिहासिक उपन्यास होइन । त्यो एउटा सानो कम्पोनेन्ट मात्रै हो । नेपालमा कि त गम्भीर सामाजिक मुद्धाहरुलाई विषय बनाएर लेखिएका उपन्यासहरू छन् कि धेरै नै हल्का शैलीका । मैले ती दुई बीचको रेन्जमा बसेर लेखेको हुँ । अन्तर्राष्ट्रिय बजारमा त्यो रेन्जमा लेखिएका उपन्यासहरू धेरै रुचाइएका छन्, त्यसैले मैले नेपालीमा त्यही कुरा दिन खोजेको हुँ ।

३.कविता र नाटक भन्दा उपन्यास कसरी फरक रहेछ ? तपाईँ कता बेसी रम्नुहुँदो रहेछ ? 

कविता र नाटकको लेखन ‘कम्प्याक्ट’ हुन्छ, थोरैमा धेरै कुरा अटाउनु पर्ने खालको । तर उपन्यास लेखन भने खुकुलो हुँदोरहेछ, एकदमै अकोमोडेटिभ । मलाई अझै पनि मेरो लेखनको मूल विधा नाटक नै हो जस्तो लाग्छ । ‘काँचो कागज’ लेखिसकेपछि भने नाटक भन्दा उपन्यास लेख्न सजिलो भएको महसुस गरेँ । नाटक लेख्दा धेरै सीमामा बाँधिनु पर्ने हुन्छ, जुन उपन्यासमा पर्दैन । तर उपन्यासले भने नाटकको भन्दा धेरै समय र मेहनत माग्दो रहेछ ।

 

४.प्रेममा असफल भएपछि अध्यात्मको बाटो रोज्ने पात्र र प्रवृत्तिको उत्खनन ‘काँचो कागज’ मार्फत गर्नुभयो । धर्म, अध्यात्म र विज्ञानलाई तपाईँ कसरी बुझ्नुहुन्छ ? मानिसको चेतना र अवचेतना स्वरूपबारे पनि तपाईँलाई बोल्ने मुड छ ?

प्रत्येक मान्छे धर्म, अध्यात्म र विज्ञानबाट प्रभावित भइरहेको हुन्छ । जीवनमा धर्म, अध्यात्म र विज्ञानले एउटा गज्जबको समन्वय कायम गरिरहेको हुन्छ । ‘काँचो कागज’को कुरा गर्दा यो उपन्यास प्रेममा असफल भएपछि अध्यात्मको बाटो रोज्ने पात्र मात्र नभएर त्यो भन्दा अलि फराकिलो रेन्जमा छ । हामीले भोग्ने जीवनको बारेमा के पहिले नै लेखिइसकेको छ, या हामीले जे भोग्दै जान्छौ, त्यही नै जीवन हो त भन्ने प्रश्न छ । यो अहिलेको समयलाई पछाडि फर्केर हेर्दै लेखिएको उपन्यास हो । उपन्यासको कथाको अन्त्य बि.सं २०८८ मा हुन्छ । अध्यात्ममा भिजेको चिरायुको अवचेतन मनमा कतै सेक्सको चाहना लुकेजस्तो देखिन्छ भने भौतिक जीवनमा रमाएकी कादम्बिनीको अवचेतन मनमा धर्म र अध्यात्मको चाहना रहेको देखिन्छ । हाम्रो अवचेतन मनले आफूसँग नभएको कुराको चाह राख्ने गर्छ ।

 

५.आध्यात्मिक, धार्मिक र वैज्ञानिक जीवनशैलीमध्ये तपाईँको जीवनशैली कस्तो छ ? कुन के कारण उपयुक्त ? ‘आर्ट अफ लिभिङ’को सवालमा बेलायत र नेपालले कुन शैली अपनाइरहेको पाउनुहुन्छ ?

 

म धेरै वैज्ञानिक जीवनशैलीबाट प्रभावित छु कि जस्तो लाग्छ । अचेल मानिसहरू धेरै मेसिनसँग खेलिरहेका हुन्छन् । ‘आर्ट अफ लिभिङ’को सवालमा नेपाल र बेलायतको कुरा गर्दा हामीले र बेलायतीहरूले जीवनलाई हेर्ने दृष्टिकोणको कुरा गरौँ । सामान्य नागरिकको सन्दर्भमा कुरा गर्दा हामी कमाउनु पर्छ, बचाउनु पर्छ, अहिले दुःख गरियो भने पछि सुख हुन्छ भन्ने सोचाई राख्छौँ । तर बेलायतीहरू भने सुख पनि अहिले नै लिई हालौँ भन्ने सोचाई राख्छन् । तर देश र विकासको सन्दर्भमा भने उनीहरूको सोचाई धेरै माथिको छ ।

६.‘जिन्दगीमा नमिलेका धेरै कुरा उपन्यासमा मिलाएर लेख्नुपर्ने हुन्छ’ भन्नुहुन्थ्यो । त्यो भनेको के ? वास्तविकता (गतिशील यथार्थता नै भनौँ) को धरातल र कल्पनाको आकाशबिच तपाईँ आफू र आफ्नो जीवनलाई कहाँनेर भेट्नुहुन्छ ? 

 

हो, मैले त्यो कुरा कतै भनेको थिएँ । तपाईँले खोजेर प्रश्न सोध्नु भयो, खुसी लाग्यो । जीवनमा हामी धेरै कुरा मिलाउन खोजिरहेका हुन्छौँ, मिलिरहेको हुँदैन । कतिपय कुराहरू अकस्मात् हुन्छन्, नसोचेका कुराहरू भइरहेका हुन्छन् । एउटा मानिसको जीवनमा धेरै कुराहरू हुन्छन्, ती सबै कुरा उपन्यासमा लेखिँदैन । छानिएका कुरा मात्रै लेख्ने गरिन्छ । कोही मान्छे अकस्मात् मर्छ, उसको जिन्दगी त्यहीँ टुङ्गिन्छ, तर उपन्यास त्यसरी टुङ्गिँदैन । मान्छेको जिन्दगी सकिँदा कुनै लजिकल जस्टिफिकेशन चाहिँदैन, तर उपन्यासको अन्त्य गर्दा कथालाई एकप्रकारले सेटल्ड गर्नु पर्ने हुन्छ, जस्टिफाई गर्नु पर्ने हुन्छ ।

७.तपाईँ बस्नुहुने मुलुकका हजारौँ व्यक्तिले इन्टरनेटमा मोटिभेसन स्पिकर र लाइफ कोचका सहयोगमा तनावमुक्त जीवनशैलीको अभ्यास गरिरहेको परिदृश्यमा तपाईँ किताब र फिल्मको लसपसमा रमाइरहनुभएको देखिन्छ । कसरी सम्भव भयो ? 

पहिलेदेखि नै मेरो लेख्ने पढ्ने बानी भयो, त्यो बानी छुट्न सकेन । त्यसैले किताबमा नै रमाएँ । फिल्म पनि कलाको माध्यम हो, त्यसैले बेला बेलामा हेर्ने गर्छु ।

८. तपाईँको लागि पुस्तक के हो ? तपाईँले खोजेका किताबहरू कत्तिको भेटिएका छन् ? तपाईँ कस्ता किताबहरू खोज्दै हुनुहुन्छ ? पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तकहरू? 

पुस्तक मेरा लागि प्यासन हो । मैले खोजेका धेरै किताबहरू सजिलै भेट्ने गरेको छु । बेलायत बस्नुको एउटा फाइदा त्यो भएको छ । तर बेफाइदा पनि छ, नेपालमा निस्केका किताबहरू तुरुन्तै पढ्न पाइँदैन । म समकालीन लेखकहरूले लेखेका नयाँ कृतिहरू पढ्न रुचाउँछु । अन्तर्राष्ट्रिय पुरस्कारका लागि सर्टलिष्टमा परेका र बेस्टसेलर किताबहरू मेरो छनोटमा पर्छन् । कहिलेकाहीँ साथीहरूले रिकमेन्ड गरेका किताबहरू पनि पढ्छु । जे. एम. कोट्जीको ‘डिस्ग्रेस’, पाउलो कोहेलोको ‘द अल्केमिस्ट’, काजुओ इसिगुरोको ‘क्लारा एण्ड द सन्’, सरुभक्तको ‘पागलबस्ती’ र अमर न्यौपानेको ‘सेतो धरती’ मलाई मन परेका केही किताबहरू हुन् ।

९. हाम्रो शैक्षिक संस्कारको मोडेलबारे तपाईँलाई बोल्ने मुड छ ? नेपाली छापाहरू, नेपाली लेखकहरू, नेपाली पाठकहरू के छाप्दै, लेख्दै र पढ्दै छन् आजभोलि ? हामी पढ्ने मामलामा कता छौँ ? साथै, उनीहरूको अन्तरसम्बन्ध कस्तो पाउनुपर्छ ? कस्तो हुनु पर्ने थियो ? 

हाम्रो शैक्षिक संस्कारमा सुधार हुन जरुरी छ । विशेषतः पढ्ने भनेको जाँच पास गर्नका लागि हो भन्ने सोचाईलाई बदल्न जरुरी छ । नेपाली छापाहरू, लेखकहरू र पाठकहरू के गर्दैछन् भन्ने कुरा सामाजिक सञ्जाल र अनलाइन मिडिया मार्फत अपडेट हुने गर्छु । हामी किताब पढ्ने मामलामा अलि तल नै छौँ जस्तो लाग्छ । केही समय पहिले रिडिङ्ग कल्चर बिस्तारै बढ्दै गएको थियो तर अहिले सोसियल मिडियाले गर्दा फेरि त्यो प्रभावित भएको देखिन्छ । बेलायतमा पठन संस्कृति एकदमै राम्रो छ । बाबु आमाले बच्चालाई लाइब्रेरी लैजाने र बच्चाहरूले त्यहाँबाट टन्नै किताबहरू उठाएर हिँडेको देख्दा आनन्द लाग्छ ।

१०.‘लेख्नका लागि पढ्नुपर्छ’ या ‘पढ्नेले लेख्छन्’ भन्ने गरिन्छ । अझ, ‘लेखन भनेको अध्ययनको सहउत्पादन हो’ भन्ने भाष्य छ । तपाईँको मत ? तपाईँ किन लेख्नुहुन्छ ? तपाईँ किन पढ्नुहुन्छ ? 

लेख्नका लागि पढ्नुपर्छ भन्ने कुरा ठिक हो, तर पढ्नेहरूले लेख्नै पर्छ भन्ने छैन । जसरी सिनेमाका दर्शकले सिनेमा खेल्नै पर्छ भन्ने केही छैन, जसरी फुटबल हेर्ने दर्शक खेलाडी बन्नै पर्छ भन्ने केही छैन, त्यसरी नै पाठकले लेख्नै पर्छ भन्ने छैन । तर सिनेकर्मीले अरूले बनाएका सिनेमा हेर्नुपर्छ, खेलाडीहरूले अरूको खेल हेर्नु पर्छ, लेखकहरूले पनि अरूले लेखेका किताबहरू पढ्नु पर्छ । अरूको काम हेरेर आफूले त्यो भन्दा केही नयाँ गर्न सकिन्छ कि भनेर सोच्न सकिन्छ । त्यस्तै अरूले गरेको गल्ती दोहोराउनबाट बच्न सकिन्छ । पढेपछि मस्तिष्क रसाउँछ, र मस्तिष्कमा नयाँ नयाँ विचारहरू आउँछन् ।

११.तपाईँले पढिरहने/सुनिरहने/हेरिरहने नेपाली/विदेशी स्तम्भ/पोडकास्ट/डकुड्रामाहरू ? यसमा फिल्म, सङ्गीत र चित्रकला पनि जोडौँ है । 

विजय कुमारको दिशा निर्देश सुन्छु, हेर्छु । बेलायतको स्काइ टिभीमा आइतबार आउने ‘ट्रेभर फिलिप्स अन सन्डे’ हेर्ने गर्छु । नेपाली पत्रपत्रिकाका शनिवारका परिष्टाङ्कमा छापिएका लेखहरू पढ्छु । चर्चामा आएका फिल्महरू हेर्छु । हालसालै ‘द टु पोप्स’ हेरेँ । एन्थोनी हप्कीन्स्को अभिनय मन पर्छ । उनको ‘साइलेन्स अफ द ल्याम्बस्’ पनि हेरेको थिएँ । धेरै पटक दोहो¥याएर हेरेको फिल्म ‘आइ एम थिङ्कीङ्ग अफ इन्डिङ्ग थिङ्स’ हो । समकालीन सङ्गीत मन पर्छ । नेपाली, हिन्दी र अङ्ग्रेजी गीतहरू सुन्छु । नेपालमा हुँदा चित्रकला प्रदर्शनी हेर्न गइरहन्थेँ, अहिले त्यो मिस गर्छु ।

१२.समकालीन नेपाली साहित्यले लेख्न छुटाइरहेको विषयवस्तुहरू के–के हुन् ? लेखिएकाहरूमा देखिएका समस्याहरू ? लैङ्गिकताको सवालमा, स्वतन्त्रता र समानताको सवालमा एवम् नारी÷अपाङ्ग÷प्रौढ÷सीमान्तकृत समुदायको सवालमा हाम्रा लेखकहरू कता छन् ? तपाईँ कता हुनुहुन्छ ? 

मेरो विचारमा समकालीन नेपाली साहित्यमा लगभग सबै विषयहरू आइसकेका छन् । जस्तो कि बाल विधवाको बारेमा अमर न्यौपानेको ‘सेतो धरती’, बादीहरूको बारेमा सरस्वती प्रतीक्षाको ‘नथिया’, बहुपति प्रथाको बारेमा निलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’, सीमान्तकृत समुदायको सन्दर्भमा राजन मुकारुङको ‘दमिनी भीर’, भूपिनको ‘मैदारो’ जस्ता कृतिहरू आए । नयनराज पाण्डेले तराईको बारेमा र नारायण ढकालले काँठको बारेमा लेख्नु भयो । प्रभा बरालको ‘फिलिङ्गो’ले लैङ्गिकताको कुरा उठाएको छ । केशव दाहालको ‘मोक्षभूमि’ र कृष्ण अविरलको ‘करिया’ले दासप्रथाको कुरा गरेका छन् ।

सामाजिक मुद्दामा लेखिने विषयहरू चाहिने जति लेखिएका छन् । अब तिनै विषय दोहोरिँदै जाने हो भने ती पढेर पाठक वाक्क हुन्छन् । उनीहरूलाई मनोटोनस लाग्छ । त्यसैले मैले ती विषयमा लेख्ने बारे सोचिन । मेरो रोजाई यूनिभर्सल थिम हो ।

१३, तपाईँलाई बडो सोध्न मन लागेको प्रश्न छ, कवि/लेखकहरूको विदेश पलायनलाई तपाईँ कसरी हेर्नुहुन्छ ? मेरो प्रश्नमा राष्ट्रवाद या देशभक्ति नदेखियोस् तर कवि/लेखकहरू विदेश पलायनको अन्तर्य के हो ? कवि÷लेखक किन विदेश पुगिरहेको छ ? 

म लेखक भएकाले विदेश पलायन भएको होइन, म आफ्नै परिस्थितिले बिदेसिएको हुँ । जसरी आम मानिसहरू अवसरको खोजीमा बाहिरिइरहेका छन्, त्यसरी नै कवि, लेखकहरू पनि विदेश पुगेका छन् । युवा हुन्जेल, बिहे नगरुन्जेल र बिहे भएपछि पनि बच्चा बच्ची नहुन्जेल नेपाली युवाहरूले जे गर्नु पर्छ, मैले आफ्नै देशमा गर्छु भन्ने गर्छन्, म पनि त्यही भन्थेँ । जब छोरा छोरी जन्मेर स्कुल पठाउने बेला हुन्छ, भविष्यको बारेमा सोचेर छटपटी हुन्छ, त्यसपछि उनीहरू विदेश जाने बारेमा सोच्छन् । त्यसो त नेपालभन्दा बाहिरको संसारमा के भइरहेको छ भन्ने कुराको अनुभव गर्नु पनि राम्रो कुरा हो ।

१४.मैले त सक्काएँ, तपाईँको केही प्रश्नहरू छन् कि ?

राजुजी, तपाईँलाई धन्यवाद । मलाई अचेल लाग्ने गरेको एउटा साहित्यिक डरको बारेमा भन्न चाहन्छु । कुनै एक समयमा एकदमै धेरै कविता लेखिन्थे । त्यतिखेरको हुलमुलमा धेरैले अकविता पनि लेखे । त्यसले गर्दा कविताको लोकप्रियता घट्यो । अहिले धेरैले त्यसरी नै उपन्यास लेखिरहेका छन् । नेपाली उपन्यासको स्तर नघटे हुन्थ्यो भन्ने लागेको छ ।

 

सम्बन्धित खबर